मकवानपुर । मकवानपुर प्रहरीले १ सय २७ किलाे गाँजा र ट्रक सहित ३ जना पक्राउ गरेकाे छ । मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले उक्त परिमाण गाँजा सहित तीन जनालाई पक्राउ गरेको हाे ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे टाेलीले भारतीय नम्बर बि.आर.ई. २८३९ ट्रक चेकजाँच गर्दा ढालामा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा १ सय २७ किलोग्राम सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा ट्रक चालक भारत बैशाल जिल्ला बस्ने बर्ष ३८ को रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर जिल्ला बस्ने बर्ष १८ को राहुल कुमार सहनी, र पर्सा बिरगंज महानगरपालिका वडा नं.९ चुर्नी बस्ने ३० को रियाजुल अंसारी रहेका छन् ।
गाँजा, ट्रक सहित ३ जना नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
लागुऔषध नाईट्रोभेट सहित २ जना मानिस नियन्त्रणमा

यसैगरी मकवानपुर प्रहरीले १ हजार १ सय २५ नाईट्रोभेट ट्याब्लेट लागुऔषध सहित २ जना पक्राउ गरेकाे छ ।
साउन १९ गते प्राप्त सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गण्डकी गेष्ट हाउस रेष्टुरेन्टमा बारा निजगढ १३ का १९ बर्षका सुवास गोले र १९ बर्षका सरोज थिङले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध नाईट्रोभेट १ हजार १ सय २५ ट्याब्लेट फेला परेकाे प्रहरीले जनाएकाे छ ।
निजहरुलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दासले जानकारी दिए ।

