मकवानपुर । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरे । एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।
२०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्कृय जस्तै रहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गर्दै सयौं प्रश्न गरेका छन् । पत्रकार सम्मेलन मार्फत रावलले पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै प्रश्न गरे ।
पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।

