मकवानपुर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे उद्घाटन यही असाेज २८ गते हुने भय पनि आज आइतबारबाट पोखरामा खेल सुरु हुँदैछ । नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । तोकिएको मितिमा समय अपुग हुने भएकाले प्रतियोगिताको औपचारिक उद्घाटन हुनु अघि नै केही खेल सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिताअन्तर्गत महिला क्रिकेट आज आइतबारदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन हुने भएकाे हाे ।महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशकाबीचमा हुने बताइएकाे छ । यसैगरी आइतबारको दोस्रो खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका बीचमा हुनेछ ।
महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस–प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटनलगायत अधिकांश खेलको मिति आउन अझै एक साता समय बाँकी रहेकाले खेलस्थल मर्मत, सरसफाइ र रङरोगनका काम भइरहेकाे छ । गण्डकी प्रदेशमा ४० वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद हुँदैछ । प्रतियोगितामा देशका सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् । पोखरासहित गण्डकी प्रदेशका आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । पूर्वाधार अभावमा सुटिङ खेल राजधानी काठमाडौँमा हुने तय गरिएको छ ।
अधिकांश खेलसहित प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरा रङ्गशालामा हुनेछ। प्रतियोगितामा ३ सय ९२ स्वर्ण, ३ सय ९२ रजत र ६ सय कास्य गरी १ हजार ३ सय ८४ पदकका लागि खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशबाट सर्वाधिक ७ सय २ खेलाडी सहभागी हुँदैछन् । गण्डकीले प्रतियोगिताका सबै खेलमा भाग लिएको छ ।
राखेपको प्राविधिक उपसमितिका अनुसार गण्डकी प्रदेशपछि विभागीय नेपाली सेनाका ६ सय ७३ खेलाडी सहभागी हुँदैछन् । यसैगरी सशस्त्र प्रहरीको एपिएफ क्लबले ५ सय २२, नेपाल प्रहरीले ४ सय ८८ र सुदूरपश्चिम प्रदेशले प्रतियोगिताका लागि ४ सय ३६ खेलाडीको नाम दर्ता गराएको छ ।
यसैगरी बागमती प्रदेशबाट ४ सय ३०, प्रदेश नं १ बाट ३ सय ७१, मधेस प्रदेशले २ सय ६२, कर्णाली प्रदेशले १ सय ९७, एनआरएनएले १ सय ३१ र लुम्बिनी प्रदेशबाट १ सय २३ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन् । –

