मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन हुने नहुने बारेको भ्रम फैल्याउनेलाई कारवाही गरिने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । मुख्य राजनीति दलका नेतृत्वहरूबाटै निर्वाचन प्रक्रियामाथी आशंका फैलाउने अभिव्यक्ति प्रति आयोगका आयुक्त भण्डारीले आक्रोश व्यक्त गरे ।
मकवानपुरको हेटौंडामा आज भएको एक कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् । आयोगले सबै तयारी सकेको अवस्थामा अनावश्यक भ्रम फैलाउनेहरू प्रति आयोगको ध्यानाकर्षण भएको भण्डारीले बताए । “हामीले राम्रोसँग नोट गरेका छौ, हामी कारबाहीमा जाने छौ” उनले भने ” देश निर्वाचनमय भएको छ, यो निर्वाचन नभए हामी २० बर्ष पछि धकेलिने छौ ।”
आयोग कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा रहेको उनले बताए । ” निर्वाचन नभए लोकतान्त्रले हार्छ” उनले भने “लोकतन्त्र बचाउनु हामी सबैको कर्तव्य हो ।”
भ्रम र आशंकले फैलाउने नेता आफै जनतासामू जान डराएको उनले बताए । निर्वाचन नभएको अवस्था नेतृत्वलाई पनि समस्या हुने बताउंदै उनले भने “चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो, यसको कदर गरौ ।” लोकतन्त्र जिवित राख्ने प्रक्रिया नै निर्वाचन भएकोले तोकिएको समय निर्वाचन हुनै पर्ने उनले बताए ।
“लोकतान्त्रिक कदममा आयोगको पवित्र नियतमा शंका नगरौ” उनले भने । आयुक्त भण्डारीले आयोगले मुलकाम सकेको बताए । जनताले बिश्वास गरेर आफ्नो मत दिने भनेको आफूमाथि शासनको अधिकार दिएको नभई आफ्नो समस्यामा सहजीकरण गर्न मत दिने भएकोले यसलाई सघाउन उनले सबैलाई आग्रह गरे ।
आयुक्त भण्डारीले सन्चारकर्मीलाई पनि आचारसंहितामा बस्न आग्रह गरे । “मिडिया पनि आयोगको हिस्सा हो, निर्वाचन बिरुद्व हुने, अनावश्यक शंका उब्जने र निर्वाचन बिथोल्ने प्रयत्न नगरौ” उनले भने ।
आयोगले आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेश, प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले आयोगले सबै तयारी सकेको बताए । स्वतन्त्र र भयरहित निर्वाचन गर्न आयोग लागिपरेका पोखरेलले बताए ।
यौन दुर्व्यबहार आरोपित २ शिक्षक प्रहरीको नियन्त्रणमा
Tags: No Comments
मकवानपुर । स्कुले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका २ जना शिक्षकहरूलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्ला बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका ३ शिक्षक मध्ये २ जना शुक्रबार पक्राउ परेका हुन् । शुक्रबार राति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याईएको प्रहरीले जनाएको छ ।
अर्का एक शिक्षक भने २५ चैतमै आफैं प्रहरीको सम्पर्कमा आएका थिए । आरोपित शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आए पनि अन्य दुई फरार रहेकोमा ढिलो गरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ । जनता माबिका तीन जना शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै २२ चैत्रमा विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ । निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन,राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
बिद्यालयमा तोडफोड भएपछि बाहिरिएको यो घटना बिरुद्व स्थानीय स्तरमै मिलाउन खोज्दा अधिकरकर्मीहरूले बिरोध जनाएका थिए । सुरक्षा चुनौतीका बिच २४ चैत्रको मध्य रातमा केही छात्राहरूको अभिभावक र छात्राहरूले समेत जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका थिए ।
आरोपित शिक्षकहरू र पीडत छात्राहरू स्थानीय भएको कारण जाहेरी र पक्राउपछि सुरक्षा चुनौती रहेको बताईएको छ । बिद्यार्थीहरूले गत ७ चैतमा बिद्यालय प्रशासनसमक्ष आफूहरू शिक्षकद्वारा पीडित भएको भन्दै निवेदेन दिएका थिए ।
मकवानपुर । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजययी गराउन निर्देशन दिएकाे छ । पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन काँग्रेसले निर्देशन जारी गरेको छ ।
काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पार्टी आबद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले भ्रातृ सङ्घ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितिका संयोजकले उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
