मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् । पार्टीभित्रै आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा घोषणा गरेका हुन्।
गत बिहीबार भएकाे प्रतिनिधिसभा निर्वाचनकाे परिणामपछि उनले आजकै दिनदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । पोखरेलले राजिनामा घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् ‘नेकपा माले हुँदै एमालेको ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्छ।’
पाेखरेलले फेसबुकमा लेखेका छन् ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, ईर्ष्या र घमन्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो।’ उनले लेखेका छन्, ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिव लगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वका ले बाटो प्रशस्त गर्नु पर्दछ। आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ। यसै सन्दर्भमा, आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु’ लेखेका छन् ।
यसैगरी उनले भनेका छन् ‘अब आउने युवाहरूलाई मेरो साथ र सहयोग पूर्ण रूपमा रहनेछ।’ अन्त्यमा उनले लेखेका छन् ’आशा छ, नयाँ युवा पुस्ताले यस पार्टीलाई सही दिशा र ढङ्गबाट अगाडि बढाउनुहुनेछ। आजसम्म तपाईंहरूबाट प्राप्त सहयोग, माया र सद्भावप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। साथै जनमतको कदर गर्दै हाल प्रतिनिधि सभामा निर्वाचित सबैप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु। धन्यवाद।’
पछिल्लो केही महिनादेखि पोखरेल पारिवारिक तथा विरामीका कारण पार्टी गतिविधिमा सहभागी भएका थिएनन् । एमालेकाे महाधिवेशनमा मकवानपुर क्षेत्र १ काे प्रतिनिधि छनौटमा समेत वारेस मार्फत दर्ता गराएका उनी पार्टी बैठकहरुमा समेत सहभागी हुने नगरेकाे बताइएकाे छ । उनले सामाजिक संजालमा राजिनामा दिएकाेमा प्रायःले सही निर्णय लेखे पनि केहीले पार्टीकाे बैठकबाट निर्णय गरी राजिनामा दिनु पर्ने सुझाएका छन् ।

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई ११ हजार १६४ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३० हजार ५० मत प्राप्त गरि विजयी हुँदा बर्तौलाले १८ हजार ८४६ मत पाए। नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ५६ मतसहित तेस्रो भए। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लबशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गरे । यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।
उप्रेतीको जितसँगै मकवानपुर–२ मा करिब ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ। २०४६ पछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा कम्युनिस्ट दलका उम्मेदवार विजयी हुँदै आएका थिए। पछिल्लो निर्वाचन २०७९ मा पनि एमालेका बर्तौला विजयी भएका थिए। २५ वर्षीय उप्रेती संसदमा प्रवेश गर्ने सबैभन्दा कान्छो सांसद बन्ने भएका छन्।
हेटौंडा उपमहानगरपालिकाकाे १ ११ ३ १९ वडा मनहरी, राक्सिराङ कैलाश इन्द्रसरोवर भीमफेदी गाँउपालिका, मकवानपुरगढी गाउँपालिका ५,६,७ र ८ वडा तथा थाहानगरपालिका २ नम्बर क्षेत्रमा रहेकाे छ । मकवानपुरका लागि नयाँ अनुहार भए पनि हेटौंडा उपमहानगरपालिकाका केही वडा, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका वडाबाट प्राप्त मतले उनलाई निर्णायक अग्रता दिलाएको देखिएको छ। जिल्लाका दुर्गम क्षेत्रहरूमा भने प्रमुख दलहरूबीच मत लगभग प्रतिस्पर्धात्मक रूपमा बाँडिएको थियो।
२१ फागुनमा भएको निर्वाचनमा मकवानपुरकाे क्षेत्र २ मा ९१ हजार २४१ जनाले मतदान गरेका थिए । मकवानपुर जिल्लाबाट १ लाख ८६ हजार ५५१ (५९%) ले मतदान गरेका थिए ।
काे हुन् उप्रेती ?
