मकवानपुर । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेश निर्वाचनको मिति घोषणा गरेको हो ।
बुधबार हिजो सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मङ्सिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो ।
यसअघि असार २२ गते निर्वाचन आयोगले आगामी मङ्सिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने गरि मिति तोक्न सरकारलाई सिफारिस गरेको थियोे ।
यसैबीच, सरकारले मङ्सिर ४ गते प्रदेश र सङ्घको निर्वाचन गर्ने घोषणा गरेको निर्णयलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वागत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै सरकारको निर्णयलाई स्वागत गरेका हुन् ।
निर्वाचनको तयारी सुरुः आयोग
निर्वाचन आयोगले सरकारले संघ र प्रदेशको निर्वाचन घोषणा गरे संगै निर्वाचनको तयारी सुरु गरेको छ ।
आयोगले अहिले जारी रहेको मतदाता नामावली सङ्कलन भोलिदेखि बन्द गर्ने भएको छ । साथै अनलाइन आवेदन दिएकाहरूले २१ गतेसम्म औठा छाप र फोटो खिचाउन पाउने पनि आयोगले प्रष्ट पारेको छ ।
आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो । निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भएपनि आयोग निर्वाचन गराउन तयारी अवस्थामा रहेको उस्ले जानकारी दिएको छ । आयोग अनुसार चाँडै नै दल दर्ताको प्रक्रिया सुरु हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अशोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने गरी निर्वाचन कार्यतालिका तयार पारिने भन्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आयोग तयारीमा जुटेको बताए ।
मकवानपुर । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सत्ता गठबन्धनमा आबद्ध ५ दल सहमत भएका छन् ।
निर्वाचन आयोगले भने गत २२ असारमा नै मंसिर २ मा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध ५ दलको बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
विहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । निर्वाचन आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको छ ।
यसअघि संसद्को चालू अधिवेशन समापन गरेर मात्रै निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनभित्र अलमल देखिँदै आएको थियो । यस्तै, सरकारमा रिक्त रहेका अर्थ मन्त्रीका कारण पनि निर्वाचनको मिति घोषणामा अलमल भएको थियो ।
आयोगले देशभर एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी गर्दै आएको छ । आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ ।
२०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी ७ अर्ब ८० करोड खर्च भएको थियो ।
आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ । आयोगका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता जारी छ । निर्वाचनको मिति घोषणा भएपछि भने नामावली दर्ता रोकिने कानुन छ ।
आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ ।
मकवानपुर । साइनो वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सवमा “साइनो सौरभ” विमोचन गरिएकाे छ । प्रतिष्ठानको आयोजनामा तेस्रो साइनो वार्षिकोत्सवको अवसर पारेर संयुक्त साइनो संग्रह “साइनो सौरभ” को विमोचन गरिएकाे हाे ।
प्रतिष्ठानकी अध्यक्ष डा.सीता सुवेदी पन्थीको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेल प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता प्रमुख प्रा.डा.देवी नेपाल, कवि एवं समालोचक प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.डा.षडानन्द पौड्याल, प्रा.डा.गार्गी शर्मा, डा.यज्ञेश्वर निरौला, डा.बमबहादुर थापा “जिताली” एवं साइनोका प्रणेता छायादत्त न्यौपाले संयुक्त रूपमा प्रतिष्ठानको दोस्रो कोसेली “साइनो सौरभ” को विमोचन गरिएकाे हाे।
साइनोका प्रवर्तक श्री छायादत्त न्यौपानेबाट प्रथम साइनो प्रसारण भएको मिति साउन सोह्र गतेलाई साइनोको आधिकारिक जन्म भएको मानिएकोले यसै मितिमा साइनोको वार्षिकोत्सव मनाउन थालिएको बताए । प्रा.डा.देवी नेपालबाट विमोचित कृतिको समीक्षागत टिप्पणी गरिएको थियो । अतिथिबाट साइनोबारे विचार विमर्श गरिएको थियो ।
