मकवानपुर । मकवानपुरको मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६, सुनादेवीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक चितवन माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहीबार साँझ चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्र ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक चेपाङ घाइते भएका थिए ।
चेपाङलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा विहीबार नै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालक फरार रहेकोमा खोजी कार्य भइरहेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा निर्माण व्यवसायीहरुका लागि दुई दिने व्यवस्थापन तालिम आयोजना गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा तथा निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा विहीबारबाट सुरुभएको तालिममा निर्माणसम्बन्धी व्यवस्थापनका विषयमा प्रशिक्षण दिइने भएको छ ।
तालिमको शुभारम्भमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले निर्माण व्यवस्थापनसम्बन्धी अनुभवको अभावमा निर्माण व्यवसायमा विभिन्न समस्या आउने गरेका बताए । निर्माण व्यवसायमा आउने समस्या समाधानकाे लागि निर्माण व्यवसायीमा व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक भएको बताए । कंडेलले कुनै पनि योजना निर्माणका विभिन्न चरणमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण हुने भएकोले तालिमको आयोजना गरिएको भन्दै निर्माण व्यवसायीलाई आफूले लिएको काम समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न आग्रह समेत गरे ।
तालिममा बिमा, निर्माणको कामको प्रगति, भुक्तानीलगायतका निर्माण व्यवस्थापनका बारेमा ईन्जिनियर घनश्याम गौतमले प्रशिक्षण दिएका छन् । तालिममा करिब ६० जना निर्माण व्यवसायीको सहभागिता रहेको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले मुक्तक वाचनकाे १३ औं श्रृङ्खला आयाेजना गरेकाे छ । विहीबार मञ्च मकवानपुरले मुक्तक वाचन शृङ्खला आयोजना गरी मुक्तक दिवस मनाएकाे हाे ।
हरेक वर्ष माघ १८ गते मुक्तक दिवस मनाउने मुक्तक मञ्च केन्द्रीय समितिले निर्णय गरे बमाेजिम विहीबार पहिलाे मुक्तक दिवस मनाइएकाे हाे । हेटौडामा आयोजित कार्यक्रममा मसान उपासक, अजिता ओझा, सानु खनाल,किसन पौडेल, विष्णु गौतम, वैकुण्ठ लामिछाने, मिथिला अधिकारी,मनाेज पाेखरेल, सुभाष सजललगायत एक दर्शनभन्दा बढीले मुक्तक वाचन गरेका थिए । कार्यक्रममा मुना अर्याल, मुक्तिगाेविन्द वैद्य, राजकुमार लामिछाने मधु ढुंगानालगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी माघ २७ गते मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम हुने मञ्च अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उक्त दिन पोखराका मुक्तककार दीपक समीप,रौतहटका हरिकृष्ण काफ्ले र मकवानपुरका बिर्खे अन्जान सम्मानित गर्ने कार्यक्रम रहेको उनले बताए ।
मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका सल्लाहकार ह्याग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

राष्ट्रिय मुक्तक पुरस्कार उषा शेरचनलाई
यसैगरी यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार उषा शेरचनलाई प्रदान गरिने भएकाे छ । नेपाली मुक्तक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएकी कवि, गीतकार तथा मुक्तककार शेरचरलाई उक्त पुरस्कारबाट सम्मानित गरिने भएकाे हाे ।
मुक्तक दिवसको अवसरमा शुक्रवार पोखरामा आयोजित समारोहमा मुक्तक मञ्च पोखराले शेरचनलाई ३३ हजार ३ सय ३३ नगद राशीकाे पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
![]()
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले पेट्रोल,डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाउने निर्णय गरेको हो ।
निगमको निर्णयसंगै पेट्रोल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ ।
बुधबार मध्यरातिदेखि नै लागू हुने गरि मूल्य बढेको निगमले जनाएको छ।
मकवानपुर । पध्मप्रसाद – कृष्णाकुमारी दाहाल सामाजिक सम्मान – २०८० बिराट साहित्य संगमला२ प्रदान गरिने भएकाे छ । दाहाल प्रतिष्ठान अन्तर्गत स्थापित पध्मप्रसाद – कृष्णाकुमारी दाहाल स्मृतिकोषबाट प्रदान गरिने उक्त सम्मान यस बिराट साहित्य संगम, विराटनगरलाई प्रदान गरिने प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गरी जनाएकाे छ ।
विगत दुई दशकदेखि निरन्तर रूपमा साहित्यिक गतिविधिलाई निरन्तता दिइरहेको विराट साहित्य संगमले सयौं लेखक कविहरुलाई दिक्षित तुल्याएको छ । राष्ट्रिय अन्तराष्ट्रिय स्तरका साहित्यिक संगोष्ठीको आयोजना गरी नेपाली वाङमयलाई अन्तराष्ट्रिय स्तरमा परिचित गराएको तथा साहित्यिक मासिक पत्रिकाको नियमित प्रकाशन गर्दै आइरहेकोले संस्थालाई प्रोत्साहन गर्न सम्मान प्रदान गरिने भएको महासचिव सूर्यकुमार दाहालद्वारा जारी विज्ञप्तिमा छ ।
बिराटनगर निवासी बद्रीप्रसाद पहाडीले आफ्ना मातापिताको स्मृतिमा दश लाख रुपैयाको स्थापना गरेकाे अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट उक्त सम्मान प्रदान गर्ने निर्णय भएयकाे कोष संचालक समितिले जानकारी दिएकाे छ । गत बर्षबाट प्रदान गर्न थालिएकाे उक्त सम्मानबाट पाणिनी संस्कृत बिद्यालय विराटनगर सम्मानित भइसकेको दाहालले बताए । दाहालका अनुसार केही स्रष्टाहरु पनि पुरस्कृत एवं सम्मानित भएका थिए ।