मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ ।
गए राती अज्ञात ब्यक्तिहरुले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड गरेका हुन् ।
आज बिहान पार्कमा मर्निङ वाल्क गर्न आएका स्थानीयले शालिक तोडिएको देखेपछी पार्क ब्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराउँदै अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अबिनाश अधिकारीसहितको टोलीको घटनाको अनुगमन सुरु गरिसकेको छ ।
आसन्न स्थानिय निर्वाचन नजिकिँदै गर्दा यस किसिमको घटनाले नियोजित रुपमा राजनीतिक पुर्वाग्रह राखेर नै तोडफोड गरिएको हेटौंडा-९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले आरोप लगाए । पार्कमा अन्य कुनै संरचनालाई क्षती नगरी मदन-आश्रित को मात्र प्रतिम तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ ।

जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ । गत असार १४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट मदन-आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो । दीव्य बाल उद्यानमा बागमती प्रदेश सरकार, तथा स्थानीय सरकारको लगानीमा पर्यटनकीय गन्तव्यको रूपमा विकास गरिदै छ । यहाँ मदन-आश्रीत, गौतम बुद्धलगायतको प्रतिमा स्थापन गरिसकिएको छ भने विभिन्न आकर्षक संरचनाहरू निर्माणकार्य जारी रहेकाेछ ।
लागूऔषध कारोबारीको अखडाको रुपमा रहेको झाडीलाई पर्यटकीय गन्तव्य बनाउन विगत २१ महिनामा ज्ञ कराेड ५५ लाख खर्चेर विभिन्न संरचना निर्माण गरिएकाे थियाे । १८ बिगाह क्षेत्रमा फैलिएको निर्माणधिन पार्कमा बागमती प्रदेश सरकार,हेटौंडा उपमहानगरपालिका र वडा कार्यलयले लगानी गरिरहेकाे वडा अध्यक्ष भण्डारीले बताए ।

