मकवानपुर । आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर अवस्थित रहेको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो । अहिले प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकाे आज मंगलबार प्रकाशित बुलेटिनमाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने महाशाखाले जनाएको छ ।
असोज १९ गते दशैंको टीकाको दिन देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज २० गते र २१ गतेको दिनमा पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी माैसम विज्ञान विभागले माैसम बुलेटिनमा चेतावनी तथा परामर्श समेत दिएकाे छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावनाले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सरकारका निजामति कर्मचारी, स्थानीय तहका कर्मचारी तथा अन्य सरकारीलाई मात्र खटाउने भएकाे छ । निर्वाचनमा कर्मचारी खटाउँदा अपुग भएमात्र शिक्षक तथा विद्यालय कर्मचारी मतदान केन्द्रमा खटाइने आयाेगले जनाएकाे छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, जनशक्ति व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०५९ ले सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट अपुग भए मात्र शिक्षक तथा विद्यालय कर्मचारी खटाउने व्यवस्था गरेको हो । निर्देशिकाको मतदान केन्द्रमा कर्मचारी खटाउने व्यवस्थामा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी नपुग भएमा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउने’ भनिएको छ ।
त्यस्तै विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षकलाई मतदान केन्द्रमा खटाउँदा त्यस्तो मतदान केन्द्रमा सरकारी कर्मचारी समेत समावेश गरी खटाउन निर्देशन दिइएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ मा सबारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीको अनुसार दुर्घटनामा ३६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भई नालीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा तोकेको छ ।
आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो । जसअनुसार मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रलाई २०/२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।
आयाेगका अनुसार मकवानपुरका प्रतिनिधि सभा १ र २ क्षेत्रका उम्म्दवारले निर्वाचनमा ३३ लाख रुपैंया खर्च गर्न पाउने भएका छन् । याे सिमा मकवानपुरका २ वटै निर्वाचन क्षेत्र सहित २६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउने सिमा हाे । आयाेगले ताेकेकाे खर्च सिमा मध्ये ३३ लाख रुपैंया सबैभन्दा धेरै हाे । जसमा मकवानपुर सहित ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २,गोरखा १, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १ र २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका हुन् ।
आयोगको निर्णयअनुसार सबभन्दा कम काठमाडौँका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । यसमा काठमाडौं १, ३, ६, ७ र क्षेत्र नम्बर ८ पर्छ । यस्तै १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । यसमा तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौं २, ४, ५, ९ र १० भक्तपुर २, ललितपुर २ र ३, मनाङ, कास्की २ र रुकुम पूर्व छ ।
६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । यो सूचीमा झापा १ र ४ , मोरङ ४, ५ र ६, सुनसरी ३ र ४, उदयपुर २, सप्तरी २, ३ र ४, सिराहा १,२,३ र ४, धनुषा १,२,३ र ४, महोत्तरी १, २, ३ र ४, सर्लाही २ र ४, रौतहट १,२,३ र ४, बारा २,३ र ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ, बागलुङ २, गुल्मी २, पाल्पा १ र २, रुपन्देही २, ३ र ४, कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम १ र २, दैलेख १ र २, अछाम १ र २, कैलाली १, २, ३ र ५, कञ्चनपुर १, २ र ३ पर्छन् ।
