काठमाडौँ । आगामी असार १ गतेदेखि कक्षा ११ को पठन पाठन सुरु हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशित भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु हुनेछ।
मकवानपुर । पर्यापर्यटनमा स्थानीय सरकारकाे भूमिकामा बहस सिर्जना गर्नेगरी आयाेजना गरिएको वक्तृत्वकलामा सुलोचन पराजुली प्रथम भएका छ ।
हेटौंडा उपमहानगरपालिका ११ नम्बरको आर्थिक सहयोगमा साहित्य संगम मकवानपुरले आयोजना गरेको प्रतियाेगितामा हेटौंडा ११ को हेटौंडा एकेडमीका छात्र पराजुली प्रथम भएका हुन् । प्रतियाेगितामा हेटौंडा १८ ज्योति माविकी छात्रा सुनिता भोम्जन द्वितीय तथा हेटौंडा ११ त्रिभुवन माविकी छात्रा पृज्मा शिवाकोटी तृतीय भए । प्रतियाेगिताबाट हेटौंडा ९ प्रगति माविकी छात्रा सदिक्षा नेपाल र बकैया गाउँपालिका बुद्ध माविकी छात्रा सुमिना दाहालले सान्त्वना पुरस्कार पाए ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रथम भएका पराजुलीले ७,५०० प्राप्त गरे । द्वितीयले ५,५०० तृतियले ३,५०० र सात्वना द्वयले जहनी १,५०० रुपैयाँ नगद सहित पुरस्कार प्रदान गरे ।
पर्यापर्यटनको सवालमा विद्यार्थीहरुको राय तथा बहस आगामी बजेट कार्यक्रममा समावेश गर्न आफूलाई परामर्श मिलेको वडा अध्यक्ष दाहालले बताइन् ।
साहित्यकार रमेशमोहन अधिकारी, पत्रकार तथा आँचल सहित्य कलापुञ्ज सह सचिव सरिता दाहाल, साहित्य संगम मकवानपुर उपाध्यक्ष मनोज पोख्रेलले प्रतियोगितामा निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा वडासदस्यद्वय गीता सुनार, गोपिनी सापकोटा, त्रिभुवन माविका विद्यालय व्यावस्थापन समितिका सदस्यद्वय गोबिन्दप्रसाद न्यौपाने, बद्री लम्साल , विद्यालयका प्र.अ. रामकुमार बर्तौला, सहायक प्र.अ. बैकुण्ठ नेपाल, शर्मिला ढकाल, सिस्नुपानी नेपालका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, साहित्यसेवी ठाकुराम भण्डारीलगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सवको आयव्यय तथा गतिविधि सार्वजनिक गरेको छ । विद्यालयले स्वर्ण महोत्सव अवधिमा कुल ४६ लाख ७१ हजार २४३ रुपैयाँ आम्दानी तथा ३३ लाख १३ हजार १०८ रुपैयाँ खर्च भएको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले बताए ।
बागमती प्रदेशका दुई ठूला विद्यालयमध्ये एक सिद्धार्थ माध्यमिक विद्यालय २०३२ साल माघ ८ गते तत्कालीन सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा स्थापना भएको थियो । “सिद्धार्थको आगामी दशक, प्रविधिमैत्री दक्ष शिक्षक” भन्ने मूल नारासहित २०८२ पुस २४ गतेदेखि माघ ८ गतेसम्म विद्यालयले स्वर्ण जयन्ती महोत्सव विभिन्न कार्यक्रम गरेको थियो।
स्वर्ण महोत्सवको तयारीका लागि हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति तथा ४० सदस्यीय सचिवालय गठन गरिएको थियो । सचिवालयको नियमित बैठकमार्फत आवश्यक कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
महोत्सवको अवसरमा विद्यालय भवन, सरस्वती मन्दिर तथा गेटहरूको रंगरोगन, चउर तथा चौतारा निर्माण, स्मारिका प्रकाशन, मायाको चिनो खरिद तथा स्वर्ण स्तम्भ निर्माणलगायतका पूर्वाधार निर्माणका काम सम्पन्न गरिएको थियो ।
