मकवानपुर । सरकारले आउँदो कात्तिक २ र ३ गते पाँच वर्ष मुनिका आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएकाे छ । हरेक वर्ष जस्तै यस वर्ष पनि सरकारले बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधि खुवाउने भएकाे हाे । आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सरकारले सर्वसाधरणमा अनुरोध समेत गरेको छ ।
स्वास्थ्य सेवा विभागले देशभरका ६ देखि ५९ महिनाका २७ लाख बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइने जनाएको छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै २०५६ बाट १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।

