मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा बहालवाल उपमेयर मिनाकुमारी लामालाई समाजवादीले अघि सारेको छ ।
सत्तारुढ गठवन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पद समाजवादीको भागमा परेपछि समाजवादीले लामो आन्तरिक कसरतपछि लामालाई अघि सारेको हो । पार्टी भित्र पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र लामाको दाबि भएपछि अन्तिम समयसम्मको प्रयासमा लामाले टिकट पाएकी हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट उपमेयर जितेकी लामा पार्टी बिभाजनपछि समाजवादीला गएकी थिइन ।
उम्मेदवारी टुङ्गिएसंग अबको केही दिनमा गठबन्धन दलहरुको घोषणा पत्र लिएर जनतामाझ जाने तयारी समेत भएको लामाले बताइन् ।
सरकार गठबन्धन दल तथा दलका शीर्षस्थ नेता बिच भएको सहमतिमा हेटौंडाको मेयर नेकपा एस र उपप्रमुख कांग्रेसको भागमा परेको थियो। नेकपा एकीकृत समाजवादीले लामालाई उम्मेदवारको रूपमा टुङ्ग्याएपनि उपमेयरको भाग पाएको कांग्रेसमा भने अझै विवाद छ । कांग्रेसले उपमेयरमा कसलाई टिकट दिने अझैसम्म फाइनल भएको छैन ।
मकवानपुर । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची नै सार्वजनिक गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ ।
स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।
उम्मेदवारी दर्ता गराउन पहिले सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्ने आयाेगले जनाएको छ । त्यस्तै सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने छ । यसैगरी कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिने आयाेगको सूचिमा उल्लेख छ ।
कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्ने आयाेगले जनाएकाे छ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिनु पर्ने प्रावधान निर्वाचन आचार संहिता २०७८ मा समेत व्यवस्था गरेकाे छ ।
नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्नेछ । वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्कलाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।
हेर्नुहोस् निर्वाचन आयोगले बनाएको सूची
स्वदेशी उत्पादनको प्रवद्र्धन र विलासिताका वस्तु आयातमा कडाइ गर्न यसअघि भएका अनेक प्रयास र नीति नियम प्रभावकारी नभएकै कारण अहिले सरकार बढ्दो आयात रोक्न असफल भएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भ भएदेखि नै सरकारले सवारीसाधन, महँगा विदेशी ब्रान्डका मदिरा, सुनचाँदी र धेरै मुल्यपर्ने ल्याप्टप, मोबाइल सेट लगायतका बस्तुहरुलाई बिलासिताका सामान भन्दै विलासिताका वस्तुहरूको आयातमा कडाइ गर्दै आएको दाबी गरेको सरकारले यसअघि आफैंले विभिन्न समयमा जारी भएको नीति तथा निर्देशन कार्यान्वयन गर्न असफल भएको देखिएको छ । जसका कारण हाल दैनिक आयात बढेर मुलुक थप आर्थिक संकटमा परेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका नौ महिना गत चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार आयात रोक्न सरकार असफल देखिएको हो । शुक्रबार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयात बढेको छ ।
यस अवधिमा कुल १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँको आयात भएको थियो ।
अहिलेसम्म सरकारले गरेका अनेक प्रयास निरर्थक हुँदा आयात घटेन । झन् उल्टै बढेर आवको बितेका नौ महिनामा गत आवको भन्दा साढे ३ खर्ब रुपैयाँ बढीको सामान आयात भएको विभागले जनाएको छ । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा बढेर १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब ६ अर्ब नाघेको हो ।
यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ४७ प्रतिशतले बढी हो । अहिलेसम्म आयात नियन्त्रण गर्न असफल साबित भएको सरकारले आफ्ना नीति निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न थप प्रयास नगरे यही अनुपातमा मुलुकको व्यापार घाटा बढेर यस आर्थिक वर्षभित्रमै १८ खर्ब रुपैयाँ नाघ्नेछ ।
विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले सरकारले अनेक उपाय गर्दै आयात घटाउन पहल गरे पनि अझै अपेक्षाकृत रूपमा आयात नियन्त्रणमा नआएको बताए । यसले देशमा तरलता बढाउने र आर्थिक संकट थप चुलिने उनको भनाइ छ ।
चालू आवको सुरुवाती महिना गत साउनदेखि चैत मसान्तसम्म नेपालले झन्डै १५ खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । समीक्षा अवधिमा देखिएको यो आयात अघिल्लो आवको भन्दा ३ खर्ब ५५ अर्ब रुपैयाँले बढी हो ।
विभागका अनुसार मुलुकको आयात एक वर्षको समीक्षा अवधिमा करिब ३२ प्रतिशतले बढेको छ । बैंकहरूले सवारीसाधन, सुनलगायत विलासी वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्ने कार्य बन्द गरे पनि तथ्यांकमा त्यसको प्रभावकारिता अझै देखिएको छैन । यसैगरी, साउनदेखि चैतसम्म १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ । गत वर्ष सोही अवधिमा ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको सामान निर्यात भएको थियो ।
सो अवधिमा ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको देखिन्छ । विभागको तथ्यांकअनुसार निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । यस अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा बेहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाखबराबरको व्यापार घाटा बेहोरेको थियो ।
यसैगरी, चालू आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । गत आवको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाखबराबरको वैदेशिक व्यापार भएको थियो ।
यस अवधिमा नेपालले छिमेकी मुलुक भारतसँग मात्रै ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँ बढीको व्यापार घाटा बेहोरेको छ । चालू आवको बितेका नौ महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । यस अवधिमा भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख रुपैयाँ बढीको आयात भएको छ । यस अवधिमा १ खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट बितेका नौ महिनाको अवधिमा २ खर्ब ११ अर्ब ५ करोड ८० लाख रुपैयाँबराबरको आयात भएको छ । सो समयमा नेपालबाट जम्मा ६२ करोड २८ लाख ६२ हजार रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब १० अर्ब ४२ करोड ५१ लाख रुपैयाँबराबरको व्यापार घाटा रहेको विभागले जनाएको छ ।
पछिल्लो समय सरकारले विभिन्न विलासिताका वस्तुको आयातमा कडाइ गर्दै एलसी बन्द गर्ने सुइको पाएपछि गत चैत महिनामा मात्रै झन्डै ४ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन भित्रिएको छ । भन्सार विभागका अनुसार ७ लाख ४० हजार ८ सय ७० थान मोबाइल फोनबाट सरकारले एकै महिनामा करिब ६३ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
