मकवानपुर । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्याएकाे छ ।
टेलिकमले सार्वजनिक गरेका ‘लकडाउन स्टे कनेक्टेड’ अफर शुक्रबारदेखि १ महिनाका लागि लागू हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए । जाेशीका अनुसार अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ भने डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको छ । लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । यो डाटा दैनिक एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ ।
यस्तैगरी, टेलिकमले निषेधाज्ञाको अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँने व्यवस्था गरेको छ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा बोनस स्वरूप पाँच सय एमबी डाटा उपलब्ध हुनेछ । डाटा दुई दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै पाँचसय रुपैयाँ अथवा त्यसभन्दा धेरै रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । यो डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
संक्रमित बाेक्ने एम्बुलेन्सः कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानरपालिकामा विहीबारबाट संक्रमितलाई बोक्न तयार गरिएकाे ‘अटाे एम्बुलेन्स’ । बैशाख २७ गते जिल्ला प्रशासन कार्यलय मकवानपुरले अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरे अनुसार नेपाल अटो तथा विद्युत यातायात प्रा.ली हेटौंडाले हेटौंडा उपमहानगरपालिकाे समन्वय गरी अटो एम्बुलेन्स संचालन गर्ने गरी व्यवस्थापन गरेकाे छ । तस्विरः संझना घिमिरे/सहीखबर
मकवानपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कुटनीतिक पहल तीव्र गरेका छन् । बैशाख ३० गते विहीबार उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच भएकाे टेलिफोन संवादमा नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरिएकाे छ ।
नेपालमा कोराना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाेले भाइरसकाे प्रकाेप थप फैलन नदिन खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको पाखरेलले बताए । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले राजदुतलाइ जानकारी गराएकाे प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरिएकाे छ ।
अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने उपप्रधानमन्त्रीलाइ जानकारी दिएकाे पाण्डेले बताए । तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने बताइएकाे छ । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीसँग टेलिफाेनबार्ता राजदूत बेरीले भने ।
अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका छन् । पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिएका छन् ।उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
मकवानपुर/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञ उल्लङ्घन गर्ने ८० वटा सवारीकाे कागजपत्र नियन्त्रणमा लिएकाे छ ।
२९ प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरी चेकिङ टोलिले मकवानपुर जिल्लाको विभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/ स्कुटर, अटो, सानो गाडी गरी जम्मा ८० वटा सवारी साधनहरुको कागजपत्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
साथै निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी ४ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरीएको प्रहरीले जनाएकाे छ ।