मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बिच सहमति भएको छ । आज (आइतबार) बिहान ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदामा सहमति भएको हो ।
रास्वपाका सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन साहलाई अघि सारिएको छ ।
सहमति पत्र

रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । गत हप्ता सोमबारदेखि दुवै नेताबिच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो ।
यो सहमतिसँगै रास्वपा सभापति रवि लामिछानेले सहमति हुँदाको फोटो सामाजिक सञ्जाल फेसबूक राख्दै लेखेका छन् ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’
बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो फेसबूकमै शेयर गर्दै ‘शुभप्रभात’ लेखेका छन् ।


