मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा बहालवाल उपमेयर मिनाकुमारी लामालाई समाजवादीले अघि सारेको छ ।
सत्तारुढ गठवन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पद समाजवादीको भागमा परेपछि समाजवादीले लामो आन्तरिक कसरतपछि लामालाई अघि सारेको हो । पार्टी भित्र पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र लामाको दाबि भएपछि अन्तिम समयसम्मको प्रयासमा लामाले टिकट पाएकी हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट उपमेयर जितेकी लामा पार्टी बिभाजनपछि समाजवादीला गएकी थिइन ।
उम्मेदवारी टुङ्गिएसंग अबको केही दिनमा गठबन्धन दलहरुको घोषणा पत्र लिएर जनतामाझ जाने तयारी समेत भएको लामाले बताइन् ।
सरकार गठबन्धन दल तथा दलका शीर्षस्थ नेता बिच भएको सहमतिमा हेटौंडाको मेयर नेकपा एस र उपप्रमुख कांग्रेसको भागमा परेको थियो। नेकपा एकीकृत समाजवादीले लामालाई उम्मेदवारको रूपमा टुङ्ग्याएपनि उपमेयरको भाग पाएको कांग्रेसमा भने अझै विवाद छ । कांग्रेसले उपमेयरमा कसलाई टिकट दिने अझैसम्म फाइनल भएको छैन ।

