मकवानपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग शुक्रबार भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री पोखरेलले आग्रह गरे– ‘यसका साथै भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको छ ।’
नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कुटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए । उपप्रधानमन्त्री पोखरेलले भने – ‘कोरोनाविरुद्वको खोप विश्वकै नागरिकहरुको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौ, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन् ।’ जवाफमा संयुक्त राष्ट्रसंघकी नेपालस्थित संयोजक साराले आफ्नोतर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएकाे पाेखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । बस्नेतका अनुसार साराले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरेकाे जानकारी दिए ।
कोभ्याक्स अन्तरगत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ । यसैगरी, भारत सरकारबाट १० लाख डोज, भारतीय सेनामार्फत नेपाली सेनालाई १ लाख डोज र चीनबाट ८ लाख डोज खोप नेपालले प्राप्त गरेको छ ।
मकवानपुर । गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको सुन्धारास्थित न्यूरो एन्ड जनरल अस्पतालमा उपचारका क्रममा विहीबार निधन भएको हाे।
प्रेमध्वज प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।
प्रधानका घुम्तिमा नआउ है…पर लैजाउ फूलहरु….गोरेटो त्यो गाउँको….नमान लाज यसरि….हाँस्ने रहरहरू आँसुमा….तिमीलाई अचेल कहाँ भेटौं…यो नेपाली शिर उचाली लगायतका दर्जनौं गीत चर्चित छन् ।
नेपाली गीत संगीतका शिखर व्यक्तित्व प्रधान विभिन्न राष्ट्रिय सम्मानले सम्मानित भएका छन् । २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रो सँगै गायक प्रधान छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कारबाट सम्मानित भएका थिए।
१.
तुइन माथि अडिएको यस्तै रहेछ जिन्दगी त
बर्षाको नदी उर्लिएको जस्तै रहेछ जिन्दगी त
उसको मेरो पल्ला माथि दुबै तिर डोरी तान्दा,
माया अझ कस्सिएको मस्तै रहेछ जिन्दगी त ।
२.
जुधेकै छैन ति तिम्रा आँखा तर्काई किन भाग्छौ फेरि
सरेर त्यतै पछाडी पिठ्यु फर्काई किन भाग्छौ फेरि
प्यारका मधु भरिएका मदहोसमा लट्ठ प्याला ,
पिएकै छैनौ समाई तिमीले सर्काई किन भाग्छौ फेरि ।
३.
माया जीवनको मुख्य पाटो भई दियो
कहिले मिल्ती कहिले फाटो भई दियो
केही मेरो त केही उसको बर्षिएका धेरै,
एकएक प्रश्नको अर्थ लाटो भई दियो ।
४.
गल्ती भो म पाउ छुन्छु आउ तिमी पास मात्र
अलि सस्तो म नै हुन्छु बन तिमी खास मात्र
पहरा नै फोर्ने मेरा हातले फेरि छाती चिरी,
रुनु परे म नै रुन्छु अब तिमी हाँस मात्र ।
५.
कोहीका पेटमा छुरा चल्छन् मुखमा दुर्गा भवानी
बाहिर हाँसो भित्र चित्कार दु:ख सुखका खानी
मेरा मित्र सबै लाई डाकी सुनाउनु छ एक दिन,
जिउँदा मान्छेहरु बस्ने मुर्दा घरको कहानी ।
६.
हिजो आज शहरमा बन्द भएकी छु
बिर्को लाग्या जहरमा बन्द भएकी छु
बिपनी नै हो तर सपनी झैं लाग्ने,
खै कस्को रहरमा बन्द भएकी छु ।
७.
खुसी हुँदा लुटुक्क काखमा ढल्न सिपालु
रिस उठ्दा भित्र भित्रै जल्न सिपालु
गल्ति बाट उम्किन लाई साह्रै जिद्धी गर्ने,
चलाख कति मेरो मान्छे छल्न सिपालु ।
८.
दिन भुली अन्धकार चुने पछि के गर्ने हो
जूनताराका हिसाब सधैँ गुने पछि के गर्ने हो
सङ्गालेर राख्या माया अलिकता उसलाई मेरो,
छैन भन्ने झुट्टो खबर सुने पछि के गर्ने हो ।
९.
लेनदेन मायाको हिसाब आाम्दानी बढ्यो कि ?
सावा भन्दा व्याज तर्फ निगरानी बढ्यो कि ?
रोसनीले भरिपूर्ण मेरो यस्तो जिन्दगीमा,
उसकै माया उसकै खुसी मनोमानी बढ्यो कि ?
१०.
धुवाँको मुस्लो दन्किन थाल्यो आकाश छुदैछ
उर्लेर आयो बर्षाको खोलो बगर धुदैछ
सितल दिने छहारी बनि मिलेर बसेका,
वरले एक्लै छोडेर गयो पिपल रुँदैछ ।
मकवानपुर । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पीसीआर परीक्षणका लागि प्रयोगशाला (Molecular Lab) शुरु भएको छ । दोलखाको भिमेश्वर नगरपालिकास्थित चरिकोट अस्पतालमा आज बुधबार प्रयोगशालाको उद्घाटन गरिएको हो ।
प्रयोगशाला चौबिसै घण्टा चलाउने हो भने ५०० सयसम्म स्वाब परीक्षण गर्ने क्षमता रहेको जनाइएको छ । आज दक्ष जनशक्ति समेत लगेर प्रयोगशालाको उद्घाटन गरेको बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा.नारायण बहादुर कार्कीले बताए । सो प्रयोगशालामा दोलखा नजिकका दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट स्वाब संकलन गरेर ल्याउन सकिने कार्कीले बताए । चरिकोटमा प्रयोगशाला शुरु गरिएसँगै बागमती प्रदेशमा प्रयोगशालाको संख्या ६ पुगेको छ ।

यसअघि धुलिखेल, नुवाकोट, भक्तपुर, हेटौंडा, सिन्धुलीमा प्रयोगशाला संचालनमा रहेको छ । प्रयोगशाला निर्देशक डा. कार्कीका अनुसार यो मेसिन संसारमै अहिलेसम्म बनेको राम्रो मानिने मेसिन मध्येको हाे । यहाँ राखिएको मेसिनमा पीसीआर मात्रै नभई अरु विभिन्न रोगको पनि परीक्षण गर्न सकिने कार्कीको बताए । प्रयोगशालामा माइक्रोबाइलोजिस्ट सहितको जनशक्ति अहिले भए पनि पुग्ने जनशक्ति नभएकाले प्रदेश सरकारसँग माग गरिएको डा. कार्कीले बताए ।

‘थप जनशक्ति प्रदेश सरकारले पठाउँछ’ –मन्त्री बस्नेत
बागमती प्रदेश, सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पीसीआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला संचालनमा ल्याएको बताए ।
मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला संचालनमा ल्याएको र अहिले न्यूनतम जनशक्ति भए पनि थप जनशक्ति प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा संचालन गर्ने मन्त्री बस्नेतले बताइन् ।