मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज दिउँसो बस्दैछ ।
बैठक अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो । आजको बैठकमा प्रदेशको आर्थिक मामिला मन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०।८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो । नीति तथा कार्यक्रममा अत्यावश्यक कार्यक्रमहरु छुटाएको भन्दै प्रमुख प्रतिपक्ष रुष्ट छ ।
मकवानपुरबाट बिदा भयो प्लान, फेरी घरदैलोमा आउन माग
Tags: No Comments
मकवानपुर । बालकेन्द्रित सामुदायिक विकास परियोजना सञ्चालन गर्दै आएको प्लान इन्टरनेशनल मकवानपुरबाट बिदा भएको छ । प्लानको बालकेन्द्रित सामुदायिक विकास परियोजना दोस्रो चरण समापन कार्यक्रममा लाभग्राहीहरुले प्लान बिदा नभएर अर्को पाटोको कार्यक्रम लिएर घरदैलोमा आउन माग गरेका छन् ।
प्लानले मकवानपुरको सबै स्थानीय तहहरुमा बालकेन्द्रित सामुदायिक विकासमा टेवा दिंदै आएको थियो । संस्थाले मकवानपुरको गाउँपालिकाहरुमा विद्यालयहरूमा प्राथमिक कक्षाका लागि नमुना कक्षाहरू नमुना कक्षाकोठाको रूपमा विकास गरि भौतिक सुविधाहरू र शैक्षिक सामग्रीहरूको व्यवस्थापन गरेको थियो ।

यसक्रममा २५ वटाभन्दाबढी विद्यालय कक्षा कोठा मर्मत र २२४ वटा भन्दा बढी नमुना कक्षा विकासमा प्रत्यक्ष सहयोग गरेको थियो । शिक्षक, समिति, र छात्रहरूका लागि सकारात्मक आचरणको प्रोत्साहन गर्न र भेदभाव हटाउन, समावेशी विद्यालय वातावरण सिर्जना गर्ने तालिम कार्यक्रमहरू संचालन गरेको थियो । विद्यालय भवन, शौचालय, घेराबारा निर्माण, विज्ञान प्रयोगशाला स्थापना, पुराना भवनहरू मर्मत, र किशोरीको महिनावारीलाई केन्द्रित गर्दै आवश्यक उपकरणहरू सहित विश्राम कोठाको विकास गरेको थियो । बाल मैत्री वडा तथा स्थानीय तह घोषणामा सहयोग, हिंसा प्रभावित बालबालिकाको परिवारलाई सहयोग गरेको थियो ।
यसैगरी विद्यालयमा बाल संरक्षण नीतिको निर्माणमा सहयोग, विभिन्न स्थानीय तहहरुमा दर्जनौ खानेपाली योजना निर्माण र उपभोक्ता समितिलाइ तालिम दिएको थियो । पानीको उपलब्धतामा समस्या रहेको स्थानमा वैकल्पिक खानेपानीकोलागि वर्षदको पानी संकलन (घैटा) निर्माणमा समेत सहयोग गरेको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देबकृष्ण पुडासैनीले बताए ।
यसैगरी बर्थिङ सेन्टरको जीर्णोद्धार र निर्माण र प्रसुती केन्द्रमा उपकरण सहयोग, पूर्ण खोप घोषणा प्रक्रियामा सहयोग गरेको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

“प्लानले शिक्षा खानेपानी तथा सरसफाइमा गरेको योगदान धेरै राम्रो छ” मनहारी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भने “कोभिडको समयमा मनहरी गाउँपालिकामा मात्रै १४० विद्यालय छात्रालाइ सरसफाइ तथा स्वच्छता किट सहयोग र ९८ परिवारलाइ खानेपनी शुद्धिकरण फिल्टर सहयोग गरेको थियो ।” अपाङ्गता भएका बालबालिकालाई सहयोगी उपकरण सहयोगमा समेत प्लानको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
व्यवसायिक मौरी पालन, रेश्म खेती, बाख्रा पालनमा समेत सहयोग गरेर आत्मनिर्भरताको लागि योगदान गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
प्लान इन्टरनेशनलको राष्ट्रिय निर्देशक राम किसनको सभाध्यक्षतामा भएको परियोजना समापन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरमा सभापति ललित घलानले आफैं पनि प्लानको उत्पादन भएको स्मरण गर्दैै व्यक्तिको व्यक्तित्व विकास देखि शिक्षा स्वास्थ्यको सवालमा अत महत्वपूर्ण काम गरेको बताए । कार्यक्रममा हेटौंडा नगर प्रमुख मिना कुमारी लामा, बकैया गाउंपालिका अध्यक्ष धर्मराज लामिछानेलगायतले कार्यक्रमको प्रभावकारीता बारे चर्चा गरेका थिए ।
प्लानले शिक्षा नेतृत्व र निर्णय, बालबालिकाको संरक्षण,प्रारम्भिक बाल विकास,स्वास्थ्य खानेपानी तथा सरसफाई, जस्ता क्षेत्रमा काम गरेको राष्ट्रिय निर्देशक राम किसनले बताए । संस्थाको काम र प्रत्यक्ष सहभागीता नहुने भएपनि संभावनाका ढोकाहरु र अवसरहरु सधैं रहनेमा सकारात्मक हुन उनले आग्रह गरे ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ ।
पूर्वबाल लडाकुसहितले प्रधानमन्त्री प्रचण्ड र डा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि उनको राजीनामा मागिएको हो ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नैतिकताका आधारमा पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने भन्दै उनले तत्काल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर अदालतलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।
‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा हाजिर हुन भनेर तारेख पर्चा पनि काटिसकेको छ। म यहाँ सोध्न चाहन्छु– ३० गते प्रधानमन्त्री अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्ड भएर ? युद्ध अपराधको मुद्दामा अदालतमा जाने कुरा.. यो देशले अपराध गरेको होइन ? व्यक्तिले गरेको हो ? त्यो भएर, म सम्मानीय सभामुखमार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन,’ सांसद शाहीले भने ।
शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका माधव सापकोटाले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरी यी कुराहरू राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई एकोहोरो गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँले बोलेको कुरा रेकर्डबाट हटाइयोस्,’ सांसद सापकोटाले भने । यसपछि सभामुख देवराज घिमिरेले दुवै सदस्यको भनाइप्रति ध्यानाकर्षण भएको भन्दै बैठक अघि बढाए । राजधानीडेली डटकम बाट
मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्ताैलाले लोकतन्त्र विरोधी कार्यक्रम समावेश भएकाेले बजेटकाे विराेध गरिएकाे बताएका छन् । आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासामा सचेतक बर्तौलाले बजेटमार्फत सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने, किसानको हित विपरीत राष्ट्रिय दुग्ध बोर्ड खारेज गर्ने निर्णय लिएको भन्दै आपत्तिसमेत जनाए ।
सत्तारूढ दलहरू स्वयम् सन्तुष्ट नरहेकाले त्याे बजेट फिर्ता गरी सांसदहरूले दिएको सुझावको आधारमा सरकारले नयाँ बजेट ल्याउनुपर्ने संचारकर्मीलाई प्रतिक्रिया दिए । ‘जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन मातहतमा इकाई रहने गरी राख्ने सरकारको निर्णयले चुनाव निष्पक्ष हुन्छ भन्न सकिन्नँ’ बर्तौलाले भने ‘अनावश्यक संस्थाहरू खारेज गरेर किसानकाे लागि आवश्यक संस्थाहरु स्थापना गर्नु पर्छ ।’
‘किसानले वार्षिक २६ लाख मेट्रिक टन दूध उत्पादन गर्छन्, ३५ हजार किसान प्रत्यक्ष रोजगारीमा जोडिएका छन्, प्रत्येक दिन छ करोड रुपैयाँ सहरबाट गाउँ जान्छ । यस्तो काम गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डलाई खारेज गर्ने निर्णय गरिएको छ । यो बेठिक छ उनले भने ।’ सरकार पक्ष स्वयम् पनि यो बजेटबाट सन्तुष्ट छैन । त्यस कारण यो बजेट फिर्ता लिनु पर्ने उनकाे धारणा थियाे ।
सचेतक बर्तौलाले प्रधानमन्त्री, मन्त्री र सत्तारूढ दलका केही नेतालाई केन्द्रित गरेर बजेट विनियोजन गरिएको आरोप लगाउँदै भने हाम्रा सुझावहरूलाई समेटेर बजेट ल्याउनु पर्छ अन्यथा बजेटलाई समर्थन गर्न सकिदैन ।
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले पत्रकार उज्वल अधिकारी र निशा गुरुङलाई सम्मान गरेको छ ।
चौतारीकाे शनिबार भएकाे वार्षिक साधारणसभामा गुरुङलाई सिर्जनशील पत्रकारिता पुरस्कार तथा चौतारीका पूर्वकेन्द्रीय सदस्य अधिकारीलाई प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता पुरस्कारबाट नगर सहित सम्मान गरिएकाे हाे ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले गुरुङ र अधिकारीलाई पुरस्कार सहित सम्मान गरेका थिए ।
यसैगरी, चौतारी मकवानपुरले रिक्त रहेको उपाध्यक्ष पद (महिला)मा सुनिता विष्ट, सहसचिव (समावेशी) मा मनिता राना, सदस्यहरुमा अशोक बजगार्ई, स्मिता अर्याल, भुवन थापा र अम्बिका बस्नेतलाई मनोनीत गरेको छ ।
साधारणसभाको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नराम्रा कामहरुको पत्रकारहरुले भण्डाफोर गर्नुपर्ने बताए । यसैगरी प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले पत्रकार महासंघले सुद्धीकरणका नाममा क्रियाशील पत्रकारलाई हटाएमा आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने बताए ।
चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा चौतारीका केन्द्रीय महासचिव लामा, सचिव विष्णु तारुके, बागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, केन्द्रीय सदस्य हरि हुमागाईं, प्रदेश महासचिव प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो ।