मन्थली, रामेछाप । बागमती प्रदेशको कानून निर्माण, कार्यान्वयन र अपेक्षासम्बन्धी छलफल तथा अन्तरकृया रामेछापकाे मन्थलीमा बुधबार भएको छ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानून र तिनका कार्यान्वयनका क्रममा स्थानीय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपायहरूका छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठकले कानून निर्माण गर्दा सरोकारवाला, विज्ञ र जनप्रतिनिधिहरुसँग छलफल गरिनुपर्ने बताए ।
यस्तै उपसभामुख अपसरा चापागाईंले प्रदेश तथा स्थानीय तहले बनाएका कानूनकाे जानकार सबै हुनुपर्ने बताइन् । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र नगर उपप्रमुख ईश्वरी बस्नेत लगायत प्रतिनिधिहरूले संघ र प्रदेशले बनाएका कानूनहरु बाझिएका कारण स्थानीय तहहरुले समस्या भोग्नुपरेको बताएका थिए । संविधान सभा सदस्य र वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

