मकवानपुर । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठक तथा जिल्ला स्तरीय प्रशिक्षण शुक्रबार हेटौँडामा भएको छ ।
पार्टीका उपाध्यक्ष एबम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले साउन र भदौ महिनाभर संगठन सुदृढिकरण कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना निर्माण गरेको छ ।
कार्य योजना अन्तर्गत हरेक पालिका तहको बैठक, भातृ संगठनहरुको बैठक, वडा तहको संगठन निर्माण र पुनगठन एबम् प्रशिक्षण लगायतका कार्यक्रमहरु रहेको पार्टी अध्यक्ष सूर्यचन्द्र न्यौपानेले जानकारी दिए । त्यसैगरी प्रतिनिधि सभा तथा प्रदेश स्तरीय कमिटीहरुको पूर्णता र पार्टी सदस्यता बितरणलाई समेत प्रमुख प्राथमिकतामा राखी पार्टीले राजनीतिक गतिविधिहरुलाई तीब्रता दिन लागिएको उनले बताए ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष एबम् बागमती प्रदेश इन्चार्ज न्यौपानेले अहिले पनि राष्ट्रियतामाथि खतरा रहेको राष्ट्रिय परिवेशबारे चर्चा गरेका थिए । उनले एससिसि र एसपिपी सम्झौताले देशमा चाइनाबिरुद्ध अमेरिकी हस्तक्षेप बढिरहेको र त्यसले नेपाललाई भविष्यमा युक्रेनीकरण गर्ने अबस्था आउन सक्ने बताए ।
‘यो जटिल परिस्थितिको सामना हामीले गर्नुपर्नेछ’, उनले भने “यस्तो अबस्थामा देशप्रति जिम्मेवार पार्टीको रुपमा नेकपा एकीकृत समाजवादीलाई बलियो रुपमा उभ्याउनु आजको आवश्यकता बनिसकेको छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एबम् बागमती प्रदेश अध्यक्ष साबित्रा भुषालले पार्टी संगठनको बिस्तार, विकास, मूल्यांकन तथा अनुशासनका बिषयमा कार्यकर्ताहरु सचेत भएर लाग्नुपर्ने सुनाए। त्यसैगरी अर्का स्थायी कमिटी सदस्य एबम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले केपी ओली नसुध्रिएसम्म बाम एकता वा तालमेलमा एमाले नसमेटिने बताए।
अर्का स्थायी कमिटी सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज ललितकुमार बस्नेतले पार्टी संगठनको काम स्थानीय तहको निर्वाचनपछि सुस्त भएको प्रसंग कोट्याउँदै अहिले नै थकित हुन नहुने बताए।
कार्यक्रममा जिल्ला सचिवालय कमिटीले तयार पारेको कार्ययोजना पारित गरेको छ । कार्ययोजना अन्तर्गत सबै पालिकामा अब राजनीतिक गतिविधिहरु हुने पार्टीका सचिव बिष्णुप्रसाद दाहालले जानकारी दिए।
मकवानपुर । नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।
विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक कार्यक्रममा शुक्रवार बाघको संख्या ३ सय ५५ पुगेको जानकारी गराइएको थियो। प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन ।
पछिल्लो ४ वर्षमा १ सय २० बाघ थपिएको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ देखि फागुन २८ सम्म बाघ गणना गरेको थियो ।२०१८ मा नेपालमा २ सय ३५ बाघ थिए ।
अहिले सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुल्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको वन्यजन्तु विभागले जनाएको छ ।
बाघ गणनाका लागि अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधि प्रयोग गरिएको थियो । १ सय ५० वटा क्यामेराका साथै २ सय जनशक्ति र आवश्यकताअनुसार हात्ती पनि प्रयोग गरिएको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले चार वर्षअघि बढाइएको भाडा अहिले असुल गर्न खोजेको प्रति उद्योगिहरुले असन्तुष्टि जनाएका छन् ।
४ वर्ष पहिले बढाएको भाडा २०७९ सालमा आएर पत्र काटेको भन्दै उद्योग संघ मकवानपुर आन्दोलन उत्रने भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापनले यहाँको उद्योगहरूलाई कुल १४ करोडभन्दा बढी रकमको बिल पठाइएको जनाइएको छ ।
क्षेत्रफलको दृष्टिकोणले देशकै ठूलो हेटौँडा आद्योगिक क्षेत्रका उद्योगीहरूलाई अहिले प्रोत्साहनभन्दा उद्योग बन्द गर्न बाध्य पार्न लागिएको आरोप लगाइरहेका छन् ।
उद्योग संघ मकवानपुरले आज मकवानपुर आइपुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर भाडा लागू नगर्न माग गरे ।
उद्योग संघ अध्यक्ष स्वागतराज प्याकुरेलले जग्गा भाडादर वृद्धिप्रति संघको पूर्ण असहमति रहेको भन्दै लागू नगर्न मन्त्रीसमक्ष अनुरोध गरेको बताए ।
लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको प्रति रोपनी १९ हजार ६ सय ९१ रुपैयाँको दरले भाडा भुक्तानी गर्न औद्योगिक क्षेत्रका १ सय ४९ वटा उद्योगहरूलाई पत्रसहित बिल पठाएको छ ।
कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि उद्योगीहरूलाई पत्र काटेको हो । लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको हाल कायम भाडादरमा १ सय ३३ प्रतिशत वृद्धि गरेर सोही अनुसारको भाडा भुक्तानीका लागि पठाएको हो ।
२०७५ मंसिर ५ को निर्णयानुसारको भाडा तिर्नुपर्ने भन्दै ४ वर्षपछि उद्योग प्रतिष्ठानहरूलाई पत्र काटेको जनाइएको छ । “आजसम्म बिना जानकारी बस्ने अनि यसरी एक्कसी भुक्तानीको पत्र पठाउने यो न्याय संगत भएन” एक उद्योगिले भने । “चार वर्षअघि बढाइएको भनिएको भाडाको भुक्तानी दिन यतिबेला पत्र काटेर हुन्छ रु” उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाका प्रमुख भोजराज विनाडीका अनुसार ‘२०७५ सालमै भाडा बढाउने निर्णय कार्यान्वयन गर्न भनिएको थियो ।
“सोही अनुसार हामीले भुक्तानीका लागि बिलसहित पत्र काटेका हौ ।” विनाडीले भने ।
बिल अनुसार हेटौँडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको एउटा उद्योगले यसै महिनामा ९ लाख ५ हजार रुपैयाँ भाडा भुक्तानी गर्नुपर्ने भएको छ ।
कोरोना महामारीपछि थिलोथिलो भएको उद्योगहरू बाँमे सर्न लाग्दा यस्तो तनाव दिइएकोले यो तिर्न नसकिने अवस्थामा उद्योगहरू नरहेको संघका अध्यक्ष प्याकुरेल बताउँछन् ।
बल्ल उठ्न थालेको र हाल तरलता अभाव र महँगीका कारण धरासयी अवस्थामा भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको उनको भनाइ छ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १ सय ४९ वटा उद्योगमध्ये १ सय ३३ वटा सञ्चालनमा छन् । ५ वटा पूर्ण रूपमा बन्द अवस्थामा छन् । ११ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
मकवानपुर । हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मकवानपुरमा पनि विहानैबाट हल्का वर्षा भइरहेकाे छ ।
हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर स्थान (normal position) को आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहेकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार श्रावण १२ गते (बिहीबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी श्रावण १३ गते (शुक्रबार) देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै श्रावण १४ गते (शनिबार) देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैशम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यसैगरी,देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु समेत महाशाखाले सबैमा आग्रह गरेकाे छ ।