मकवानपुर । निर्वाचन आयोगले २३ मंसिरबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने भएकाे छ । देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावली सुरु गर्ने आयोगले निर्णय गरेकाे हाे ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्ति २३ मंसिरबाट मतदाता नामावली दर्ताको काम सुरु हुने उल्लेख छ । यसअघि गत १६ मंसिरमा सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो ।
निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य २३ मंसिरबाट सुचारु गरिने आयोगले जनाएको छ ।
मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको प्रदेशस्तरीय संयन्त्रले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र गठन गर्न निर्देशन दिएको छ । प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार ललितपुरमा बसेको पहिलो बैठकले उक्त निर्देशन दिएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशिघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए । बैठकले दुई दलले एक/एक महिना पालो पालो बैठकको संयोजन गर्ने समेत निर्णय गरेकाे उनले बताए । २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फवाट एक/एक जना रहने समेत निर्णय भएकाे छ ।
संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने र दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक ३ मंसिर २०८१ मा हेटौंडामा बस्ने भएकाे छ । उक्त बैठकमा प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिने बताइएकाे छ ।
प्रदेशस्तरीय संयन्त्रकाे बैठकमा कांग्रेसका तर्फबाट प्रदेश सभापति बानियाँ, मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनकाे सहभागिता रहेकाे थियाे । यसैगरी नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । मन्त्रिपरिषदबाट स्वीकृत नगरी बैदेशीक भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले राजीनामा दिएका हुन् ।
अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएका थिए । जापान जाँदा तीन जना असम्बन्धित व्यक्तिलाई पनि सँगै लैजान भूमिका खेलेको आरोप अधिकारीमाथि लागेको छ । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था रहेकाे छ । यसका साथै विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था समेत रहेकाे छ ।
उक्त विवादमा मुछिएपछि बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्दै अधिकारीले अनुसन्धानलाई सहयोग गर्न राजीनामा दिएकाे बताए । अधिकारीसँगै जापान गएका असम्बन्धित भनिएका तीनै जना अहिले हनुमान ढोका प्रहरीको नियन्त्रणमा रहेकाे समेत उनले जानकारी दिए ।
मकवानपुर । देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।