धादिङ । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ ।
शुक्रबार धादिङबेसीमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सबको उद्घाटन गर्दै देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार भएको उल्लेख गर्दै मानव मानवबीचका द्वन्दहरु घटाएर प्रेम, मानवता, एकता र सौहार्दताको बीजारोपण गर्ने महत्वपूर्ण विधा भएको बताउनुभएको छ । साहित्य मानव मस्तिष्कको उपजको रुपमा उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले साहित्य लेखनमात्र नभएर भावना, संवेदनासमेत भएको बताउनुभयो । साहित्यले कला, संस्कृति, मूल्य, मान्यता र सभ्यतालाई छर्लङ्ग पार्ने उहाँको भनाइ छ ।
कला र साहित्य मौन रहेर होईन, बोलचाल र प्रस्तुतिमा हुनुपर्ने बताउँदै इतिहासका कालखण्डमा साहित्यको योगदानलाई बिर्सनु नहुने स्पष्ट पार्नुभयो । राणाबिरोधी आन्दोलन, पञ्चायतबिरोधी होस् वा निरंकुशता बिरुद्धका आन्दोलनहरुमा साहित्यिक कलमले चेतना, जागरुकता र आन्दोलनको आँधीबेहरी सृजना गरेको समेत समरण गराउनुभएको छ ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिका सहआयोजक भइ स्थानीय स्तरमा सामाजिक संघसंस्थाहरुको सहजीकरणमा दुई दिने बागमति प्रदेश स्तरीय साहित्य महोत्सबको शुक्रबार धादिङबेसीमा उद्घागन गरिएको हो । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघीयसरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारीले शुभकामना व्यक्त गर्दै साहित्यले सम्राटहरुलाई समेत नाङ्गो पार्ने शक्ति हुने भएकोले सहत्यको संरक्षण र प्रवर्धनमा सघाउने बताउनुभयो ।

बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता गोबिन्द लम्साल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री दहाल, नीलकण्ठ बालमन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष दिपक कोइराला, महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका अध्यक्ष विष्णु आचार्य, लगायतले भाषा, साहित्य कला, संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले विधागत रुपमा सघाउनु पर्ने र स्थानीय सरकारले समेत लगानी गरेर पठन र अध्यायन संस्कृतिको विकासमा योगदान गर्नुपर्ने बताउनुभएको छ ।
धादिङबेसी पुछारबजारबाट तामाङ, नेवारलगायतका संस्कृतिक झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।
थाहानगर । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा १४ फागुनदेखि थाहा नगरमा नगरस्तरीय शिक्षक रनिङशील्ड भलिवल प्रतियोगिता सुरु भएको छ ।
थाहा नगरपालिका १ कुन्छालस्थित सुनौला माविको पुरानो खेलमैदानमा सुरु भएको खेलमा नगरका १२ वटा विद्यालयहरुले सहभागिता जनाएको छ । पहिलो चरणको खेल औपचारिक उद्घाटन अघि विहान ८ बजेदेखि सुरु भएको थियो । पहिलाे चरणकाे खेल सुरु भएपछि औपचारिक रुपले प्रतियोगिताको उद्घाटन गरिएको छ । नगर समिति अध्यक्ष मनोज लामिछानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय महासचिव हंस शाहीले शिक्षक मैत्री शिक्षा ऎनको माग गरेर आन्दोलनमा रहेको संगठनले ऎन जारी गराएपछि मात्र विश्राम लिने बताए । कार्यक्रममा विशिष्ट अतिथि संगठनका जिल्ला अध्यक्ष मुकुन्द न्यौपाने, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य सानोभाइ कार्की, महासंघका नगर अध्यक्ष राजाराम कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार, द्वितीय हुने विद्यालयलाई १५ हजार र सान्त्वना दुई विद्यालयलाई ५/५ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका लागि थाहा नगरपालिका, हेटौंडा सिटी कलेज एवं विभिन्न संघसंस्था र वित्तीय संस्थाहरुकाे सहयोग रहेकाे छ ।
भरतपुर, चितवन । चितवनको भरतपुरमा ‘गजलमा प्रणय’ कार्यक्रम हुने भएको छ । गजल मञ्च चितवनले प्रणय दिवसको अवसरमा उक्त कार्यक्रम गर्ने भएको हो।
हरेक वर्ष १४ फेब्रुअरीमा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) का दिन आगामी ३ फागुन शनिबार भरतपुर- ११ स्थित आरम्भ कलेजमा कार्यक्रम गर्न लागिएको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा चितवन, मकवानपुर, नवलपरासी, तनहुँ लगायतका जिल्लाका गजलकारहरुले गजलवाचन गर्ने छन् । ‘नयाँ तथा पुराना पुस्ताका गजलकारहरूको विशेष जमघट रहने कार्यक्रममा २० जना भन्दा धेरै गजलकारहरूले प्रणयरसमा लेखिएका गजलहरू सुनाउनु हुने उनले बताए । गजल श्रवण गर्न धेरै स्रोताको उपस्थिति रहने अपेक्षा समेत गरिएको अनायासले जानकारी दिए ।
