मकवानपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतलगायतलाई धन्यवाद दिदै थपलियाले भने ‘आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षाहरू पूरा भएको छ’
‘‘हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,” जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको धन्यवाद ज्ञाप कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने ‘यस कारण हामीले निर्वाचनमा पद, पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गराएका छाैं ।’
निर्वाचनको सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास हेर्दा बाहिर देखिने भौतिक गतिविधि र हाम्रा यी सडकका भित्तामा भन्दा सामाजिक सञ्जालका भित्ताहरु अलि बढी रंगिन देखिने र विभिन्न कारणले निर्वाचनलाई दुषित पार्ने मनशाय बोकेका व्यक्तिहरूले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने देखिएकाले यसलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको समेत उनले बताए ।
‘अब भौतिक रुपमा वा सडकमा हुने कुरामा मात्र होइन सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न पाइँदैन भन्ने कुरा स्थापित भएको छ’ थपलियाले भने ‘निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको छ ।’
निर्वाचन अधिकृतहरूले काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन समेत उनले आग्रह गरे । प्रमुख आयुक्त थपलियाले आयोग वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैन भन्दै अब छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्था गर्न तयारी गरिरहेकाे बताए ।
मकवानपुर । दोलखा जिल्लाकाे १० मतदान केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तरगत पुनः मतदान भएकाे छ । विहीबार भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दाेलखाले जनाएकाे छ ।
जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियो । पुनः मतदान शान्तिपूर्ण रुपमा सम्मन्न भएकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेकाे बताइएकाे छ ।
पुनः मतदान भएकाे केन्द्रमा मङ्सिर ४ मा मतदान हुँदा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।
कूल एक लाख ६१ हजार ४ सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।
मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा अन्तरगत दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गते अर्थात् आज बिहीबार मतदान हुदैछ । निर्वाचन आयोगको मङ्सिर ११ गते बसेको बैठकले दाेलखा जिल्लाका १० मतदान केन्द्रमा मंसिर ४ गते मतदान हुन नसकेकाेले आज विहीबारलाई मतदानकाे मिति तय गरेकाे थियाे ।
आयाेगले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
आयाेगले उक्त मतदान केन्द्रमा मंसिर ४ गते भएकाे मतदान रद्द गरिएकाे ती मतदान केन्द्रहरुकाे मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज हुने निर्वाचनका लागि तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार मतदान हुने मतदान केन्द्रमा करिब आठ हजार मतदाता रहेका छन् ।
मकवानपुर । मकवानपुर बकैया गाउँपालिका ३ हात्तिसुडे स्थित धरानचतरा सडकखण्डमा हात्तिसुडेबाट श्रीपुर तर्फ जादै गरेको मोटरसाइकल दुर्घटना परि घाइते भएका श्याम लामाको मृत्यु भएको छ ।
प्रदेश २ ०३ ०१८प २५५७ न. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालिमा खसेको थियो । बकैया गाउंपालिका ५ श्रीपुरका स्थानीय ३० बर्षिया लामालाई गम्भिर घाईते अबस्थाबाट उद्दार गरि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याईएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शब अस्पतालमा राखिएको छ ।
मकवानपुर । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई खर्च विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने आयोगले जनाएको छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नु पर्नेछ।
विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ ।
निर्वाचन प्रचार–प्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्ने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधि सभा सदस्यका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ ।
राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने जानकारी गराउन सूचना प्रकाशन गर्ने र सोही बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन खर्चको विवरण संकलन गरी आयोगको IEIMS प्रणालीमा अभिलेख राखी सो सम्बन्धी कागजात सुरक्षित राख्न सबै प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशन समेत दिएको छ ।