मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिध सभा निर्वाचनकाे लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेकाे छ । मकवानपुरकाे २ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारकाे नाम सिफारिस गर्दा विरोध खतिवडाकाे नाम दुवै तिर अटाएकाे छ ।
जिल्लाकाे क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ सिफारिस भएकामा पुराना नेता खतिवडा, संविधान सभा सदस्य प्रल्हाद लामिछाने, युवा नेता विजय गौतमसम्म छन् । वाम घटकहरुकाे एकतामा नेकपामा समेटिएका खतिवडाले विगतमा पटक पटक सांसदमा प्रतिनिधित्व गरेका छन् । यसैगरी विद्यार्थी राजनीतिबाट आएका गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन्।
क्षेत्र नम्बर १ बाट वहालवाला जनप्रतिनिधि सहित १३ जनाकाे नाम आगामी निर्वाचनकाे लागि उम्मेदवार सिफारिसमा परेका छन् । सिफारिस हुनेमा खतिवडा, गौतम र लामिछानेसहित घनप्रसाद गौतम, भीम पाख्रिन, सोमबहादुर थिङ् , किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ रहेका छन्। सिफारिस हुने वहालवाला जनप्रतिनिधिहरुमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान रहेका छन्।
त्यसैगरी पुर्व सांसद खतिवडाको नाम क्षेत्र नम्बर २ बाट पनि सिफारिसमा परेकाे छ। मकवानपुर २ बाट वहालवाला जनप्रतिनिधिसहित ८ जनाको नाम उम्मेदवारमा सिफारिस गरिएकाे छ । खतिवडासहित रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती , किशोर बर्तौलाको नाम सिफारिस छ। त्यस्तै सिफारिस हुने वहालवाला जनप्रतिनिधिहरुमा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्थम् थिङ् रहेका छन् ।
यसैगरी समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी , लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान सिफारिस भएका छन्। समानुपातिक तर्फकै विभिन्न क्लस्टर अन्तर्गत सिफारिस हुनेमा कृष्ण चेपाङ , रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरे रहेका छन्।

