मकवानपुरको अतिदुर्गम राक्सिराङ गाउँपालिका–४ चैनपुरमा २०४२ सालमा रूपचन्द्र विष्ट (थाहा) ले एउटा सभा आयोजना गरे । सभामा उपस्थित भीडलाई नमस्ते गर्दै एक जनालाई अगाडि बोलाए । चारऔंले लगौंटी मात्र लगाएका, जाबी झोला भिरेका एक पुरुष संकोच मान्दै उनी अघिल्तिर पुगे । जब विष्टले उनलाई सभापतित्व गराए, त्यसबेला उनी आत्तिएजस्ता देखिएका थिए ।
करिब साढे एक घण्टा सञ्चालन भएको सभा सकियो भनेर उनैले विसर्जन गरे । उनी थिए— मैते चेपाङ । त्यही दिनपछि उनी गाउँको थाहा अभियानका प्रचारक मात्र बनेनन्, अन्याय र अत्याचारविरुद्ध बोल्न थाले । चेपाङ अहिले जीवित छैनन्, तर उक्त क्षेत्रका चेपाङमा जागरण भर्न उनले पुर्याएको योगदानको अझै पनि चर्चा हुने गर्छ । विष्ट २०३८ सालको चुनावमा गाउँ घुम्ने क्रममा साबिक सरिखेत गाविसको भावरमा पुगेका थिए । त्यहाँ एक तामाङनी दिदीलाई मल बोक्न सघाए । दिदीले मकै भुटेर खुवाइन्, उनले २० डोका मल बोके । विष्टले त्यतिबेला भावरमा जम्मा भएका स्थानीयलाई भनेका थिए, ‘उनले मलाई मकै भुटेर खुवाइन्, मैले मल बोकिदिएँ बराबरी भयो ।’ जनप्रतिनिधि भएर विष्टले जनतासँग गरेका सद्व्यवहारका यी केही प्रतिनिधि घटना हुन् ।
विष्टकै चिन्तन र सोचको विकसित रूप हो, अहिलेको थाहा नगरपालिका । यहाँका बासिन्दालाई उनी विचारले खँदिलो, शारीरिक रूपमा स्वस्थ मात्र होइन, आर्थिक तथा शैक्षिक रूपले सबल बनाउन चाहन्थे । यस क्षेत्रमा तास–जुवा खेल्नेलाई कठोर सजाय दिन्थे । विष्ट आएपछि जुवाडेहरूको भागभाग हुन्थ्यो । गाउँका जाली फटाहा र समाज विरोधीहरू उनका सामु एकछिन टिक्न सक्दैनथे । उनी अन्याय र अत्याचारका विरुद्ध जीवनपर्यन्त जुधिरहेका योद्धामात्र होइनन्, सामाजिक परिवर्तनका संवाहक पनि हुन् । उनका सहयात्री अक्कलबहादुर केसी विष्टलाई ‘अर्गानिक नेता’ भन्न रुचाउँछन् ।
निर्वाचनमा पर्चा बिक्री गर्ने, पोस्टर ननिकाल्ने र जनताकै बलमा चुनाव लड्ने गरेको उनी स्मरण गर्छन् । सिद्धान्तलाई जनताको बोली, व्यवहार, विचारको कसीमा तौलेर जनहितका खातिर क्रान्तिको आगोमा जल्नेहरू विरलै जन्मिन्छन् । केही यस्ता महान् हुन्छन्, ती व्यक्तिको इतिहास षड्यन्त्रस्वरूप वा आफैं पनि मेटिन सक्दैन । त्यस्तै, एक क्रान्तिकारी युगपुरुष हुन् विष्ट । विष्टको निधन भएको साढे दुई दशक पुग्यो । २०५६ असार ७ गते काठमाडौंको वीर अस्पतालमा उनको निधन भएको थियो । उनकै स्मरणमा साबिक ६ वटा गाविस मिलाएर थाहा नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाले उनको जन्मजयन्तीका अवसरमा असार ७ मा सार्वजनिक बिदा दिएको छ ।
तीसको दशकको सुरुमा उनले चलाएको ‘थाहा’ आन्दोलनको मुख्य सार नै थियो— निष्पक्ष सक्रियताको अभ्यास । निष्पक्ष भएपछि सक्रिय रहन कठिन रहने उनको तर्क थियो । पक्ष भएर काम गर्न सजिलो र सरल हुन्छ तर त्यसले विवेक गुमाउँछ भन्थे उनी । कुनै दलसँग आबद्ध नरहेका विष्ट आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष ढंगले व्यवहार गर्थे । सबैसँग एकनासको व्यवहार गर्ने उनी राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाज सुधारक हुन् । उनले सार्वजनिक गरेका पर्चा यसकै उदाहरण हुन् । २०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका उनले निर्वाचनमा पर्चा बिक्री गरेका थिए । मकवानपुरको माटोलाई प्रगतिशील राजनीतिको उर्वराभूमि बनाउने र निष्ठाको राजनीति गर्ने विष्टप्रति २०४६ सालको आन्दोलनकारी शक्तिहरूले न्याय गर्न सकेनन् । जसले गर्दा उनको जागरण अभियानमा ठेस पुग्यो ।