उप्रेती मध्यम वर्गीय परिवारमा २०५७ सालमा जन्मिएका हुन् । मकवानपुरकाे मनहरी गाउँपालिकामा हुर्किएका प्रशान्त पर्यटन उद्यमी समेत हुन्। उनी हाल मनहरीमै विद्यालय शिक्षा अध्यापनरत छन्। उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्।
उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र शाहको सचिवालयमा आईटीसम्बन्धी कामसमेत सम्हालेका उप्रेती रास्वपाबाट टिकट पाएपछि चुनाव लड्न मकवानपुर आएका थिए।
आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य संसदमा गएर केवल हात उठाउनु वा संख्या पुर्याउनु मात्रै नभएकाे भन्दै जनभावनाको प्रतिनिधित्व गर्दै राष्ट्रहितका लागि कानून निर्माण गर्न र सरकारलाई निरन्तर निगरानी गरि जवाफदेही बनाउन अडिग रहेकाे बताउँछन् ।
आफ्नो क्षेत्रका स्थानीय समस्याहरूलाई नबिर्सिएकाे तथा स्थानीयका दैनिक समस्याहरुसँग जानकार भएकाे बताउँछन्। मकवानपुर मात्र हैन समग्र देशका किसानहरूले भोग्नुपरिरहेको समस्या, आफ्नो क्षेत्रमा रहेको गरिबी, बढ्दो महंगी सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउनु पहिलो कर्तव्य हाे भन्छन् ।
‘जनताका दैनिक समस्यालाई सदनमा पुर्याउनु र सो को सम्बन्धित निकाय मार्फत सम्बोधन गराउनु जिम्मेवारी हुनेछ’ उनी भन्छन् । ‘Education Leadership’ को विद्यार्थी भएकाेले हाम्रो खस्किँदै गएको शिक्षा तथा सो को प्रणालीको बारेमा जानकार भएकाेले नेतृत्व तहबाट सुधारका लागि पहल गर्ने उनी बताउँछन् ।
Gen Z (नवयुवा) आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरुलाई सदनमा पुर्याउन उनीसँग उमेर र आवाज भएकाे बताइन्छ ।
भरतपुर । चितवनको कालिका नगरपालिकाको वडा नम्बर ९ मा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकाे छ । कालिका नपा ९ स्थित भित्री सडक खण्डमा उपरदाङगढीबाट शक्तिखोर तर्फ आउदै गरेको बा प्र.०६–००१ ह ०३१५ नं. को अटो अनियन्त्रित भई नालामा पल्टिदा ४ जनाको मृत्यु र १ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अटो चालक राप्ती ९ घर भएका ३९ वर्षीय पुर्ण विकको उपचारको क्रममा मृत्यु भएको छ । त्यसैगरि राप्ती नगरपालिका ८ बस्ने ५६ वर्षीय बिष्णु कुमारी तामाङ, राप्ती ९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानका ५५ वर्षीय तिलक तामाङकाे पुरानो मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएकी राप्ती ९ बस्ने ५३ वर्षीय चिनीकुमारी गुरुङको भरतपुरस्थित पुरानो कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक मत गणना भएको छ । निर्वाचन आयोगमा अनुसार उक्त समानुपातिक मत गन्दा ६ दल थ्रेसहोल्डभन्दा माथि छन् ।
समानुपातिकमा राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले ९४ हजार ९८ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले २८ हजार ३२३, नेकपा एमालेले १९ हजार ९०५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ८ हजार ८८० प्राप्त गरेकाे छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को ६ हजार ६४७ तथा श्रम संस्कृति पार्टीको ५ हजार ५६० मत आएको छ । बाँकी अन्य दलको मत आएको देखिन्छ ।
यसमध्ये रास्वपाले ल्याएको मत कुल मतको ५४.५० प्रतिशत, नेपाली कांग्रेसले १६.४० प्रतिशत, नेकपा एमालेले ११.५३ प्रतिशत, ३.८५ प्रतिशत र श्रम संस्कृति पार्टीले ३.२२ प्रतिशत मत प्राप्त भएको छ । अहिलेसम्म यी सबै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् भने बाँकीले थ्रेसहोल्ड कटाउन सकेका छैनन् ।
मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तरगत अहिलेसम्म ४८ क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३७ क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८२ क्षेत्रमा अग्रता बनाएको छ ।
यस्तै कांग्रेसले ६ स्थानमा विजय हासिल गर्दा १० स्थानमा अग्रता बनाएको छ । यसैगरी एमालेले २ स्थानमा जित हात पार्दा ८ स्थानमा अग्रता बनाएको छ । नेकपा २ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छ । यसैगरी १ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा अन्य ६ उम्मेदवारले अग्रता बनाएका छन् ।
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ ।