मकवानपुर । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई खर्च विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने आयोगले जनाएको छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नु पर्नेछ।
विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ ।
निर्वाचन प्रचार–प्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्ने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधि सभा सदस्यका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ ।
राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने जानकारी गराउन सूचना प्रकाशन गर्ने र सोही बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन खर्चको विवरण संकलन गरी आयोगको IEIMS प्रणालीमा अभिलेख राखी सो सम्बन्धी कागजात सुरक्षित राख्न सबै प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशन समेत दिएको छ ।

