कोरोना भाइरसको सङ्क्रमण पुनः तीब्र भएपछि फ्रान्समा एक महिनाका लागि लकडाउन गरिने भएकाे छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले अप्रिल ३ शनिबार देखि एक महिना लकडाउनको घोषणा गरेका हुन् । एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका छन् ।
लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ । यस्तै, उनले कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताएका छन् ।
उनले कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि बताएका छन् । फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ९५ हजारभन्दा धेरै ज्यान गएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो स्थानमा छ । एजेन्सी
मकवानपुर । नेकपा (एमाले) संसदीय दलको विधान संशोधनका लागि समिति निर्माण गर्दै बागमती प्रदेशको पार्टी संसदीय दलको बैठक सकिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा पौडेलले विगतका कमि कमजोरीलाई त्यागेर अघि बढ्नु पर्ने धारण व्यक्त गरे । बैठकमा नेपाल समूहको तर्फबाट प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई बलियो बनाएर अघि बढ्नु पर्ने भएकाेले पार्टीलाई एकताबद्ध बनाउन मुख्यमन्त्री पौडेल विरुद्धकाे अविश्वास प्रस्ताव फिर्ता लिएको बताइन् ।
उनले कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई लत्याएर विधि र विधान मिच्दै अघि बढ्दा कम्युनिष्ट पार्टी धरासायी बनेको बताइन् । नेकपा एमालेलाई जनताले विश्वास गरेर बहुमत दिएको भएपनि सरकारले जनता हितमा काम गर्न नसकेको धारणा व्यक्त गरिन् । बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएका कारणले सो विषयमा छलफल नभएको नेकपा एमालेका प्रमुख सचेतक केशव राज पाण्डेले बताए ।
बैठकले पाण्डेको नेतृत्वमा ३ जना सदस्य रहने गरी नेकपा एमाले बागमती प्रदेश संसदीय दलको विधान संशोधन समितिसमेत गठन गरेको छ । समितिको सदस्यमा प्रदेशसभा सदस्य नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन् ।
- सम्झना पौडेल
काडमाठौ / ‘साहित्यिक पत्रकारिताको विकासमा प्रेस काउन्सिल’ नामक पुस्तक आज (बुधबार) सार्वजनिक गरिएको छ । प्रेस काउन्सिल नेपालको सचिवालयमा आयोजित एक समारोहमा काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
संस्मरणलगायत विभिन्न लेख÷सामग्री संलग्न उक्त पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा कार्यवाहक अध्यक्ष बुढाथोकीले पञ्चायतकालमा जनताको आवाज बोल्ने माध्यम साहित्यिक पत्रपत्रिका भएको बताउँदै आफूले पत्रकारिता गर्दाको अनुभूतिबाट साहित्यिक पत्रकारिताको महत्व र चुनौती बुझ्ने अवसर पाएको बताए । पत्रपत्रिका वर्गीकरण गर्दा साहित्यिक पत्रिकाको मापदण्ड छुट्टै बनाएको उनले बताए । साहित्यिक पत्रपत्रिका बाँच्नु भनेको देशको संस्कृति बाँच्नुसरह भएको उनले बताए ।
काउन्सिलका पूर्व सदस्य एवं पुस्तकका सम्पादक चेतनाथ धमलाले साहित्यिक पत्रकारिता गर्नु फलामको चिउरा चपाउनुसरह भएको आफ्नो अनुभूत गरेको बताए । साहित्यिक पत्रिकारिताको अवस्था अझै पनि दयनीय रहेको उनले गुनासो गरे । उनले काउन्सिलमा आफू सदस्य हुँदा साहित्यिक विधामा भए ÷ गरेका कामको चर्चा गर्दै पुस्तक सम्पादनका जटिलता, पुस्तकमा समावेश भएका लेख ÷ रचनाको विषयमा जानकारी दिए ।