बैठकमा समिति सदस्य पार्टी केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी रानालगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा देशैभरि दुईपक्षीय प्रतिस्पर्धा गर्नेगरी दलहरू अगाडि बढेका छन् । सत्तापक्षीय र विपक्षी दुईवटा गठबन्धनमा मुलुक निर्वाचनमा अघि बढेको छ । केही दल भने यी दुवै गठबन्धनमा आबद्ध छैनन् । ती दल बहस र छलफलमै केन्द्रित छन् ।
सत्तारूढ गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । सत्तारूढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । उता संसद्को सबैभन्दा ठूलो दल एमाले नेतृत्वको विपक्षी गठबन्धनमा हालसम्म राप्रपा नेपाल र परिवार दलले सहभागिता जनाएका छन् ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल र पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको परिवार दल एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् । संसद्को सबैभन्दा सानो राष्ट्रिय दल लोसपा भने कुन गठबन्धनमा लाग्दा फाइदा हुन्छ भनेर हिसाबकिताब गरिरहेको अवस्था छ ।
नेमकिपा, जनमत पार्टी, राप्रपा, नेकपा, माले, जप्रपा, तमलोपा कुनै पनि गठबन्धनमा आबद्ध भइसकेको छैन । कतै नखुलेका यी दल अन्तिम समयसम्म आफ्नो अस्तित्व जोगाउन भए पनि गठबन्धनमा सहभागी हुने अनुमान गरिन थालिएको छ ।
वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक तथा राजनीतिक विश्लेषक कुर्वान हवारी आगामी स्थानीय तह निर्वाचनमा देशैभरि दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको बताउँछन् । ‘एकातर्फ सत्तारूढ दलहरू गठबन्धन नै बनाएर चुनावी मोर्चामा होमिएको अवस्था छ भने अर्कोतर्फ प्रतिपक्षी दलहरूको गठबन्धन पनि बनेको छ ।
केही साना दल यी दुवै गठबन्धनमा नभए पनि आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै गठबन्धनमा अनिवार्य रूपमा सहभागी हुने नै छन्,’ हवारी भन्छन् । लोसपा स्रोतका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रूपमा छलफल गरिरहेका छन् । जुन गठबन्धनमा आफूलाई बढी फाइदा हुन्छ सोही गठबन्धनमा सहभागी हुने रणनीति लोसपाको छ ।
लोसपाको तराई मधेसमा राम्रो प्रभाव रहेको छ । यस्तै, मधेसको नयाँ तर शक्तिशाली भनिएको डा. सिके राउत नेतृत्वको जनमत पार्टी कुनै पनि गठबन्धनमा सहभागी भइसकेको छैन । जनमत पार्टीसहित हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउन एमाले अध्यक्ष ओली सक्रिय छन् ।
आन्तरिक रूपमा ओलीले अन्य साना कम्युनिस्ट पार्टीलाई समेत आफ्नो गठबन्धनमा सहभागी गराउन प्रयास जारी राखेका छन् । नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, सिपी मैनाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माले), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतलाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराएर ओलीले सत्तारूढ गठबन्धनलाई चुनौती दिन खोजेका छन् ।
सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसका वरिष्ठ नेता एवं स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले आगामी स्थानीय तह निर्वाचनमा आफूहरूको विजयी सुनिश्चित रहेको ठोकुवा गरेका छन् । जनतामा राम्रो प्रभाव भएका प्रमुख दलहरूको गठबन्धन भएकाले आफूहरू विजयी हुने निश्चित भएको दाबी पौडेलले गरेका छन् । तर, निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्तारूढ पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । सिट बाँडफाँटको मापदण्ड’ पाँच दलीय गठबन्धनले अझै टुंगो लगाउन सकेको छैन ।
एउटै पालिकामा गठबन्धनमा आबद्ध सबै दलको दाबी रहिरहनु र एकले अर्कोलाई सहयोग नगर्ने उद्घोष जिल्लाजिल्लाबाट हुनुले मत विभाजन हुने र विपक्षी गठबन्धनलाई सहज हुन सक्ने आँकलनसमेत भइरहेको छ । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारलाई पाँचै दलले स्वीकार गरेर मतदान गरे विपक्षी गठबन्धन उसको अगाडि टिक्न गाह्रो हुनेछ । तर, पाँचै दलबीच पालिकास्तरमा एउटै स्वर वा एकमत देखिँदैन । राजधानी दैनिकबाट