तत्कालीन शिखरकोट गाविसको घर्तीखोला (हालः थाहा नगरपालिका–३) मा १९९० पुस २६ गते जन्मेका विष्टले समाज सुधारको अभियान दामन–पालुङबाट प्रारम्भ गरेका हुन् । उनको विचार, चिन्तन र आदर्श व्यवहारलाई कुनै पनि राजनीतिक दर्शनको घेरामा कैद गर्नु हुँदैन । उनी बाँचुन्जेल सत्य र न्यायका लागि लडे । उनका आदर्श चरित्र मुलुकका नेताहरूले थोरै प्रतिशतमात्र अवलम्बन गर्न सके जनताले परिवर्तनको अनुभूति गर्न पाउने थिए ।
ईकान्तिपुरबाट
मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक सरकार, सत्तापक्ष दल र प्रमुख प्रतिपक्ष दलबिच ५ बुँदे सहमति भए पछि संचालन भएकाे छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक अवरोध गरेकाे थियाे । शुक्रबारकाे पाँच बुँदे सहमतिसँगै बागमती प्रदेशसभाको अवरोध हटेको छ ।
प्रतिपक्ष दलले बजेटप्रति उठाएका असहमतिका सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलका लागि टेबल गर्नुअघि वक्तव्यमार्फत बजेटकाे विवरण सच्चाएर किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने पहिलो सहमति भएकाे थियाे । त्यसैगरी प्राविधिक र कानूनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने पनि सहमति भएको छ ।
त्यस्तै प्रतिपक्ष दलहरूको मागअनुसार कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्न सरकार पक्ष सहमति भएको छ । सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकटटेल, आर्थिक मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्ण खनाल तथा प्रतिपक्षका तर्फबाट बहादुरसिंह लामा र उद्धव थापाले हस्ताक्षर गरेका छन् ।
प्रदेश सरकारकाे तर्फबाट गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभमा प्रस्तुत गरेकाे बजेटकाे विरोध गर्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले प्रदेश सभाकाे बिहीबारकाे बैठक अवरोध गरेकाे थियाे । तीन पक्षिय सममतिपछि प्रदेश सभाकाे बैठकमा बजेटमाथिकाे दफावार छलफल शुक्रबारकाे बैठकमा भइरहेकाे छ ।
सहमतीका बुँदाहरु
१) प्रतिपक्ष दलले उठान गरेको सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलको लागी टेबल गर्नु अघि बक्तब्य मार्फात पेनड्राइभमा भएको विवरण प्राविधिक त्रुटि भएको र सच्याई किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने ।
२) प्राबिधिक, कानूनी, कार्यबिधि मिलाई बजेट सन्तुलित बनाउने बारे सहमती भयो ।
३) प्रतिपक्ष दलहरूले माग गरे बमोजिम कार्यक्रम बिवरणमा समावेश भएको कार्यक्रम शिर्षकमा शिलिङ भित्रको अपुग रकम थप गर्ने सहमति भयो । थप रकम रकमान्तर गरी सुनिश्चितको लागि आझै मन्त्री स्तरीय निर्णय गरी प्रतिपक्ष दलहरूलाई आश्वस्त पार्ने ।
