मकवानपुर । मकवानपुरमा १ हजार ६ सय ९९ जना म्यादी प्रहरी छनौट गरिएकाे छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले छनौट भएका उक्त संख्यामा म्यादी प्रहरीको नाम सार्वजनिक गरेको छ ।
कार्यालयले पूर्व सुरक्षाकर्मी र पूर्व म्यादी प्रहरीतर्फ ८ सय ५ जना र खुलातर्फ ८ सय ९४ जना गरी १ हजार ६ सय ९९ जनालाई म्यादी प्रहरीकाे लागि छनौट गरेको हो । छनौट भएका म्यादी प्रहरीका लागि सफल उम्मेदवारहरुलाई बुधबारबाटै नियुक्तीपत्र प्रदान गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । उनीहरुकाे लागि ३० गते आइतबाबाट १० दिनको तालिम दिइने बताइएकाे छ ।
परीक्षामा सहभागी उम्मेदवार मध्ये योग्यताक्रम अनुसार सफल र वैकल्पिक उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । ३ सय ३५ जनालाई वैकल्पिक उम्मेदवारका रुपमा छनौट गरिको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुर । चितवन जिल्लामा स्क्रब टाइफसका बिरामीकाे संख्या बढेका छन् । गत १ महिनाकाे अवधिमा स्क्रब टाइपसकाे विरामीकाे संख्या बढेकाे भरतपुर अस्पतालले जनाएकाे छ ।
अस्पतालले मंगलबार विज्ञप्ति निकालेर स्क्रब टाइपसकाे विरामीकाे संख्या पछिल्लाे समय बढ्दै गएकाे जनाएकाे हाे । अस्पतालका अनुसार पछिल्ला दिनहरुमा बहिरङग र अन्तरङग विभागमा भर्नाका भएका अधिकांश ज्वरोका बिरामीहरुमा स्क्रब टाइफसका बिरामी देखा परेका छन् । ढिलोगरि अस्पतालमा उपचार गराउन आउने बिरामीमा जटिल लक्षणहरु रगतको प्रेसर घटेर बहुअंग (मृगौला, कलेजो, फोक्सो इत्यादि) बिग्रने र आइसीयूमा उपचार गराउनु पर्ने बिरामीको संख्या उल्लेखीय रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले खुला चौरमा अनावश्यक लामो समय नबस्ने र रोगका लक्षणहरु (ज्वरो आउने शरीर दुख्ने, टाउको दुख्ने, ग्रन्थी सुनिने, छालामा किर्नाको टोकाईबाट भएको कालो घाउ/खत) देखिमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत विज्ञप्ति मार्फत सर्वसाधारणमा अनुराेध गरेको छ ।
खेतबारीमा रहने मुसाजन्य प्रजातिमा लाग्ने किर्नाकाे टोकाइकाे कारण स्क्रब टाइपस राेग लाग्ने हुँदा घरवरपर झाडी, वुट्यान सफा गर्ने, खेतबारी वा जंगल जाँदा पुरा शरीर ढाक्ने कपडा लगाउन आवश्यक रहेको अस्पतालका प्रवक्ता डा.गोविन्द कंडेलले विज्ञप्ति जारी गरी बताएका छन् ।
मकवानपुर । सरकारले आउँदो कात्तिक २ र ३ गते पाँच वर्ष मुनिका आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएकाे छ । हरेक वर्ष जस्तै यस वर्ष पनि सरकारले बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधि खुवाउने भएकाे हाे । आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सरकारले सर्वसाधरणमा अनुरोध समेत गरेको छ ।
स्वास्थ्य सेवा विभागले देशभरका ६ देखि ५९ महिनाका २७ लाख बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइने जनाएको छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै २०५६ बाट १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दुवै सभाको निर्वाचनका लागि आइतबार मनोनयको समय निर्धारण गरेको थियो । आयोगले निर्धारण गरेको सो दिन देशभरमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचन लड्नका लागि ५ हजार ८ सय ६६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि २ हजार ४ सय ७३ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभाको ३ सय ३० सिटका लागि ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी परेको छ ।
– प्रतिनिधिसभामा २ हजार ४ सय ७३, प्रदेशमा ३ हजार ३ सय ९३
– उम्मेदवारी उत्साहजनक : आयोग
आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि उम्मेदवारलाई मनोनयनको समय दिएको थियो । यस अवधिमा दर्ता भएकामध्ये आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर २ हजार २ सय ४२ पुरुष र २ सय ३१ महिला गरी कुल २ हजार ४ सय ७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आइतबार रातिसम्म उम्मेदवारी दर्ता कार्य जारी रहेकाले यो मनोनयन गर्नेको संख्या बढ्न सक्नेछ ।
तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारको दर्ता कार्य राति अबेरसम्म जारी रहेको आयोगले जनाएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको आयोगको भनाइ छ । जसका कारण मनोनय गर्नेको संख्या केही बढ्ने देखिएको हो ।
आयोगका अनुसार आइतबार रातिसम्म प्रदेशसभातर्फ ३ हजार ९९ जना पुरुष, २ सय ९३ महिला र १ अन्य गरी जम्मा ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयनपत्र दर्ता गरेका थिए ।
उम्मेदवारी दर्ता उत्साहजनक तथा शान्तिपूर्ण भएको आयोगले जनाएको छ । दर्ता भएका उम्मेदवाको सूची आइतबार नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम छ । सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन तालिका छ । सोही तालिकाअनुसार कार्य अगाडि बढाइएको आयोगले जनाएको छ । राजधानी दैनिकबाट
मकवानपुर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे उद्घाटन यही असाेज २८ गते हुने भय पनि आज आइतबारबाट पोखरामा खेल सुरु हुँदैछ । नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । तोकिएको मितिमा समय अपुग हुने भएकाले प्रतियोगिताको औपचारिक उद्घाटन हुनु अघि नै केही खेल सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिताअन्तर्गत महिला क्रिकेट आज आइतबारदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन हुने भएकाे हाे ।महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशकाबीचमा हुने बताइएकाे छ । यसैगरी आइतबारको दोस्रो खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका बीचमा हुनेछ ।
महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस–प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटनलगायत अधिकांश खेलको मिति आउन अझै एक साता समय बाँकी रहेकाले खेलस्थल मर्मत, सरसफाइ र रङरोगनका काम भइरहेकाे छ । गण्डकी प्रदेशमा ४० वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद हुँदैछ । प्रतियोगितामा देशका सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् । पोखरासहित गण्डकी प्रदेशका आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । पूर्वाधार अभावमा सुटिङ खेल राजधानी काठमाडौँमा हुने तय गरिएको छ ।
अधिकांश खेलसहित प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरा रङ्गशालामा हुनेछ। प्रतियोगितामा ३ सय ९२ स्वर्ण, ३ सय ९२ रजत र ६ सय कास्य गरी १ हजार ३ सय ८४ पदकका लागि खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशबाट सर्वाधिक ७ सय २ खेलाडी सहभागी हुँदैछन् । गण्डकीले प्रतियोगिताका सबै खेलमा भाग लिएको छ ।
राखेपको प्राविधिक उपसमितिका अनुसार गण्डकी प्रदेशपछि विभागीय नेपाली सेनाका ६ सय ७३ खेलाडी सहभागी हुँदैछन् । यसैगरी सशस्त्र प्रहरीको एपिएफ क्लबले ५ सय २२, नेपाल प्रहरीले ४ सय ८८ र सुदूरपश्चिम प्रदेशले प्रतियोगिताका लागि ४ सय ३६ खेलाडीको नाम दर्ता गराएको छ ।
यसैगरी बागमती प्रदेशबाट ४ सय ३०, प्रदेश नं १ बाट ३ सय ७१, मधेस प्रदेशले २ सय ६२, कर्णाली प्रदेशले १ सय ९७, एनआरएनएले १ सय ३१ र लुम्बिनी प्रदेशबाट १ सय २३ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन् । –