मकवानपुर/नवोदय मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम विहीबारबाट शुरु भएको छ । भर्चुअल माध्यमबाट तीन दिनसम्म चल्ने कार्यक्रम संयुक्त राष्ट्र सङ्घको नमुना अभ्यास गराउँदै संयुक्त राष्ट्र सङ्घको भूमिका र यसको कार्यहरुको एजेण्डामा रही छलफल गरिने छ ।
विहीबार उद्घाटन कार्यक्रममा बोल्दै एपेक्स स्कूल रुपन्देहीका प्रिन्सिपल दीपक गौतमले मुन कार्यक्रम विद्यार्थीहरुका लागि फलदायी हुने भएकोले बालबालिकाले धेरै कुरा सिक्ने अवसर भएको बताए । ‘विभिन्न एजेण्डामा रही छलफल गरिने भएकाले छलफलमा उत्पन्न भएका समस्यालाई समाधान गरी ठोस निचोड दिने कार्य मुनले गर्ने उनले बताए ।
कार्यक्रमले अन्तराष्ट्रिय तवरबाट सम्बन्ध कायम राखी व्यवसायिक क्षेत्रमा पनि सफलता मिल्ने उनले बताए । कार्यक्रममा प्रोफेशर डाक्टर राजु क्षेत्रीले संयुक्त राष्ट्र सङघको परिषद तथा कार्यको व्यवहारिक विषयमा छलफल हुने भएकाले बालबालिकाहरुमा ज्ञान हासिल गर्नुको साथै नेतृत्व पनि विकास हुने बताए । तीन दिनसम्म हुने कार्यक्रममा ६ वटा कमिटीहरु विभाजन गरिएको छ । कमिटीले विभिन्न एजेण्डामा रही छलफल गर्ने छन् । कार्यक्रमले बालबालिकाको नेतृत्व विकास, विश्वका तत्कालिन स्थिति तथा जल्दोबल्दो घटना, समस्या समाधान र छलफलको प्रक्रियासँग बालबालिकालाई परिचित गराउने कार्यक्रम संयोजक भूपेन्द्रप्रताप सिंहले जानकारी दिए ।
कार्यक्रममा नवोदय विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरु र बुटवलमा रहेको एपेक्स विद्यालय र जनकपुरमा रहेको मोनास्टिक विद्यालयका ११ जना विद्यार्थी गरी कूल १ सय २० जना विद्यार्थीहरुले कार्यक्रममा सहभागिता जनाउने छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा उपसचिव गंगाधर रिमाल, प्याव्सनका केन्द्रीय सदस्य मदन दाहाल, प्याव्सन मकवानपुरका कार्यवहाक अध्यक्ष विनोद सुवेदी, गोल्डेन गेट विद्यालय काठमाडौंका संस्थापक प्रिन्सिपल सिड्डा लामा, ‘युथ थिड्ढर सोसाइटी’ चितवनका अध्यक्ष सुशिल खनाल, कमाने एकेडेमीका प्रिसिन्पल प्रतिमा डङ्गोल, एसक्यूसी जनकपुर हवका हव संयोजक कुनाल शर्मालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम शनिबारसम्म चल्ने छ ।
मकवानपुर । मकवानपुर प्रहरीले १ सय २७ किलाे गाँजा र ट्रक सहित ३ जना पक्राउ गरेकाे छ । मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले उक्त परिमाण गाँजा सहित तीन जनालाई पक्राउ गरेको हाे ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे टाेलीले भारतीय नम्बर बि.आर.ई. २८३९ ट्रक चेकजाँच गर्दा ढालामा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा १ सय २७ किलोग्राम सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा ट्रक चालक भारत बैशाल जिल्ला बस्ने बर्ष ३८ को रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर जिल्ला बस्ने बर्ष १८ को राहुल कुमार सहनी, र पर्सा बिरगंज महानगरपालिका वडा नं.९ चुर्नी बस्ने ३० को रियाजुल अंसारी रहेका छन् ।
गाँजा, ट्रक सहित ३ जना नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
लागुऔषध नाईट्रोभेट सहित २ जना मानिस नियन्त्रणमा

यसैगरी मकवानपुर प्रहरीले १ हजार १ सय २५ नाईट्रोभेट ट्याब्लेट लागुऔषध सहित २ जना पक्राउ गरेकाे छ ।
साउन १९ गते प्राप्त सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गण्डकी गेष्ट हाउस रेष्टुरेन्टमा बारा निजगढ १३ का १९ बर्षका सुवास गोले र १९ बर्षका सरोज थिङले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध नाईट्रोभेट १ हजार १ सय २५ ट्याब्लेट फेला परेकाे प्रहरीले जनाएकाे छ ।
निजहरुलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दासले जानकारी दिए ।
मकवानपुर । सानिमा लाइफ इन्स्यारेन्सले आज साउन २० गतेबाट आइपीओ निष्काशन गरेकाे छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गरेकाे हाे ।
कम्पनीले आफ्नो जारी पुँजी २ अर्बको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबर प्रति सेयर १ सयका दरले ६० लाख कित्ता शेयर आईपीओ निष्काशन गरेकाे हाे । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात् कुल निष्कासनको ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुने कम्पनीले जनाएको छ ।
सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आईपीओका लागि २० देखि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।
मकवानपुर । शेर बहादुर देउवा नेतृत्वकाे सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय मंगलबारकाे मन्त्रिपरिषद बैठकले गरेकाे हाे ।
मन्त्रिपरिषद् बैठकले आयोगको देशभरीकै संरचनाको खारेज गरेको हो । ओली सरकारले भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन चितवनका एमाले नेता ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य गरिरहेकाे थियो ।
यस्तै सरकारले करीब एक वर्षदेखि पदाधिकारी विहीन रहेकाे शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मंगलबारकाे मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर-१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तैगरी आयोगको सदस्यहरूमा काठमाडौं कलंकीका डिल्लीराम रिमाल र काठमाडौं महानगरपालिका ९ कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त भएका छन् । आयोग रहेको थियो ।
यसैगरी बैठकले कोरोना खोपका लागि एसियाली विकास बैंक (एडीबी)को १६५ मिलियन डलर अर्थात् १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले कोभिड–१९ निषेधाज्ञा आदेश जारी भएको अवधि वैशाख १६ यताको व्यक्तिगत घटना दर्ताको विलम्ब शुल्क छुट दिने निर्णय गरेको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ भने राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गरेको छ । सहसचिव हरिप्रसाद मैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय समेत मन्त्रिपरिषद्काे बैठकले गरेको छ ।