मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले फागुन २१ गतेको चुनाव लक्षित भेटघाट तथा जनसम्पर्क अभियानलाई गरेको छ।
भेटघाटको क्रममा राप्रपाबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार दिपक बहादुर सिंहले भ्रष्टाचारसँग कुनै हालतमा सम्झौता नहुने बताएका छन् । हेटौंडा -४ र हेटौंडा -१३ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै सिंहले देशको विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै यसको अन्त्य बिना सुशासन सम्भव नहुने बताए।
‘जनताले परिवर्तन चाहेका छन् , भाषण होइन, इमानदार नेतृत्व र काम चाहिन्छ’ उनले भने ‘अघिल्लो चुनावमा निर्वाचित भएपछि गरेका कामहरुको सार्वजनिक समेत गरेका छौ । राप्रपा पारदर्शिता बिश्वास राख्छ ।’ हामी राजनीतिमा धन कमाउन होइन मानिस कमाउन आएको कार्यशैलीले देखाएको उनले बताए ।
राप्रपाले राष्ट्र, राष्ट्रियता, सुशासन र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताए । राप्रपा मकवानपुरका अनुसार पार्टीले प्रत्यक्ष नागरिक संवाद र स्थानीय भेटघाटलाई प्राथमिकता दिँदै मतदातासँग सम्बन्ध बलियो बनाउदै जाने बताएको छ ।
स्थानीय स्तरबाट प्राप्त सकारात्मक प्रतिक्रिया र जनसमर्थनले पार्टी थप उत्साहित भएको राप्रपा मकवानपुरले जनाएको छ।
मकवानपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नं. १ मा चुनावी माहोल तात्दै गएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नेकपा एमाले मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले मंगलबार बागमती गाउँपालिका वडा नम्बर ६ र ७ मा मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्। यसैक्रममा उमेदवार रानाले बागमती गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमाले चुनावी प्रचारप्रसार कार्यलयको उद्घाटन पनि गरेका छन् ।
मतदाता भेटघाटका क्रममा उम्मेदवार रानाले स्थानीय मतदाताको समस्या, आवश्यकता र अपेक्षाबारे चासो राख्दै आफ्ना चुनावी प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए।
उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय मतदाताहरूले पनि आफ्ना भोगाइ र सुझावहरू खुलेर राख्दै आगामी दिनमा प्रभावकारी नेतृत्वको अपेक्षा गरेको बताएका छन्। चुनाव नजिकिँदै जाँदा यस्ता प्रत्यक्ष भेटघाटले क्षेत्र नं. १ मा राजनीतिक चहलपहल थप बढाएको देखिन्छ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार रानाले आगामी दिनमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने बताए । रानाले सबै नेता तथा कार्यकर्तालाई आ आफ्नो गाउँ टोल र समाजमा पनि नेकपा एमालेको पक्षमा माहोल बनाउन अनुरोध गरे ।
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार महेश कुमार बर्तौलाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बर्तौलाले भीमफेदी गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदाताहरूसँग भेटघाट गर्दै आफूलाई मतदान गर्न जनताको आवाज सुन्न व्यस्त छन् । आज मंगलबार भीमफेदी २ को भैंसे दोभान, आँपचौर, टिलटार, कालिटार, चुनियाँ र वडा नम्बर ३ तथा ४ का निबुवाटार र चिउरी बगैंचा टोलहरूमा पुग्नुभएका बर्तौलाले आफू यसै माटोको छोरा भएको स्मरण गराए ।
‘अघिल्लो पटक तपाईंहरूले मलाई निर्वाचित गराउनुभयो, तर संसद विघटनका कारण ३२ महिना मात्रै काम गर्न पाएँ । मेरा बाँकी रहेका सपना र अधुरा काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ’ उनले भने । आफ्नो कार्यकालको समीक्षा गर्दै बर्तौलाले ३२ महिनामा पारित भएका २९ वटा कानुनमध्ये २६ वटामा आफूले प्रत्यक्ष रूपमा काम गरेको जानकारी दिए । उनले भने ‘म मुलत कानुन निर्माता (विधायक) हुँ, तर यहाँका जनताका लागि सडक, पुल, खानेपानी र सिँचाइ जस्ता पूर्वाधार विकासलाई मैले कहिल्यै कम हुन दिने छैन ।’
भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विकासका योजनाहरू माग गरेका छन् । भीमफेदी-२ बेशीकी राधिका विष्टले बागझोरा पुल र सडकका लागि बजेट विनियोजन भएकोमा खुसी व्यक्त गर्दै आफ्नो खेतलाई खोलाको कटानबाट जोगाउन थप बजेटको माग गरिन् ।
त्यस्तै, भीमफेदी- ३ इच्चुङका राम पाख्रीनले पान्द्राङ–इच्चुङ–बुढीचौर सडकको स्तरोन्नति र विद्यालय सुधारका लागि बर्तौलाकै नेतृत्व आवश्यक रहेको बताए । एमाले भीमफेदी उपसचिव आशिष अस्लामीले जनतामा सांसदको मुख्य काम नीति निर्माण हो भन्ने बुझाउन आवश्यक देखिएको बताए । ‘धेरैजसो मतदाताहरूले टोलको विकास र बजेटको माग गर्नुहुन्छ, उहाँहरूलाई सांसद विधायक पनि हो भन्ने प्रशिक्षित गराउनु पर्नेछ’ उनले भने ।
अभियानमा सहभागी समानुपातिक उम्मेदवार मेम्बर लो तामाङले बर्तौलालाई ‘बेदागी र क्षमतावान युवा नेता’को संज्ञा दिँदै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । जिल्ला कमिटी सदस्य सागर पाण्डेले पनि एमालेको पक्षमा बलियो माहोल बनेको दाबी गरे ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नेशनल भोलियन्टर फोर्सको प्रथम भेला भएको छ। भेलाले १९ सदस्यीय उपमहानगर कमान्ड गठन गरेको छ ।
भेलाले सुरेश बेरोजगार कमान्डर, रुपक महत र महेश भट्टराई सह–कमान्डर रहने गरी १९ सदस्यीय उपमहानगर कमिटी गठन गरेको हो ।
यसैगरी उपमहानगरभित्रका २८ वटा टोल/बुथ सुरक्षा फोर्स कमान्ड समेत भेलाले घोषणा गरेको छ। यस्तै उपमहानगरपालिकाका १९ वडाअन्तर्गतका २८ वटा बुथ (मतदान केन्द्र) कमान्डर पनि तोकिएको छ। भेलाले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको बेरोजगारले बताए ।
संगठनका केन्द्रीय प्रमुख कमान्डर पुष्पराज श्रेष्ठ प्रमुख अतिथि रहेको भेलामा बागमती प्रदेश सचिवालय सदस्य रघु खुलाल, प्रदेश सदस्य बलराम बल, संगठन सचिवालय कमान्डर सानु लामा, खेलकुद महासंघका महासचिव धर्म लामा, बागमती प्रदेश प्रमुख युनिफाइड कमान्डर भुवन श्रेष्ठ, केन्द्रीय कमान्ड सदस्य प्रकाश लामा, हेटौंडा उपमहानगरपालिका इन्चार्ज सुमित्रा काफ्लेलगायत उपस्थिति थिए।
मकवानपुर । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । साेमबार आयाेगले प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक सूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको जनाएकाे हाे ।
कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका,प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका,निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका, २५ वर्ष उमेर पूरा नभएका लगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
यी हुन् बन्दसूचीबाट हटाइएका नामहरुः
Nirwachan Banda doochi HataIPsf name