मकवानपुर । पछिल्लो पटक १८ महिना बागमती प्रदेश सरकारको नेतृत्व गरेका नेकपा माओवादी नेता तथा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेश सभामा एक घण्टा सम्बोधन गर्दै अर्को सरकार गठनलाई मार्ग प्रसस्त गरेका छन् ।
आइतबार उनले विश्वास मत लिने कार्य सूचिमा रहेको भए पनि बदलिएको सत्ता समीकरण अनुसार विश्वासको मतमा प्रवेश नै नगरी नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गरेका हुन् । यसअघि प्रदेश सभाको फेस गर्ने तर राजिनामा नदिने बताउदै आएका जम्कट्टेलले सम्बोधनको अन्तमा नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गरेको घोषणा गरे।
“सरकारमा रहनको लागि विश्वासको मत पाउनु पर्छ” उनले भने । संसदको पहिलो र दोस्रो ठुला दलहरु मिलेर सरकार बनाउने स्थिती बनिसकेको अवस्थामा आफूले लिने विश्वासको मतले सार्थकता पाउने अवस्था नभएको भन्दै उनले विश्वासको मत नलिने र समिकरण अनुसार नयाँ सरकार बनाउनको लागि मार्ग प्रसस्त गर्ने सभालाई जानकारी गराए ।
आइतबारको संसदमा उनले आफ्नो नेतृत्वमा गरेको सरकारी कामको बचाउ गर्दा एक घण्टा सम्बोधन गरेका थिए । आफ्नो कार्याकालमा संदसभित्र प्रतिपक्षिदलले अमर्यादित हर्कतहरु गरेको आरोप लगाउँदै काम चलाउ सरकारका मुख्यमन्त्री जमकट्टेलले अब माओवादी प्रतिपक्षमा हुदाँ आफूहरुले मर्यादा ‘क्रस’ नगर्ने घोषणा गरे ।
जम्कट्टेलले देशलाई द्वन्द्वमा फसाउने काम नयाँ गठकन्धनबाट भइरहेको टिप्पणी गरे । संविधान संशोधनको नाममा २ ठुला दलले देशलाई इतिहासमा फर्काउने काममा अग्रसर भएको जम्कट्टेलले बताए ।
प्रदेशसभा बैठकमा धारणा राख्दै जम्कट्टेलले दुई ठुला दलले अदृश्य सहमति गरेर समावेशी सहभागिता हटाउने प्रयत्न भएको बताए । राजनीतिक स्थिरताको नाममा संविधान संशोधन गरेर उत्पीडित वर्गको अधिकार माथि हस्तक्षेप गर्न नयाँ समीकरणका दलहरू अघि बढेको उनको भनाई छ ।
दुई ठुला दलले अदृश्य रूपमा राजनीतिक सहमती छोपेर राखिएको उनले बताए । दलले गर्ने राजनीतिक सहमति गोप्य नहुने र जनतालाई ढाँट्न दलहरूले राजनीतिक सहमति गरेको उनले स्पष्ट पारे । मुख्यमन्त्री जम्कट्टेलले बहुमत हुँदैमा सरकार निरन्तर नजाने दाबी गर्दै अब बन्ने मन्त्रीहरुको कार्यकाल बढीमा ४ महिना हुने ठोकुवा गरे ।
संविधान संशोधन गरे समानुपातिक निर्वाचन प्रणाली हटाउने प्रयत्न भएको भन्दै उनले भने “निर्वाचन प्रणाली परिवर्तन गरेर समावेशिता हटाउने काममा दुई ठुला दलहरू लागेका छन् ।” निर्वाचन प्रणाली फेर्ने नै भए पूर्ण समानुपातिक प्रणालीमा अघि बढ्नुपर्ने उनले बताए । “यसले नेपाललाई अग्रगामी रूपमा स्थायित्व दिन सक्छ । संशोधन नै गरेर कार्यकारी भूमिकामा जान तयार हुनुपर्छ” उनले भने ।
मुख्यमन्त्री जम्कट्टेलले राष्ट्रिय सहमति अंक गणित नभएको बताए । संसद्भित्र र बाहिर रहेका सरोकारवालाको सहमति नै राष्ट्रिय सहमति भएको उनको भनाई छ । प्रदेशलाई अधिकार आउँछ भन्नेमा विश्वस्त नरहेको उनको भनाई छ । अहिलेको समीकरणले प्रदेशलाई अधिकार दिने र संघीयता बलियो नबनाउने उनले बताए ।
मन्तव्यको अन्तमा जमकट्टेलले नयाँ सरकारको लागि मार्ग प्रसस्त गरेपछि सभामुख भुवन पाठकले कार्य सूचिमा भएको विश्वासको मत लिने कार्यक्रम कार्य सूचिबाट हटाएका थिए । बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थागित गरिएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताइएको छ । उनको राजिनामा पछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आव्हान गर्नेछन् ।
मकवानपुर । मकवानपुरे साहित्यकार तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ शनिबार हेटौंडामा विमाेचन गरिएको छ ।
गजल मञ्च मकवानपुरको २१५ औँ गजल यात्रामा घिमिरेद्वारा लिखित गजल सङ्ग्रह विमोचन गरिएको हो । मञ्चका अध्यक्ष केशव समर्पण, मकवानपुरका शिक्षासेवी देव श्रेष्ठ, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिललगायतले पुस्तककाे लाेकार्पण गरेका हुन् ।
गजल मञ्च मकवानपुरले प्रकाशन गरेकाे सङ्ग्रहमाथि समीक्षक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए । घिमिरेले घामका फूलहरूको समीक्षा गर्दै पाकाे उमेरका लेखकले युवाको जस्तै जोश जाँगर सहितको गजल लेखेको बताए । लेखक घिमिरेले आफ्ना जीवनमा अनुभूत गरेका, देखेका विषयलाई गजलमार्फत सचित्र वर्णन गर्न सफल भएको उनको भनाई थियो ।
कार्यक्रममा साहित्यकार स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ, हरि पाैड्याललगायतले घिमिरेद्वारा लिखित गजल सङ्ग्रहबाट गजल वाचन गरेका थिए ।
गजल सङ्ग्रहकाे रुपमा घिमिरेकाे पहिलाे कृति हाे । सङ्ग्रहमा ७० वटा गजल समेटिएका छन् । २०११ फागुन १५ गते बर्माको होम्लिनमा जन्मिएका लेखक घिमिरेका यसअघि फूलका कुरा जूनका कुरा गीत सङ्ग्रह २०७१ र माटोको मोह कविता सङ्ग्रह २०८० प्रकाशित छ ।
२१५ ओैं गजल यात्रामा गजलकारहरु मुस्कान तिमल्सिना, मिथिला अधिकारी, डिबी वर्ताैलालगायतले गजल वाचन गरेका थिए ।
मकवानपुर । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेता पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो देशभर आंशिक बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले भनेको छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीकाे विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको पार्टीले जनाएकाे छ ।
राप्रपाले प्रदेशमा अब बन्ने काङ्ग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्ने वा नगर्ने विषयमा निर्णय नभइसकेकाे संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए । प्रदेश सभामा राप्रपाकाे १२ सांसद छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार अपराह्न १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने बताइएकाे छ ।
संघीय सरकारको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि फेरबदल हुने छ । संघीय सरकारमा माओवादी केन्द्रको नेतृत्वकाे सरकार संसदबाट अल्पमतमा परेपछि सरकार परिवर्तन भइसकेको छ । यसैगरी बागमती प्रदेशमा माओवादी केन्द्रका जम्कट्टेल नेतृत्वको सरकार छाडेर नेकपा एमालेले समर्थन फिर्ता लिएको २ हप्तापछि उनले विश्वासकाे मत लिने भएका हुन् ।
जम्कट्टेलले प्रदेश सभाकाे फेस गर्ने भएपनि अंकगणित अनुसार विश्वासको मत पाउने छैन । विश्वासकाे मतमा उनी अल्पमतमा परेसँगै नयाँ सरकार गठनकाे बाटो खुल्नेछ ।
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभाकाे ठुलो दल कांग्रेसकाे ३७ र दोस्राे ठुलाे दल एमालेकाे २७ सांसद छन् । माओवादी केन्द्रकाे २१ सांसद रहँदा एकीकृत समाजवादीकाे ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।