महोत्सवअन्तर्गत पुस २४ र २५ गते सञ्चालन गरिएको दुईदिने आँखा शिविरमा ९४८ जना विद्यार्थी तथा शिक्षकको परीक्षण गरिएको थियो । जसमध्ये ५३ जनामा समस्या देखिएको विद्यालयले जनाएको छ । त्यसैगरी पुस २८ गते सम्पन्न दन्त शिविरमा ४५० जना विद्यार्थीको दाँत परीक्षण गरेको थियो ।
मकवानपुर । मकवानपुर हेटौंडामा ४ जना स्रष्टा सम्मानित हुने भएका छन् । मकवानपुरको साहित्यिक संस्था मातृभूमि साहित्य समाजले स्रष्टाहरु प्रदिप रोदन (गोरखा), राजकुमार लामिछाने (मकवानपुर), बासुदेव पाण्डेय ‘प्रभाकर’ (सुर्खेत) र स्वस्तिका बानियाँ (मकवानपुर) लाई सम्मान गर्न लागेकाे हाे ।
आगामी जेठ ९ गते शनिबार समाजले हेटौंडामा आयोजना गर्ने ‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा गजलकार प्रदीप रोदनलाई ‘राजकुमार स्मृति मातृभूमि सम्मान–२०८२’, साहित्यकार राजकुमार लामिछानेलाई ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान–२०८२’, छन्द कवि बासुदेव पाण्डेय ‘प्रभाकर’ लाई ‘होमनाथ बलदेवी छन्द साहित्य सम्मान–२०८२’ र स्वस्तिका बानियाँलाई ‘मंगलादेवी स्मृति मातृभूमि सम्मान–२०८२’ बाट सम्मानित गरिने सचिवकिशन पौडेलले बताउनु भयो ।
हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा शनिबार हुने ‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा सम्मानसहित अन्तरसंवाद र कार्यपत्र प्रस्तुतिसमेत रहने सचिव पौडेलले जानकारी दिनुभयो । उनका अनुसार उत्सवमा ‘नारी स्रष्टाको साहित्य सिर्जनामा पुरुष अभिव्यक्ति’ विषयक विशेष अन्तरसंवाद हुनेछ । बहसकर्ताहरू समालोचक चेतना शर्मा, अनिता कोईराला र उपन्यासकार कल्पना खरेल रहने अन्तरसंवादमा मकवानपुरका साहित्यकार डा. निमेष निखिलले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुनेछ ।
यसैगरी उत्सवमा दुईवटा महत्वपूर्ण कार्यपत्रहरू पनि प्रस्तुत गरिने । समालोचक डा. ज्ञानु अधिकारीले ‘साहित्यमा आध्यात्म दर्शन’ विषयमा प्रस्तुत गर्नुहुने कार्यपत्रमा अनिता कोईरालाले टिप्पणी गर्नुहुने कार्यक्रम रहेकाे पौडेलले जानकारी दिनुभयो । उनका अनुसार समालोचक घनश्याम घिमिरेले ‘साहित्यमा कृत्रिम बौद्धिकता’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने मकवानपुरका साहित्यकार डीबी बर्तौलाले टिप्पणी गर्नुहुनेछ ।
नेपाली भाषा, साहित्य तथा कलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं.२०५६ सालमा स्थापना भएको समाजले स्थापना कालदेखि नै विविध साहित्यिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिँदै आइरहेको बताइएकाे छ। साहित्य समाजले स्थापित तथा नवोदित प्रतिभाहरूलाई साहित्य, कला, सङ्गीत एवं सामाजिक सेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कार तथा सम्मान अर्पण गर्दै आएको छ।
मकवानपुर । किसानलाई तरकारी लगाएदेखि उपभाेगको लागि तयार हुँदासम्मको लागत उठाउन धौधौ छ । तर उपभोक्तालाई किनेर उपभोग गर्ने मुल्य दिनदिनै आकाशिदो छ ।
यसको उदाहरण हो अहिले मकवानपुरको थाहा नगरमा चलेको आलुको मुल्य । सस्तोमै आलु बेच्नु परेपछि मकवानपुरको थाहा नगरपालिकाका कृषक लगानी नै नउठ्ने चिन्तामा छन् । थाहा नगरपालिकाको दामन, पालुङ, बज्रवराही, चित्लाङका कृषक यतिबेला धमाधम आलु खन्न व्यस्त छन् । उत्पादित आलुको मूल्य अत्यन्त न्यून भएको उनीहरुको गुनासो छ । व्यापारीले खेतमै गएर कृषकबाट अहिले सेतो आलु प्रतिकेजी १० र रातो प्रतिकेजी १२ रुपैयाँमा खरिद गरिरहेका छन् ।