राष्ट्र बैंकले मोबाइलको आयातका लागि एलसी खोल्न कडाइ गरेकै कारण व्यवसायीले स्टक कायम गर्नकै लागि धेरै आयात गरेकाले संख्या बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार बैंकहरूले चैतबाट मोबाइल आयात गर्न एलसी खोल्न नै बन्द गरिदिएपछि अब बजारमा नपाइने भन्दै झन् माग बढेसँगै आयातमा पनि वृद्धि भएको हो ।
विभागका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा करिब ३५ अर्ब रुपैयाँबराबरको ५० लाख थान बढी मोबाइल फोन आयात भएको छ । चालू आवमा सबैभन्दा धेरै मोबाइल फोन गत भदौमा आयात भएको थियो । दसैं–तिहार र छठपर्वलगायतका चाडपर्व अघि व्यवसायीले करिब साढे ५ अर्ब रुपैयाँको ८ लाख ३१ हजार २ सय ४७ थान मोबाइल फोन आयात भएको थियो । भदौपछि चैतमा आएर सबैभन्दा बढी मोबाइल फोन आयात भएको देखिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट
मकवानपुर । पशु पन्छि तथा मत्य विकास निर्देशनालयका निर्देशक डाक्टर मोगल प्रसाद शाहले स्थानीय तहमा कार्ययोजना बनाउंदा लक्ष्यित बर्गको आवश्यकता हेरेर योजना बनाउन आग्रह गरेका छन् ।
स्थानीय तहसंगको सहकार्यमा गरिने कार्यक्रमहरूबाट स्थानीयवासीले बढि लाभ लिन सक्ने भएकोले शाहले भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रलाई यस्तो आग्रह गरेका हुन् ।
भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले आगामी आर्थिक वर्षको बार्षिक योजना तर्जुमाको लागि स्थानीय तह तथा जिल्ला स्थित संचालित आयोजना परियोजनाहरूसंग एक दिने कार्यशाला गोष्ठी तथा छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
मकवानपुर जिल्लाको सबै स्थानीय तहको पशु शाखाका प्रमुखहरूसंग आयोजना गरिएको कार्यक्रममा सहभागीहरूलाई केन्द्र आगामी आ.व.मा आयोजना हुने कार्यक्रम बारे जानकारी गराईएको थियो ।
आगामे आ.व.मा केन्द्रले कृषि मिटरमा अनुदान, कृषि कर्जाको ब्याजमा अनुदान, बिमा सम्बन्धि घुम्ती शिविर, प्राकृतिक जलाशयमा माछाको भुरा छोड्ने, कुखुराको दानाको चेकजाँच घुम्ती शिविर, गुणस्तरीयताको आधारमा मासु पसलमा स्टिकर राख्ने कार्यक्रम जस्ता कार्यक्रमको योजना ल्याईएको केन्द्रका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले बताए ।
यस्ता कार्यक्रममा किसानलाई पेशा प्रति लगाब बढाउनका साथै किसानलाई हुनसक्ने नोक्सानी कम गर्न सकिने ठाकुरले बताए । यि कार्यक्रम गर्दा अनिवार्य रूपमा स्थानीय तहसंग सहकार्य गरिने ठाकुरले बताए ।
किसानले गरेको उत्पादन खतप सुनिश्चित हुंदा व्यावसायिकता बढ्ने भएकोले त्यसतर्फ लक्ष्यित कार्यक्रम ल्याईएको ठाकुरले बताए ।
कार्यक्रममा सहभागी हेटौंडा उपमहानगरपालिकाका पशुसेवा शाखाका भिमसेन खड्का केन्द्रले समयमा आवश्यक सामग्री उपलब्ध नगराउदा समस्या भएको बताए । यसैगरी मकवानपुरगढी गाउँपालिकाका पशुशाखा प्रमुख सत्यनारायण शाखाले रोग पहिचान बारे पनि स्थानीय तहका प्राबिधिकलाई जानकारी/ तालिम आवश्यक भएको बताए । प्राविधिक ज्ञान भएका व्यक्ति हुंदा मात्रै स्थानीय कृषकलाई राहत दिन सकिने उनले बताए ।
यसैगरी बागमती गाउँपालिका पशु शाखाका राजेन्द्र गोले गोठ सुधार बारेको कार्यक्रम पनि आवश्यक रहेको बताए । किसानहरूको जीवनस्तर उकास्न निर्वाहमुखी योजनाहरू पनि आवश्यक भएकोले बकैया गाउँपालिकाले एक घर एक बाख्रा कार्यक्रम ल्याएकोले केन्द्रले यस्तो कार्यक्रममा पनि सहयोग गर्न गाउँपालिका पशुशाखा प्रमुख अशोक कुमार सिहले बताए ।
कार्यक्रममा सहभागीहरूले अनुदानमा आधारित कार्यक्रममा लक्ष्यित समूह चाहि लाभग्राही हुन नसकेको, स्थानीय स्तरमा नै दाना बनाउने मिसिन, च्यापकटर उपलब्ध हुनुपर्ने, बंगुर र बाख्रामा पनि बीमाको कार्यक्रम लागु हुनुपर्ने, साना किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याइनु पर्ने प्रतिक्रिया दिएको केन्द्रका सहायत स्तर पाँचौ प्रदीप सापकोटालगायत बताए ।
कृषि तथा पशुपन्छी मन्त्रालयको पशु विकास मन्त्रालयको पशु विकास अधिकृत डाक्टर सबिना मिश्रले किसानको समस्या बारे मन्त्रालयमा जानकारी गराउने बताइन् । कार्यक्रममा राक्सिराङ शुभेच्छा ढकाल,केन्द्रको पशु विकास अधिकृत डाक्टर आभाष कोइरालालगायतको उपस्थिति रहेको थियो ।
हेटौंडा । आसन्न स्थानीय तह निर्वाचन -२०७९ प्रचारप्रसारको क्रममा नेकपा एमाले हेटौंडा ५ वडा कमिटीले वडाको राईटोलमा सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
टोल सम्पर्क कार्यालय उद्घाटन गर्दै पार्टी जिल्ला कमिटी सचिवालय सदस्य इश्वर ढुङ्गानाले टोल टोलको विकासलेमात्रै समग्र वडाको विकास संभव भएको बताए । राईटोलमा धेरै संभावनाहरू रहेको उल्लेख गर्दै ढुङ्गानाले यसलाई अवसरको रूपमा लिदै उन्नती पथमा लागि पर्न एमालेको उम्मेदवारहरू हतारिएको बताए ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य सुधिर थापाले सबैले आफ्नो स्थानबाट मेहनत गरेर एमालेको उम्मेदवार जिताउन लागि पर्न टोलवासीलाई आग्रह गरे । वडामा रहेको २८ वटा टोल विकाससंग समन्वय गरेर विकासको रफ्तार अघि बढाउने थापाले बताए ।
यसैगरी पार्टी सदस्य सन्तोष पौडेल एमालेको उम्मेदवारहरूले वडाको समग्र विकासको खाका लिएरै आएकोले आफूमा प्रस्ट हुँदै चुनावी प्रचारप्रसारमा लाग्न स्थानीयलाई आग्रह गरे । भौतिक विकास पहिलो प्राथमिकता भए पनि सामाजिक,शैक्षिक, मानवीय विकासको योजना बनाएको पौडेलले बताए । अतिरिक्त क्रियाकलापमा पनि एमालेले योजना बनाएको उनले बताए ।
कार्यक्रममा वडा इन्चार्ज बिशाल महत, पार्टी वडा अध्यक्ष पदम बजागाई, राप्रपा नेपालका रमेश चौलागाईं लगायतले चौतर्फि विकास निर्माणकार्यमा प्रगति हासिल गर्न सुशिल घिमिरेको समूह जिताउनु पर्ने बताएका थिए ।
कार्यक्रममा वडाका उम्मेदवार सुशिल घिमिरेले वडामा भौगोलिक अवस्था हेरेर आवश्यक पुर्वाधार विकास गरिने, युवा तथा खेलकुद क्षेत्रमा प्रतिभा प्रस्फुटनको अवसरलाई सधैं प्राथमिकता दिइने बताए । “तपाईं हामी सबैले आपसमा सहकार्य गरेर मात्रै वडा बनाउन सक्छौ” अध्यक्षका उम्मेदवार घिमिरेले भने “हामीले ५ बर्षको बिचमा गर्न सक्ने र गर्नै पर्ने कामको सूचि बनाएका छौ,जसलाई क्रमागत रूपमा सम्पन्न गरिने छ।”
यसैगरी वडा सदस्यको उम्मेदवार रामबहादुर राई, रन्जिता सिलवालले वडालाई सुन्दर बनाउन एमालेको उम्मेदवारहरू तत्पर रहेको बताए । हेटौंडाको ५ नम्बर वडा जिल्लाको आदिवासी बसेको टोल भएकोए राईटोलको चिनारीको लागि पहल गर्ने उनीहरूले बताए । वडाको भौतिक र सामाजिक विकासमा युवाशक्ति परिचालन गर्ने राइले बताए भने महिलाको सशक्तीकरणको लागि स्वरोजगारमुखी कार्यलाई प्राथमिकता दिइने सिलवालले बताइन् ।
कार्यक्रम टोल कमिटी अध्यक्ष गोठि तामाङ राईको अध्यक्षतामा भएको थियो ।
वडा कमिटीले आज चुनावी प्रचारको लागि विभिन्न समिति बनाएर जिम्मेवारी समेत बांडफांड गरेको पार्टी वडा सचीव सुरेश लामिछानेले बताए । चुनावको लागि मुल परिचालन सचिवालय, अनुगमन तथा समन्वय, परामर्श तथा भेटघाट उपसमितिहरू गठन गरी जिम्मेवारी दिईएको जिल्ला सदस्य पौडेलले बताए । यसैबिच वडा समितिले वडाको बिभिन्न टोलहरूमा घरभेट कार्यक्रम समेत सुरू गरेको सचिव लामिछानेले बताए ।