“साइनो सौरभ” मा ३० जनाकाे साइनाे प्रकाशित छन् । “साइनो सौरभ” मा कपिल किशोर घिमिरे, कमला गौतम, केशव ज्ञवाली ‘आगत’, खेमलाल पोखरेल, घनबहादुर थापा, चन्द्रावती अधिकारी, चिरञ्जीवि ढकाल, छायादत्त न्यौपाने बगर, तोयानाथ चापागाईँ, दुर्गाप्रसाद कोइराला, पशपति राई, प्रधुम्न चालिसे, प्रमोद भट्टराई ‘प्रतीक’, प्रीति आत्रेय ज्ञवालीका साइनाे प्रकाशित छन् ।
यसैगरी बलराम सुवेदी, बालकुमार क्षेत्री ‘साइनो’, राजेन्द्र घिमिरे, लक्ष्मण धामी, वासुदेव ज्ञवाली, विष्णुप्रसाद पन्त, विष्णु दाहाल, शान्ता पन्थी ‘शान्तिदीप’, शेखर अर्याल, डा.शेखरकुमार श्रेष्ठ, सरिता पराजुली, सविता के.सी, सीता पाण्डेय मरासिनी, डा. सीता सुवेदी पन्थी, सुरेन्द्र शाही ‘गुलाब कान्छो’ र हरिप्रसाद चौलागाईंका साइनोहरू प्रकाशित छन् । पुस्तकमा सबै नेपाली साइनोहरू प्रकाशित भएका छन् । प्रीति आत्रेय ज्ञवालीको भने नेपाली, संस्कृत र अंग्रेजी गरी तीन भाषामा साइनोहरू प्रकाशित छन् ।
प्रतिष्ठानका सचिव शेखर अर्यालद्वारा संचालित उक्त कार्यक्रममा सल्लाहकार केशव ज्ञवालीबाट स्वागत मन्तव्य र महासचिव बालकुमार क्षेत्रीबाट साइनोको विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै सल्लाहकार हरिप्रसाद चौलागाईँ, कोषाध्यक्ष शान्ता पन्थी, सदस्य प्रीति आत्रेय ज्ञवाली, शान्ता पौडेल र लक्ष्मण धामीबाट साइनोहरूको वाचन गरिएको थियो ।
सदस्य डा.शेखर कुमार श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएकाे कार्यक्रममाा विभित्र साहित्यिक तथा अन्य संघ संस्था एवं प्रतिष्ठानबाट साहित्यकार तथा साहित्य अनुरागीलगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मधेस प्रदेशमा बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा भ्रष्टाचार भएको पाइएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेसकाे उक्त कार्यक्रममा छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको ठहर गरेकाे हाे ।
साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले १० जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयाेगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई, सह लेखापाल, ओम सत्य साई प्रालि वीरगन्ज सहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र सदस्य ४ जना गरी १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रदेश सचिव भुसालको हकमा १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगोसहित कैद सजाय माग गरिएको छ । भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तवरबाट तयार गरिएको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसारको थप कसुर समेत गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम समेत कैद सजाय र जरिवाना गर्ने मागदाबी लिइएको छ ।
यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख सीडीई भगवान झाले तत्कालीन मूल्यांकन समितिको सदस्य समेत रहेर फरक गुणस्तरको साइकल ल्याउनमा भूमिका खेलेको अख्तियारको भनाइ छ । उनीमाथि पनि समान १० करोड ३३ लाख ७५८ रुपैया बिगो मागदाबी गरिएको छ भने सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो,भण्डार शाखाका खरिदार जित मोहन कुमार दासमाथि पनि कैद सजाय र जरिवाना माग दावी भएको छ।
यस्तै ओम सत्य साईकी रेनु अग्रवालमाथि पनि सम्झौता अनुसारको सर्त पालना नगरी प्रदेश सरकारलाई हानी नोक्सानी पार्ने काममा भूमिका खेलेको पाइएकाले १० करोड ३३ लाख ७५८ रुपैयाँ नै मागदाबी भएको छ।
यस्तै साइकल खरिदबारेकै अर्को मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरु उपसचिव दिलिप कुमार प्रधान, अधिकृत सुरेन्द्र कुमार कर्ण, सह लेखापाल राजाराम मण्डलमाथि मापदण्ड नपुग्दा समेत बदनीयतपूर्ण भूमिका खेलेकाले दोषी किटान गरी मुद्दा दायर गरिएकाे अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएकाे छ ।