यसैगरी काउन्सिलका सदस्य दीपक पाण्डेले अर्काको आलोचना गर्दा ठुलो हुन्छु भन्ने प्रवृत्ति हावी हुने गरेको बताए । ‘यो देश र समाजको लागि घातक हो’ उनले भने । काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले साहित्यिक पत्रकारिताको विकासमा आफूहरूको तर्फबाट कति पनि कञ्जुस्याईँ नरहने स्पष्ट पारे । उनले काउन्सिलले सरकार र साहित्यिक पत्रकारबिच सम्बन्ध सेतुको रुपमा काम गर्ने बताए ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले साहित्यिक पत्रकारिताको विकासका लागि काउन्सिलले प्रदेशस्तरीय, जिल्लास्तरीय सहित विविध कार्यक्रम गर्ने गरेको चर्चा गर्दै पुस्तकमा साहित्यिक पत्रकारिताको कार्यक्रम गर्दा देखेका, भोगेका र अनुभूत गरेका कुराहरू समावेश भएको बताए । नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव मोहन दुवालले साहित्यिक पत्रकारिताको विकासमा काउन्सिलको योगदान अतुलनीय भएको बताउँदै आगामी दिनमा अझ साथ र सहयोगको अपेक्षा गरे ।
वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँद्धारा सञ्चालित उक्त कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत रामशरण बोहरासहित साहित्यकार, साहित्यिक पत्रपत्रिकाका सम्पादक, प्रतिनिधि र काउन्सिलका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा कोरोना महामारीका कारण रोजगारी गुमेका जनशक्तिहरुलाई सहयोग गर्न प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा थप ५० हजारलाई नयाँ रोजगारी दिने भएको हो ।
थप ५० हजारलाई प्रविधिसँग सम्बन्धित क्षेत्रमा जागिर दिनेछ । त्यस्ता जनशक्तिको छनोटचाहिँ सोसल मिडिया प्लाटर्फम लिंक्डइनमार्फत् हुने जनाएको छ । कम्पनीहरुले प्राविधिक सीपलाई प्राथमिकता दिई कामदारहरुलाई नयाँ क्षेत्रमा जानका लागि पनि सहयोग गर्नेछन् । सुरुआतमा यो कार्यक्रम अमेरिकामा मात्र केन्द्रित रहने र अर्को वर्षदेखि विश्वका अन्य देशमा पनि विस्तार गरिने जानकारी दिएको छ । माइक्रोसफ्टका प्रडक्टहरु प्रयोग गर्दा बिक्री गर्ने विभिन्न कम्पनीहरुमा जागिर लगाइने छ।
माइक्रोसफ्ट र लिंक्डइनले निःशुल्क सीप विकास कार्यक्रम कार्यक्रममा सहभागी भएर अढाई करोड मानिस लाभान्वित हुने अपेक्षा गरेका भए पनि अपेक्षा भन्दा बढी हालसम्म ३ करोड ७ लाख मानिस सहभागी भइसकेका छन् । तीमध्ये अधिकांश अमेरिकाबाटै सहभागी छन् । विश्वका अन्य धेरै देशहरुबाट पनि उल्लेख्य मानिसहरु लिंक्डइनको सीप विकास कार्यक्रममा सहभागी बनेका छन् । अन्टार्कटिका क्षेत्रबाट समेत ९१ जना सहभागी भएका माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जनाए ।
मानिसहरुलाई सीप सिक्नका लागि सहयोग गर्ने गैरनाफामूखी संस्थाहरु समेतका कारण डिजिटल तालिम कोर्स निकै फलदायी बनेको र तिनै संस्थाहरुको सहयोगमा ५० हजार जनाले नयाँ रोजगारी पाउने माइक्रोसफ्टले जानकारी दिएको छ ।
माइक्रोसफ्टले आफू मातहको प्रोफेसनल नेटवर्किङ प्लाटफर्म लिंक्डइन र सफ्टवेयर कोडिङ टूल सर्भिस गिटहबसँगको सहकार्यमा लाखौँलाई निःशुल्क सीप विकास तालिम र हजारौँलाई रोजगारी दिन लागेको यो पहिलो पटक हो । यी दुई प्लाटर्फम माइक्रोसफ्ट मातहतका कम्पनी हुन् तर दुवै स्वायत्तरुपमा सञ्चालन भइरहेका छन् । एजेन्सी
सुदूरपश्चिम प्रदेशका प्रदेश लोक सेवा आयोगका पदाधिकारीले लिए शपथ लिएका छन् । प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई बुधबार पदको शपथ गराएकी हुन् ।
यस्तै प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराएका छन् ।
नेपालको संविधानको धारा २४४ मा प्रदेश लोक सेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश लोक सेवा आयोग ऐन, २०७६ बमोजिम प्रदेश प्रमुख पन्तले प्रदेश लोक सेवा आयोग पदाधिकारीलाई चैत ९ गते नियुक्त गरेका थिए । डडेल्धुरा जिल्लाको अजयमेरु–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलाली जिल्लाको प्रजिअ थिए ।
यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन् ।