४) विषयगत मन्त्रालयमा रहेको अवन्डामा रहेको रकम प्रतिपक्ष दलहरूले प्रास्तव गरे बमोजिमको प्रकृति मिल्ने खालको शिर्षकमा बजेट व्यवस्था गर्ने सहमत भयो । सुनिश्चितको लागि आझै मन्त्री स्तरीय निर्णय गरी प्रतिपक्ष दलहरूलाई आश्वस्त पार्ने ।
५) सहमती बमोजिम सदन सुचारू गर्ने ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ करोड ७१ लाख मुल्य बराबरको भेप (विद्युतीय चुराेट ) र भेपको फ्लेवरहरू सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रयासमा ५ जना सहित भेप नियन्त्रणमा लिएको मकवानपुर प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।
मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ११ थानाभ-याङ स्थित सडक खण्डमा काठमाडौबाट हेटौडा हुँदै भारतको दिल्ली तर्फ जाँदै गरेको ना ६ ख ७१६३ नं.को यात्रु बाहक बसबाट भेप र मानिसहरु नियान्त्रणमा लिएको हो ।बसको पेसेन्जर बस्ने सिट माथी सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको अन्दाजी मुल्य २ करोड ७१ लाख २१ हजार, ७८० रुपैया मुल्य बराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको हो ।
सामान ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बस चालक दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं.२ बस्ने बर्ष ३७ को सलाम मोक्तान, सह चालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ११ बस्ने बर्ष २७ को प्रबिन्द्र राना, नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३९ को ईन्द्रबहादुर दर्जी, दुप्चेश्वर ७ कै बर्ष ३० को सन्तोष भुसाल र धनकुटा जिल्ला बेलारा नगरपालिका वडा नं. १६ बस्ने बर्ष २९ को राज कुमार हिमाङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट केही तथ्यहरु खुलेको समेत दाबी गरेको छ । उल्लेखित समानहरु काठमाण्डौको बालाजु बसपार्क भन्दा माथि भत्केको पुलको एरियाको रमाईलो डांडाबाट लोड गरेको, बसमा फल्स सिलिङ पहिले देखि नै रहेको, बस नेपाल दिल्ली चल्ने आधिकारिक बस नभएको, बस केहि व्यक्तीहरुले भाडामा लिई एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपाल स्थित भारतीय एम्बेसीबाट मिति ५ असार २०८१ मा रोड पर्मिट लिईएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए ।
यसैगरी उक्त बसमा कुवेतबाट आएका भारत घर भएका यात्रुहरुलाई विभिन्न मान्छेहरु मार्फत सम्पर्क गरी ल्याईएको, बसमा सवार भई आएका यात्रुहरुलाई बिश्वास दिलाउन नेपाल–भारतको दिल्ली चल्ने बस हो भनि भिजिटिङ कार्ड समेत दिईएको, बसको डिक्की नखोल्ने गरेको, पक्राउ परेका व्यक्तीहरु मध्ये केहि व्यक्तीले पहिले पनि पटक पटक यस्ता किसिमको भन्सार छलिका अबैध समानहरु ल्याउँने लैजाने गरेको समेत खुल्न आएको रिजालले बताए ।
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको राक्सिराङ गाउँपालिका २ थुम्की बस्ने ४५ वर्षिय बिर बहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो । घरमा सुतिरहेको अबस्थामा सोमबार बिहान चट्याङ लागि वीर बहादुर घाईते भएका थिए ।
उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।