हेटौंडा । आसन्न स्थानीय तह निर्वाचन -२०७९ प्रचारप्रसारको क्रममा नेकपा एमाले हेटौंडा ५ वडा कमिटीले वडाको राईटोलमा सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
टोल सम्पर्क कार्यालय उद्घाटन गर्दै पार्टी जिल्ला कमिटी सचिवालय सदस्य इश्वर ढुङ्गानाले टोल टोलको विकासलेमात्रै समग्र वडाको विकास संभव भएको बताए । राईटोलमा धेरै संभावनाहरू रहेको उल्लेख गर्दै ढुङ्गानाले यसलाई अवसरको रूपमा लिदै उन्नती पथमा लागि पर्न एमालेको उम्मेदवारहरू हतारिएको बताए ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य सुधिर थापाले सबैले आफ्नो स्थानबाट मेहनत गरेर एमालेको उम्मेदवार जिताउन लागि पर्न टोलवासीलाई आग्रह गरे । वडामा रहेको २८ वटा टोल विकाससंग समन्वय गरेर विकासको रफ्तार अघि बढाउने थापाले बताए ।
यसैगरी पार्टी सदस्य सन्तोष पौडेल एमालेको उम्मेदवारहरूले वडाको समग्र विकासको खाका लिएरै आएकोले आफूमा प्रस्ट हुँदै चुनावी प्रचारप्रसारमा लाग्न स्थानीयलाई आग्रह गरे । भौतिक विकास पहिलो प्राथमिकता भए पनि सामाजिक,शैक्षिक, मानवीय विकासको योजना बनाएको पौडेलले बताए । अतिरिक्त क्रियाकलापमा पनि एमालेले योजना बनाएको उनले बताए ।
कार्यक्रममा वडा इन्चार्ज बिशाल महत, पार्टी वडा अध्यक्ष पदम बजागाई, राप्रपा नेपालका रमेश चौलागाईं लगायतले चौतर्फि विकास निर्माणकार्यमा प्रगति हासिल गर्न सुशिल घिमिरेको समूह जिताउनु पर्ने बताएका थिए ।
कार्यक्रममा वडाका उम्मेदवार सुशिल घिमिरेले वडामा भौगोलिक अवस्था हेरेर आवश्यक पुर्वाधार विकास गरिने, युवा तथा खेलकुद क्षेत्रमा प्रतिभा प्रस्फुटनको अवसरलाई सधैं प्राथमिकता दिइने बताए । “तपाईं हामी सबैले आपसमा सहकार्य गरेर मात्रै वडा बनाउन सक्छौ” अध्यक्षका उम्मेदवार घिमिरेले भने “हामीले ५ बर्षको बिचमा गर्न सक्ने र गर्नै पर्ने कामको सूचि बनाएका छौ,जसलाई क्रमागत रूपमा सम्पन्न गरिने छ।”
यसैगरी वडा सदस्यको उम्मेदवार रामबहादुर राई, रन्जिता सिलवालले वडालाई सुन्दर बनाउन एमालेको उम्मेदवारहरू तत्पर रहेको बताए । हेटौंडाको ५ नम्बर वडा जिल्लाको आदिवासी बसेको टोल भएकोए राईटोलको चिनारीको लागि पहल गर्ने उनीहरूले बताए । वडाको भौतिक र सामाजिक विकासमा युवाशक्ति परिचालन गर्ने राइले बताए भने महिलाको सशक्तीकरणको लागि स्वरोजगारमुखी कार्यलाई प्राथमिकता दिइने सिलवालले बताइन् ।
कार्यक्रम टोल कमिटी अध्यक्ष गोठि तामाङ राईको अध्यक्षतामा भएको थियो ।
वडा कमिटीले आज चुनावी प्रचारको लागि विभिन्न समिति बनाएर जिम्मेवारी समेत बांडफांड गरेको पार्टी वडा सचीव सुरेश लामिछानेले बताए । चुनावको लागि मुल परिचालन सचिवालय, अनुगमन तथा समन्वय, परामर्श तथा भेटघाट उपसमितिहरू गठन गरी जिम्मेवारी दिईएको जिल्ला सदस्य पौडेलले बताए । यसैबिच वडा समितिले वडाको बिभिन्न टोलहरूमा घरभेट कार्यक्रम समेत सुरू गरेको सचिव लामिछानेले बताए ।