कार्यक्रममा सरला जोशी, यमुना न्यौपाने, गिरिराज अधिकारी, तीर्थराज सुवेदी, रुबिन पौडेल, लीला दाहाल अधिकारी, रिवाज अर्याल, विकास बराल, सुरेन्द्र अस्तफल, विद्या भण्डारी चिराग, विष्णु तिवारी उषा, परिविक्रम, एसआर दुवाडी, रामलाल कुमाल, सुवास सजल, सगर तिमिल्सिना, सरगम पारु, मसान उपासक, गौरी कँडेल, भानु सापकोटा, सुमन कडरीया, प्रविण काफ्ले, ध्रुव सञ्ज्याल, प्रेमप्रसाद कँडेल र बालकृष्ण पौडेललगायतका स्रस्टाहरुको गजल वाचन रहने छ ।
कार्यक्रम आयोजना गर्न सम्पूर्ण किताब नारायणगढ, आरम्भ कलेज भरतपुर, कनेक्ट एजुकेसन एन्ड माइग्रेसन चितवन, इन्नोभेटिभ एसोसिएट्स, चितवन फ्लेक्स नारायणगढ, एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस चितवन र प्रकृति फर्निसिङ ग्यालरी भरतपुरले सहयोग गर्ने उनले बताए । यस्तै कार्यक्रमको मिडिया पार्टनर कायाकैरन मिडिया नेटवर्क प्रालि रहेको छ ।
मौलाकालिका, नवलपुर । पत्रकारको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न प्रेस चौतारीले माग गरेको छ । समृद्धिको लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म” भन्ने नाराका साथ श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले आठ बुँदे मौलाकालिका घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।
पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिकामा कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता र प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरा लामाको प्रमुख आतिथ्यमा तेस्रो पूर्ण बैठक बसेको हो । जारी घोषणापत्रमा श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक, विदा, औषधी उपचार, विमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गरिएको छ ।
घोषणापत्रमा भनिएको छ “विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत यो बैठक माग गर्दछ ।” स्वरोजगाार मिडियाको संरक्षण र प्रवर्द्धनका लागि विशेष जोड दिंदै घोषणापत्रमा अगाडि भनिएको छ “स्वरोजगार मिडियाको संरक्षण प्रवर्द्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन माग गर्दछ ।
साथै अनलाईन सञ्चारमाध्यहरुलाई पनि वैज्ञानिक ढंगले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन सहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न यो बैठकले जोडदार माग गर्दछ ।” स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्ता/ नविकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन समेत बैठकले माग गरेको छ ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र यस भूगोलबाट केन्द्रीय समितिमा हाम्रो गठबन्धनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरुलाई बैठकले आभार प्रकट गरेको छ । विजयी सबैलाई बधाई समेत ज्ञापन गरिएको छ ।
प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प पनि बैठकले गरेको छ । जारी घोषणापत्रमा अगाडि भनिएको छ “पत्रकारको पेशागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग जोडदार माग गर्दछौं ।”
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको ठहर गर्दै घोषणापत्रमा भनिएको छ “सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछौं । साथै ती कामहरुको बारेमा आम सञ्चार माध्यमबाट आम जनसमुदाय समक्ष पुर्याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछौं ।”
चौतारीका केन्द्रीय सदस्यहरु सरिता दाहाल (मकवानपुर), तिलक रिमाल (चितवन), प्रेम दाहाल (सिन्धुली)ले तयार गरेकाे घोषणापत्रमा उपचाररत पत्रकार भुपराज पाठक, फणि महत लगायतको स्वास्थ्य लाभको कामना समेत गरिएको छ । चितवन र यसका छिमेकी जिल्लाको पर्यटन विकासका निम्त महत्वपूर्ण रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिका क्षेत्रको थप विकासका लागि बैठकले माग समेत गरेको छ ।
मन्थली, रामेछाप । बागमती प्रदेशको कानून निर्माण, कार्यान्वयन र अपेक्षासम्बन्धी छलफल तथा अन्तरकृया रामेछापकाे मन्थलीमा बुधबार भएको छ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानून र तिनका कार्यान्वयनका क्रममा स्थानीय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपायहरूका छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठकले कानून निर्माण गर्दा सरोकारवाला, विज्ञ र जनप्रतिनिधिहरुसँग छलफल गरिनुपर्ने बताए ।
यस्तै उपसभामुख अपसरा चापागाईंले प्रदेश तथा स्थानीय तहले बनाएका कानूनकाे जानकार सबै हुनुपर्ने बताइन् । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र नगर उपप्रमुख ईश्वरी बस्नेत लगायत प्रतिनिधिहरूले संघ र प्रदेशले बनाएका कानूनहरु बाझिएका कारण स्थानीय तहहरुले समस्या भोग्नुपरेको बताएका थिए । संविधान सभा सदस्य र वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए ।