मकवानपुर । मकवानपुरको हेटौंडा स्थित हाेटलमा १ जना मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको चण्डिका होटल १ जना पुरुष मृत फेला परेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाकाे राक्सिराङ गाउँपालिका वडा नम्बर-४ का २८ वर्षीय सरोज शाह बिहीबार उक्त हाेटलमा मृत भेटिएका हुन् । शाह बिहान अबेरसम्म ढोका खोलेर बाहिर नआएपछि होटल संचालकले प्रहरीमा खबर गरेका थिए ।
शाह १५ पुसबाट हाेटलमा बस्दै आएकाे बताइएकाे छ । घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा हुस्सु लागेको छ । पहाडी केही भुभागमा हल्का वर्षा हुनसक्ने छ भने हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरे । एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।
२०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्कृय जस्तै रहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गर्दै सयौं प्रश्न गरेका छन् । पत्रकार सम्मेलन मार्फत रावलले पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै प्रश्न गरे ।
पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ५ बसन्तपुरमा बाघको आक्रमणमा एक बृद्धाको ज्यान गएको छ ।
आइतबार सांझ घाँस काट्न बारीको छेउमा गएकी मनहरी गाउंपालिका ५ कि ७२ बर्षीया कान्छीमाया रुम्बालाई बाघले आक्रमण गरेको मनहरी गाउँ पालिका वडा ५ को अध्यक्ष दिपेन्द्र अधिकारीले बताए ।
घाँस काट्न गएकी कान्छीमायाँ लामो समयसम्म पनि नफर्केपछि खोज्न गएका युवाहरुले कान्छीमायाँको मोबाइल कपडा छरपस्ट भेटेपछी पछ्याउँदै जांदा बाघले उनको शब छाडेर भागेको थियो ।
‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ’, ५ नं वडाध्यक्ष अधिकारीले भने–‘भीडभाड देखेपछि बाघले लास छाडेर भागेको अनुमान गरिएको छ ।शवको टाउको तथा तिघ्राका भागको मासु बाघले लुछेको अबस्थामा रहेको उनले बताए ।
घटना स्थल मनहरी गाउँपालिका वडा नं ५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ । पर्सा बन्यजन्तु आरक्षसंग सिमना जोडिएको मनहरी गाउँपालिकामा बन्यजन्तुले पटक पटक दुख दिनेगरेको छ । जंगली हात्ती, गैडा बाघले अन्नबाली नाश गर्ने , घरपालुवा जनावर (गाईभैसी,बाख्र,रांगाहरू) खाने, घरमा भण्डारण गरिएको अन्नबाली र घर भत्काउनेलगायत मानवीय क्षती समेत गर्ने गरेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटाैंडामा बुधबारबाट सुरु प्रदेश लिग फुटबल प्रतियोगितामा पशुपति शिवाजी चित्लाङ एफसी काठमाडौंले विजयी सुरुवात गरेको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशालामा सुरु प्रदेश लिगमा चित्लाङ एफसी काठमाडौंले माउण्ड एभरेष्ट क्लब काभ्रेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । काठमाडाैंकाे लागि तीनै गोल अंकित रासकोटीले गरे । रासकोटी खेलको म्यान अफ दी म्याच भए । जीतसँगै काठमाडौंले ३ अंक प्राप्त गर्यो ।
लिगकम नकाउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिता बिहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली जिल्लाको लिग च्याम्पियनबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल प्रवेश गर्ने २ वटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउन पाउने छन् ।प्रतियोगिता बिजेता तथा उपविजेताले नगद २ लाख र १ लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार प्रदेश फुटबल संघको आयोजनामा सुरु प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बीएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबको सहभागिता रहकाे छ ।
११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल २० पुसमा हुने आयोजकले जनाएकाे छ ।