मकवानपुर । राष्ट्रिय सभा निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचार प्रसार गर्न नपाइने भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनको आज मध्यरातिदेखि प्रचार प्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
आयोगका अनुसार, मतदान सम्पन्न नभएसम्मका लागि दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार तथा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठीसहितका कार्यक्रम गर्न पाइदैन ।
त्यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न तथा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोष्ट वा शेयर गर्न नपाइने आयोगले जनाएको छ । राष्ट्रियसभामा फागुनबाट रिक्त हुने १९ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो । १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुने छन् । यसैबीच, आयोगले निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था सहित सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा बागमती गोल्डकप हुने भएकाे छ । छैठौं संस्करणको बागमती गोल्डकप आगामी फागुन १ गतेदेखि सुरु हुने आयोजक बागमती खेलकुद विकास समितिले जानकारी दिएको हो ।
सोमबार गाउँपालिकामा पत्रकार भेटघाटमा आयोजना गर्दै बागमती गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले गोल्डकपमा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने जानकारी दिए ।
बागमती–८ स्थित जनता माविको खेलमैदानमा फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताकाे विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।
बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेकाे थियाे । दोस्रो संस्करणकाे उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेकाे थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले हात पारेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिका भएकाे थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता नजनाउने अध्यक्ष श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका–३, का वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको सहभागिता रहेको थियो ।
मकवानपुर। संगीतमय बन्दै गएको नेपाली सांगीतिक बजारमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेकाे छ । कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
यसैक्रममा ‘यो सोझो पल्कियो’ गीत सार्वजनिक भएको छ । उषा गजुरेलको युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा किरण गजमेर र उषा गजुरेलको स्वर रहेको छ । लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लकाे शब्द तथा संगीत रहेकाे गीतको भिडियोलाई मनोज राजभण्डारीको निर्देशन गरेका छन् ।
सुरेश पाण्डेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन, मनोज राजभण्डारीको सम्पादन र मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको भिडियाेमा नेपाली चलचित्रका नायक पल शाह र एरोना मल्लको अभिनय रहेको छ । भिडियाेकाे प्राेडुसर दिपेन्द्र राइ र कुमार खत्री रहेका छन् ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका २ जना अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
भीमफेदी गाउँपालिकाकाे १ जना जन्मजात पूर्ण शारीरिक अपाङ्गता भएका र १ जना मानसिक अपाङ्गता भएकालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरमै नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्राप्त गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपाका बिर्खबहादुर थिङको २० वर्षीया छोरी सुनिता थिङ र १६ वर्षीय छोरा सुरेन्द्र थिङ रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नायव सुब्बा सहदेब आचार्य र अस्विनी कुमार अर्यालको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
थिङ दिदीभाइलाई बस्न र खाना खानको लागि समेत अरुको सहारा चाहिने र हिँडडुल गर्न नसक्ने भएकाेले बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान पहल तथा गाउँपालिकाले प्रशासन कार्यालयसँग समन्वय गरी नागरिकता घरमै हस्तान्तरण गरिएकाे भीमफेदी ३ नम्बर वडा अध्यक्ष प्रितिलाल लामाले बताए ।
आर्थिक अवस्था कमजोर रहेका दुर्खा बहादुरले छोरा छोरीको नागरिकता बनेपछि खुशी ब्यक्त गरे । ‘आर्थिक नहुँदा लालनपालनमा समस्या छ, नागरिकता बनेपछि भने अपाङ्ग भक्ता पाउने आशा गरेको छु’, दुर्खा बहादुर भने, ‘सरकारबाट केही रकम सहयाेग भए धेरै सजिलो हुनेथियो ।’
© भट्टराई माधवप्रसाद
आँसु खस्यो, गला रुक्यो तिमी गएपछि ।
ओठ,तालु सबै सुक्यो तिमी गएपछि ।
पुर्याउन लैजाऊ भन्यौ मिर्मिरे मै बाटोतिर,
सुमो चढ्यौ, मुटु दुख्यो तिमी गएपछि।
कहिल्यै पनि ओझेल हुन्न तिमीबाट भन्थें,
बाचा, कसम सबै चुक्यो तिमी गएपछि ।
सामुन्नेमा देखा पर्दा आहा भन्नेहरुले नै,
मेरै कुरा काट्दै भुक्यो तिमी गएपछि ।
श्रीमतीलाई दासी सम्झी शासन गर्नेले त,
आकाशतिर फर्की थुक्यो तिमी गएपछि ।
तिम्रो लक्ष्य पूरा गर्न जे जे गरें, जसो गरें,
गौरवले छाती फुक्यो तिमी गएपछि।
सुर्योदय–१३, लक्ष्मीपुर,इलाम