५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउनेछन् । जसमा इलाम १ र २, झापा २, ३ र ५, भोजपुर, धनकुटा, मोरङ १, २ र ३, सुनसरी १ र २, ओखलढुङ्गा, उदयपुर १, सर्लाही १ र ३, बारा १, सिन्धुली १ र २, धादिङ १ र २, नुवाकोट १, सिन्धुपाल्चोक १ र २, चितवन १ र ३, कास्की ३, तनहुँ २, स्याङ्जा १, नवलपरासी बर्दघाट सुस्ता पूर्व १ र २, म्याग्दी १, पर्वत १, गुल्मी १, रुपन्देही १ र ५, कपिलवस्तु १ र २, दाङ २ र ३, बाँके १, मुगु, जुम्ला, कालीकोट, सुर्खेत १ र २, रुकुम पश्चिम, बाजुरा, कैलाली ४, दार्चुला र डडेलधुरा छन् ।
समानुपातिकको हकमा दलहरूले पेस गरेको बन्दसूचीमा सूचिकृत सङ्ख्याअनुसार प्रति उम्मेदवार २ लाख खर्च गर्न पाइनेछ ।
यसै गरी प्रदेश सभा तर्फ निर्वाचन खर्च न्यूनतम १५ लाख देखि अधिकतम २३ लाखसम्म ताेकेकाे छ । मकवानपुर जिल्लाकाे प्रतिनिधिसभा १ प्रदेश सभा १, प्रतिनिधि सभा २ प्रदेश सभा १ र प्रदेश सभा २ काे उम्मेदवार निर्वाचन क्षेत्रकाे खर्च सिमा २१ लाख निर्धारण गरिएकाे छ । यस्तै गरी मकवानपुरकाे प्रतिनिधिसभा १ प्रदेशसभा २ काे उम्मेदवार निर्वाचन क्षेत्रकाे खर्च सिमा १७ लाख ताेकिएकाे निर्वाचन आयाेगले आइतबार प्रकाशित गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
प्रदेशसभाका समानुपातिक उम्मेदवारहरूको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वचान खर्चकाे विज्ञप्ति
मकवानपुर । आज बडा दसैं अन्तर्गत सातौ दिन सप्तमी तिथि फूलपाती पर्व मनाइदै छ । नवरात्रको सातौं दिन फूलपाती भित्र्याउने चलन छ ।
आज आइतबार दसैंघर, कोत तथा घरघरमा दसैंको ‘फूलपाती’ भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा फूलपाती भित्र्याउने गरिन्छ ।
दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याइँने गरिन्छ ।
फूलपातीदेखि नै दोबाटो, चौबाटो, चौतारो र खुला स्थानमा हालिने लिंगे पिङ, रोटे पिङ हाल्ने गरिन्छ । दसैंको विशेष रौनक फूलपातीबाट सुरु हुन्छ । यसै दिनबाट सरकारी कार्यालय बिदा सुरु हुन्छ ।
मकवानपुरको हेटौंडामा रहेको शक्तिपिठहरुमा समेत फूलपाती भित्र्याउने गरिएको छ । आज आश्वीन १६ गते सप्तमी तिथिको फूलपातीको दिन भुटनदेवी मन्दिर हेटौंडा १० र बनष्खण्डी मन्दिर हेटौंडा २ मा फूलपाती भित्र्याइने छ ।
दसैको फूलपाती भित्र्याइने दिनलाई ३६५ दीनको एकवर्षको १ दीनको पनी १ घण्टा नवदुर्गा भगवतीको लागि नेपाली सेना, नेपाल प्रहरी, दंगा प्रहरी र सशस्त्र प्रहरीबाट नगर परिक्रमा गर्दै फूलपाती भित्र्याइने भूटनदेवी मन्दिर व्यवस्थापन समिती अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भूटनदेवी मन्दिर र वनस्खण्डी मन्दिरमा हेटौंडा १० स्थित गोरक्षेश्वर मन्दिर राप्तीतटबाट हेटौंडा बजार परिक्रमा गर्दै फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ । भूटनदेवीमा फूलपाती भित्र्याउने कार्यक्रम बिहान ७:३0 बजे बाट र बनष्खण्डी मन्दिरमा फूलपाती भित्र्याउने कार्यक्रम दिउँसो २:३० बजे सुरु हुने उनले जानकारी दिए
यस्तै हनुमानढोका दरबार दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइँने परम्परा छ । धादिङ जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले लाने र धादिङ जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले फूलपाती लिएर जाने परम्परा रहेको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्र्याउने परम्परा छ ।
पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट ल्याएर फूलपाती भित्र्याइँने चलन बसेको इतिहास छ ।
फूलपाती भित्र्याउने साइत अनुसार टुँडीखेलमा नेपाली सेनाले फूलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्छन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आजै नै फूलपातीका दिन कालरात्रि देवीको पूजा गरिँदै छ ।