मकवानपुर । नेपाली कांग्रेसले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ।
बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले बैठकका निर्णय सार्वजनिक गरेको गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू –
१ निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।
२ . यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।
३ . विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।
४ . यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५, नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।
६ . यो नयाँ अध्याय हो – रुपान्तरणको, एकताको, विजयको ।
सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।
जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस
मकवानपुर । राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगिताका लागि बागमती प्रदेशबाट १७ जना खेलाडी छनौट भएका छन् । सितोरियो कराते तर्फ बागमती प्रदेशका १२ जिल्लाबाट ७५ खेलाडी सहभागी भएकोमा १७ खेलाडी छनौट भएका हुन् ।
छनौट प्रतियोगितामा भक्तपुर जिल्लाले सहभागिता जनाएन । छनौट अन्तर्गत एकल काता महिलामा ललितपुरकी दीपा पुन, एकल काता पुरुषमा काठमाडौंका अमृत थोकर, टिम काता पुरुषमा काठमाडौंका अमृत थोकर, राजकुमार श्रेष्ठ र प्रनिल मानन्धर छनौट भएका छन् ।
यसैगरी पुरुष ५० केजी तौल समूहमा ललितपुरका सुजन खड्की, ५५ केजीमा धादिङका निशान घले, ६० केजीमा नुवाकोटका सुबिन सुनार, ६७ केजीमा चितवनका मिलन नेपाली, ७५ केजीमा धादिङका निशान मल्ल, ८४ केजी मुनीमा रसुवाका पासाङ ग्याल्जेन र ८५ केजी तौल माथिमा मकवानपुरका अजय ब्लोन छनौट भएका छन् ।
यस्तै महिला ४५ केजीमा चितवनकी निक्षा थापा मगर, ५० केजीमा सिन्धुपाल्चोककी पार्वती श्रेष्ठ, ५५ केजीमा मकवानपुरकी आशा तामाङ, ६१ केजीमा काठमाडौंकी कृतिका अधिकारी छनौट भएका छन् भने ६८ केजी मुनीमा काठमाडौंकी आशिका राई र ६८ केजी माथिमा काठमाडौंकी महिमा राई छनौट भएका छन् ।
छनौट भएका खेलाडीहरुले माघ ६ देखि ९ गतेसम्म नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको आयोजनामा हुने राष्ट्रिय काष्ठमाण्डप कराते प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरुलाई प्रतियोगितामा सफलताको शुभकामना दिदै भविष्य देशका लागि खेल्ने र जित्ने लक्ष्य लिएर अघि बढ्न हौसला प्रदान गरे । नेपाल कराते महासंघ बागमती प्रदेशका अध्यक्ष गगन लामाले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा भाग लिनु पर्ने भन्दै खेल प्रतिको लगनशिलता र अनुशासन कायम राख्न सके जीत सम्भव हुने बताए ।
यसैबीच सोही अवसरमा बागमती प्रदेश खेलकुद विकास परिषद्को बोड सदस्यमा नियुक्त भएका कृष्णबहादुर नेपाल सुजनलाई सम्मान गरिएको थियो । उनलाई चितवन जिल्ला खेलकुद बिकास समिति, बागमती प्रदेश कराते महासंघ, चितवन जिल्ला सितोरियो कराते संघले संयुक्तरुपमा सम्मान गरेको हो ।
मकवानपुर । मकवानपुरको मनहरी ज्यामिरेमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो मनहरी ९ ज्यामिरे स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौडा बाट चितवनतर्फ जादै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरे तर्फ जादै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा मोटरसाइकल चालक सुर्य बहादुर मोक्तानको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मनहरी ७ बस्ने ४० वर्षीय मोक्तान घाइते भएकोमा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते मोक्तानलाई मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर रिफर गरिएको थियो ।
दुर्घटना भएको स्थानमा बाटो अवरोध नभएको तथा मोटरसाइकल ट्रक र ट्रक चालक हेटौडा ११ थानाभर्याङ बस्ने ५४ वर्षीय बुद्धि बहादुर स्याङतानलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
मकवानपुर । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा सप्ताहव्यापी राष्ट्रिय योग दिवस सुरु भएको छ ।
पतञ्जली योग जिल्ला समितिले ११ औं राष्ट्रिय योग दिवस २७ पुस (आज) बाट ३ माघसम्म सप्ताहव्यापी रूपमा मनाउने भएको छ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ पतञ्जलि योग जिल्ला समितिले ११ औं राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाउने भएको हो ।
समितिका अनुसार पौष २७ गतेदेखि माघ ३ गतेसम्म विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ । जिल्लाभर रहेका योग साधना केन्द्र, विद्यालय तथा सार्वजनिक स्थलहरूमा कार्यक्रम आयोजना गरी योगप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले योग दिवस सप्ताहव्यापी मनाउन लागिएको समिति अध्यक्ष रामकृष्ण थापाले बताए ।
२७ पुष आइतबार आ–आफ्नो योग साधना केन्द्रमा विशेष सरसफाइ तथा फूल बिरुवा रोपण गरि योग सप्ताह सुरु गरिएको छ । आज बिहान वनदेवी योग साधना केन्द्रमा सञ्चालित सहयोग शिक्षक तालिमको समापन कार्यक्रम तथा हवन आयोजना गरिएको छ । यसै गरि २८ पुस सोमबार जिल्लाका विभिन्न विद्यालयहरूमा आहार–विहार सम्बन्धी प्रवचन तथा योग–ध्यान कार्यक्रम सञ्चालन गरिने छ ।
२९ पुस गते माघे सङ्क्रान्तिको सांस्कृतिक महत्वबारे जिल्ला योग भवनमा प्रवचन कार्यक्रम गरिने छ। त्यसैगरी ३० पुसमा धार्मिक पर्यटकीय स्थल कुष्माण्ड सरोवर धामको सरसफाइ कार्यक्रम गरिने छ। १ माघ गते रोयल पार्टी प्यालेसमा योग, ध्यान तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । २ माघमा पुनः विद्यालय केन्द्रित आहार–विहार विषयक विशेष चर्चा तथा योग–ध्यान कार्यक्रम गरिनेछ ।
यस्तै ३ माघमा हेटौंडा–१९ वस्तीपुर, हात्तीगौडामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम आयोजना गरि सप्ताहव्यापी कार्यक्रमको समापन गरिने जिल्ला अध्यक्ष थापाले जानकारी दिए । समितिले यस अभियानले योगप्रतिको जनचेतना बढाउँदै स्वस्थ जीवनशैली निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।