मकवानपुर । प्रतिनिधि सभा सभामुख चयनका लागि आज बिहीबार निर्वाचन हुने भएको छ । संघीय संसद् भवनमा बिहान ११ बजेदेखि सभामुख चयनको लागि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
सभामुख पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेबाट सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छन् । समानुपातिक सांसद न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
सभामुखमा निर्वाचित हुन कम्तीमा १ सय ३८ मत ल्याउनुपर्छ। राजनीतिक समीकरणमा रातारात कुनै नाटकीय हेरफेर नभएमा नेकपा एमालेका नेता घिमिरे प्रतिनिधिसभाको सभामुख बन्ने निश्चित भएको छ ।
सत्ता साझेदार दलहरुको मत नै घिमिरे सभामुख बन्न पर्याप्त छ । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरि २ सय ७५ जना सांसद छन्। प्रतिनिधिसभामा एमाले ७९, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ र जनमत पार्टीसँग ६ सांसद छन्। यो भनेको सभामुख निर्वाचित हुन बहुमत भन्दा बढी हो ।
यसमा जनता समाजवादी पार्टी (जसपा) को १२, नागरिक उन्मुक्ति पार्टीको ३ र स्वतन्त्र सांसदहरुको मत थपिन सक्ने बताईएको छ ।

मकवानपुर । बागमती प्रदेशसभाकाे आज बस्ने छैटौ बैठकमा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा रहेका ११० सांसद मध्ये ७० जना सांसदको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री चयन भएका हुन् ।
बागमती प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाेले संविधानको धारा १८६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएको जम्कट्टेलले नियुक्ति भएकाे एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गत पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले पुष २६ गते पद तथा गाेपनियताकाे सपथ लिएका थिए ।
नेकपा एमाले नेकपा माओवादी केन्द्र राप्रपा नेकपा समाजवादी र हाम्राे नेपाली पार्टीसहित ५ दलको समर्थमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत आउँदा ६९ मत आउने अपेक्षा गरिएकाे छ । राप्रपाका समानुपातिक सांसद भुवन कुमार पाठक सभामुख चयन भएकाले उनले मतदान प्रक्रियामा भाग लिन र मत दिन नपाउने व्यवस्था छ ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई विश्वासको मत दिन आग्रह समेत गरेका छन् । एकाएक भत्किएकाे चुनावी गठबन्धन पछी बनेकाे नयाँ सत्ता समिकरणमा पहिलाे दल काँग्रेस बाहिर रहेकाे अवस्था छ । तर संघिय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसले समेत विश्वासकाे मत दिएकाेले बागमती प्रदेश सभामा समेत काँग्रेसले विश्वासकाे मत दिन सक्ने बताइएकाे छ ।
तर प्रदेशसभाको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले सत्तारुढ दलहरुसंग सभामुख पद माग गरेकाे थियो । तर, केन्द्रीय सत्ता समिकरणमा राप्रपाको भागमा परेको सभामुख नपाएपछी कांग्रेसले विश्वासको मत नदिने अठोट गरेको काँग्रेसका एक नेता बताउँछन् । तर, मुख्यमन्त्री जम्कट्टेललाई विश्वासकाे मत दिने नदिने विषयमा कांग्रेस संसदीय दलको बैठक आज बिहान संसदीय दलको कार्यालयमा बस्ने काँग्रेस सांसद बताउँछन् ।
आज दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा जम्कट्टेलले विश्वासकाे मत दिन लागेका हुन । उनी नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसद गरि ७० जनाको समर्थनमा मुख्यमन्त्री चयन भएका हुन ।
मकवानपुर । बागमती प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ ।
बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको हो । प्रदेशको सोमबारको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त अध्यादेशलाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश निजामति सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय सेवा गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।
यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।
आजैको दोस्रो बैठकले आइतबार भएको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरू प्रती शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक भोलि सांढे १२ बजे बस्ने छ ।
मकवानपुर । बागमती प्रदेशसभाकोे उपसभामुखमा अप्सरा चापागाई खत्री निर्वाचित भएकी छन। सोमबार प्रदेशसभामा भएको उपसभामुखको निर्वाचनमा खत्री निर्वाचित भएकी हुन ।
उनले नेकपा एमाले, नेकपा माओेबादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरु समेतको गरी ६१ मत प्राप्त गरी विजयी भएकी हुन । ११० सदस्यीय प्रदेशसभामा मतदानका क्रममा १०८ जना सांसद उपस्थित थिए । खत्रीको विपक्षमा ३९ सांसदले मतदान गरे भने ७ सांसद तटस्थमा रहेका थिए ।
यसअघि भएको मतदानको विभाजनमा प्रदेशको उपसभामुख पदका उम्मेद्वार नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले जम्मा ३ मत प्राप्त गरिन् । उनको विपक्षमा ६१ सांसदले मतदान गरे भने र तटस्थमा ४४ सांसद रहेका छन् ।
एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक रहेका थिए । ललितपुरकी खत्री नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभामा निर्वाचित भएकी हुन ।
उपसभामुखमा नेपाली कांग्रेसकी सोना परियार, नेपाल मजदुर किसान पार्टीकी रीता काफ्ले र एमालेकी अप्सरा चापागाईं खत्रीले उम्मेदवारी दर्ता गराएका थिए । उपसभामुख पदको निर्वाचनको लागि तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा दुई जनाबीच मात्रै प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सुना परियारको भने उपसभामुखमा निर्वाचन भएन ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र प्रदेश सभाका सदस्यहरु आफूहरु मध्ये सभामुख र उपसभामुख चयन गर्नु पर्ने संबैधानिक ब्यबस्था रहेको छ । प्रदेश सभाको पहिलो बैठक पुष १८ गते बसेको थियो ।
यस अघि पुष २९ गते प्रदेश सभामुखमा राप्रपाका भुवन कुमार पाठक निर्वाचित भएका छन । सभामुख पाठकको अध्यक्षतामा बसेको प्रदेश सभाको चौथो बैठकले उपसभामुख चयन गरेको हो ।