मकवानपुर । बालकेन्द्रित सामुदायिक विकास परियोजना सञ्चालन गर्दै आएको प्लान इन्टरनेशनल मकवानपुरबाट बिदा भएको छ । प्लानको बालकेन्द्रित सामुदायिक विकास परियोजना दोस्रो चरण समापन कार्यक्रममा लाभग्राहीहरुले प्लान बिदा नभएर अर्को पाटोको कार्यक्रम लिएर घरदैलोमा आउन माग गरेका छन् ।
प्लानले मकवानपुरको सबै स्थानीय तहहरुमा बालकेन्द्रित सामुदायिक विकासमा टेवा दिंदै आएको थियो । संस्थाले मकवानपुरको गाउँपालिकाहरुमा विद्यालयहरूमा प्राथमिक कक्षाका लागि नमुना कक्षाहरू नमुना कक्षाकोठाको रूपमा विकास गरि भौतिक सुविधाहरू र शैक्षिक सामग्रीहरूको व्यवस्थापन गरेको थियो ।

यसक्रममा २५ वटाभन्दाबढी विद्यालय कक्षा कोठा मर्मत र २२४ वटा भन्दा बढी नमुना कक्षा विकासमा प्रत्यक्ष सहयोग गरेको थियो । शिक्षक, समिति, र छात्रहरूका लागि सकारात्मक आचरणको प्रोत्साहन गर्न र भेदभाव हटाउन, समावेशी विद्यालय वातावरण सिर्जना गर्ने तालिम कार्यक्रमहरू संचालन गरेको थियो । विद्यालय भवन, शौचालय, घेराबारा निर्माण, विज्ञान प्रयोगशाला स्थापना, पुराना भवनहरू मर्मत, र किशोरीको महिनावारीलाई केन्द्रित गर्दै आवश्यक उपकरणहरू सहित विश्राम कोठाको विकास गरेको थियो । बाल मैत्री वडा तथा स्थानीय तह घोषणामा सहयोग, हिंसा प्रभावित बालबालिकाको परिवारलाई सहयोग गरेको थियो ।
यसैगरी विद्यालयमा बाल संरक्षण नीतिको निर्माणमा सहयोग, विभिन्न स्थानीय तहहरुमा दर्जनौ खानेपाली योजना निर्माण र उपभोक्ता समितिलाइ तालिम दिएको थियो । पानीको उपलब्धतामा समस्या रहेको स्थानमा वैकल्पिक खानेपानीकोलागि वर्षदको पानी संकलन (घैटा) निर्माणमा समेत सहयोग गरेको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देबकृष्ण पुडासैनीले बताए ।
यसैगरी बर्थिङ सेन्टरको जीर्णोद्धार र निर्माण र प्रसुती केन्द्रमा उपकरण सहयोग, पूर्ण खोप घोषणा प्रक्रियामा सहयोग गरेको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

“प्लानले शिक्षा खानेपानी तथा सरसफाइमा गरेको योगदान धेरै राम्रो छ” मनहारी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भने “कोभिडको समयमा मनहरी गाउँपालिकामा मात्रै १४० विद्यालय छात्रालाइ सरसफाइ तथा स्वच्छता किट सहयोग र ९८ परिवारलाइ खानेपनी शुद्धिकरण फिल्टर सहयोग गरेको थियो ।” अपाङ्गता भएका बालबालिकालाई सहयोगी उपकरण सहयोगमा समेत प्लानको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
व्यवसायिक मौरी पालन, रेश्म खेती, बाख्रा पालनमा समेत सहयोग गरेर आत्मनिर्भरताको लागि योगदान गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
प्लान इन्टरनेशनलको राष्ट्रिय निर्देशक राम किसनको सभाध्यक्षतामा भएको परियोजना समापन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरमा सभापति ललित घलानले आफैं पनि प्लानको उत्पादन भएको स्मरण गर्दैै व्यक्तिको व्यक्तित्व विकास देखि शिक्षा स्वास्थ्यको सवालमा अत महत्वपूर्ण काम गरेको बताए । कार्यक्रममा हेटौंडा नगर प्रमुख मिना कुमारी लामा, बकैया गाउंपालिका अध्यक्ष धर्मराज लामिछानेलगायतले कार्यक्रमको प्रभावकारीता बारे चर्चा गरेका थिए ।
प्लानले शिक्षा नेतृत्व र निर्णय, बालबालिकाको संरक्षण,प्रारम्भिक बाल विकास,स्वास्थ्य खानेपानी तथा सरसफाई, जस्ता क्षेत्रमा काम गरेको राष्ट्रिय निर्देशक राम किसनले बताए । संस्थाको काम र प्रत्यक्ष सहभागीता नहुने भएपनि संभावनाका ढोकाहरु र अवसरहरु सधैं रहनेमा सकारात्मक हुन उनले आग्रह गरे ।