गत वर्ष खेतबाटै सेतो प्रतिकेजी २० र रातो २५ रुपैयाँ बिक्री गरेका थिए । ‘गत वर्षको आलुको उत्पादन पनि राम्रो थियो, भाउ पनि सुहाउँदो थियो, अहिले उत्पादन पनि घटेको छ, भाउ पनि छैन,’ थाहा–३ का कृषक मुरारी खत्रीले भने,‘बोट मरिसक्यो आलु खन्न परिहाल्यो, सुरक्षित भण्डारण गर्ने ठाँउ छैन, सस्तो भए पनि बिक्री गर्न परि गो ।’ वैशाखमा नियमितजसो पानी पर्दा डढुवा रोगले छिटै बोट मरेकाले आलुका दाना बढ्न नपाएको थाहा नगरपालिका कृषि शाखाकी प्रमुख बालकुमारी भट्टराईले बताइन् । यसपाली दाना सानो आकारका फलेको उनले बताइन् ।
आलु खरिद गर्न व्यापारीहरु तराजु लिएर खेतमै पुगेका छन् । आलु भण्डारण गर्ने व्यवस्था नहुँदा खेतबाटै सस्तो मूल्यमै बिक्री गर्न बाध्य रहेको नेपाल तरकारी व्यवसायी संघ उत्तरी क्षेत्र मकवानपुरका अध्यक्ष राजेन्द्र विडारी बताउँछन् । ‘१० रुपैयाँ किलोमा बेच्दा त लागत मूल्य पनि पाउन सकेका छैनन्,’ उनले भने,’यो वर्ष फलेको पनि कम छ । त्यसमै भाउ पाेहोर भन्दा आधा कम भयो ।’
बजारमा भारतीय आलु पनि सस्तो भएर आएकाले यहाँको उत्पादनले भाउ नपाएको अध्यक्ष विडारीले बताए । बेमौसमी तरकारी खेतीको पकेट क्षेत्रका रुपमा चिनिएको थाहामा आलु बढ्ने बेलामा बोटमै रोग लागेकाले उत्पादनसँगै दानाको आकार पनि घटेको थाहा–३ का कृषक सुदर्शन विष्टले बताए ।
१२ वडामा विभाजित थाहा नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत तरकारी खेती हो । सबैभन्दा बढी आम्दानीको हिस्सा ओगट्ने आलुको उत्पादन र मूल्यमा गिरावट आउँदा स्थानीयको आम्दानी नै प्रभावित हुने गर्छ । थाहाको ६ हजार ३ सय रोपनी जग्गामा आलु खेती गरिन्छ । गत वर्ष झण्डै ७ हजार टन आलु उत्पादन भएको थियो । वैशाखमा दैनिकजसो वर्षा भएकाले आलुबाहेक अन्य तरकारी उत्पादन र बिक्रीमा पनि समस्या भएको कृषि विकास शाखा प्रमुख भट्टराईले बताइन् ।
यहाँ उत्पादन हुने आलु काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, भरतपुरलगायत विभिन्न सहरमा बिक्री हुने गर्छ । थाहाले आलुबाटमात्र करिब ५७ देखि ६० लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । यहाँबाट निर्यात हुने आलुलगायत अन्य तरकारीमा ५२ वर्षदेखि स्थानीय कर लगाइदै आएको छ ।
२०३१ सालदेखिरुपचन्द्र विष्ट ‘थाहा’ले दामन र पालुङमा आलुमा कर लगाउन सुरु गरेका थिए । उक्त करबाट संकलन भएको रकम यस क्षेत्रको शैक्षिक विकास एवं भौतिक पूर्वाधारका लागि खर्च गरिँदै आएको थियो । उक्त कर अहिले नगरपालिकाले तोक्ने गरेको छ । यस क्षेत्रमा विसं २०१८ सालदेखि व्यावसायिक रुपमै आलु खेती सुरु गरिएको स्थानीयको भनाई छ ।
नीयले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव, कुखुरे ज्योती र साजिटा जातका आलुको बीउ लगाउने गरेका छन् । माघ पहिलो सातादेखि रोप्न सुरु गरेको आलु जेठमा गरिन्छ । तर, यसपाली वर्षाले डढुवा फैलिँदा चाँडै बिक्रि गरेका हुन् । इकान्तिुरको लागि पत्रकार प्रताप विष्टले लेख्नु भएको समाचार हामीले साभार गरेका हौं ।