मकवानपुर । हेटौंडा भएकाे छैठौं संस्करणको उपमेयर नगरकप भलिबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना, मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा–१९ नेवारपानीमा प्रतियोगिता जारी छ ।
प्रतियाेगितामा शुक्रबार पुरुषतर्फ क्वाटर फाइनलका खेल भए । यस्तै महिला तर्फ पहिलाे सेमिफानलकाे खेल भएकाे छ । शुक्रबार भएको पुरुष भलिवलकाे क्वार्टरफाइनल खेलबाट वडा नम्बर १७, ५, १९ र ११ सेमिफाइनल प्रवेश गरेका हुन् । शुक्रबारकाे खेलमा वडा नम्बर १७ ले वडा नम्बर १० लाई २५–१६ र २५–२० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेकाे हो ।
यस्तै ६ नम्बर वडा र ५ नम्बर वडावीच भएकाे खेलबाट ५ नम्बर सेमिफाइनल प्रवेश गरेकाे हाे ।५ नम्बर वडा २०–२५, २५–२३ र १५–१० को सेटमा विजयी भएको हो । शुक्रबारै भएको खेलमा १९ नम्बरले १२ लाई हराउँदै सेमिफाइनल प्रवेश गर्यो । १९ ले १२ लाई २५–१८, १८–२५ र १५–१० को सेटमा पराजित गरेको हो । अन्तिम क्वार्टरफाइनल खेलमा ११ ले १६ लाई सोझो सेटमा हरायो । ११ नम्बर वडा २५–१२ र २५–११ को सेटमा विजयी भएको हो ।
जारी प्रतियोगितामा महिलातर्फ भने ९ नम्बर वडा फाइनल प्रवेश गरेको छ । शुक्रबार भएकाे महिलातर्फको पहिलो सेमिफाइनलमा वडा नम्बर ९ ले १४ लाई हराउँदै फाइनलमा स्थान बनाएकाे हाे । ९ ले १४ लाई २२–२५, २५–२३, २५–११, २५–१९ को सेटमा पराजित गर्दै उपाधी भिडन्त पक्का गरेकाे हाे । महिला तर्फ वडा नम्बर १७ र १२ बीच भएकाे दाेस्राे सेमिफाइनल रात परेको कारण स्थगित गरिएकाे आयाेजकले जनाएकाे छ । खेल जारी रहँदा रातपरेपछि शनिबार बिहान पुन खेल हुने भएकाे हाे ।
प्रतियोगितामा पुरुषतर्फ १२ वटा वडाले सहभागिता जनाएका छन् भने महिलातर्फ ७ वटा वडाले सहभागिता जनाएकाे संयोजक पुष्प मैनालीले जानकारी दिए । उनका अनुसार पुरुष भलिवल तर्फ वडा नं ३, ४, ५, ६, ९, १०, ११, १२, १३, १६, १७ र १९ ले सहभागिता जनाएका छन् भने महिला भलिवल तर्फ ६, ९, १०, १२, १४, १७ र १९ वडाले मात्र सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुने वडाले ५० हजार, द्वितीय हुनेले ३० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मंसिर १४ गतेदेखि सुरु प्रतियाेगिताकाे फाइनल खेलहरु १७ गते खेलाइने छ ।
गत वर्ष भएको पाँचौ सस्करणको उपमेयर कपको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले हात पारेकाे थियो ।

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सुनुवाई कार्यक्रम गरेकाे छ । ४ नं. वडामा विहीबार हेटौडामा जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिताराम रिजालकाे प्रमुख आतिथ्यता तथा हेटौडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलकाे सभाध्यक्षता सार्वजनिक सुनुवाई भएकाे हाे ।
प्रमुख अतिथि एसपी रिजालले कार्यक्रमलाई सम्वाेधन गर्दै प्रहरी तथा प्रहरीले गर्ने कार्य सही ट्रयाकमा छ की छैन सार्वजनिक कार्यक्रम गर्ने गरेकाे बताए । ‘प्रविधिकाे विकास सँगसँगै थप चुनाैति बढिरहेकाे छ’ रिजालले भने सामाजिक संजालहरु ह्याक भयका समस्याहरु दिनहुँ आउँछ यसले थप सुरक्षा थपिएकाे छ ।’ समाज साइवर क्राइम तथा लागुऔषध दुर्व्यसनिकाे उच्च जाेखिममा रहेकाेले नागरिक स्वयं पनि सजग हुनुपर्ने बताए ।
‘लागुपदार्थ दुर्व्यसनीलाई नियन्त्रण प्रहरीकाे थाप्लाेमा मात्रै परेर सम्भव छैन, अभिभावकले आफ्ना सन्तानलाई सही मार्गदर्शन गर्नुपर्छ’ एसपी रिजालले भने । प्रहरीका काम कार्यवाही आचरण विगतमा भन्दा सुध्रियकाे भए पनि अझ सुधार्दै जाने र साेकाे लागि नागरिक समाज संस्थालगायतसँग हातेमालाे आवश्यक रहेकाे उनले बताए ।
कार्यक्रममा फ्रेन्डस् हेटाैडाकी संयाेजक किरण थापाले भारतवाट नेपाल भित्रिनेहरु दिनमा पुरुष हुने र रातमा तेस्राेलिङ्गीकाे रुपमा हिड्ने गरेकाे बताइन् । तेस्राे लिङ्गीका उजुरी उजुरी प्रहरी कार्यालयमा नलिने दुखेसाे गर्ने थापाले भनिन् बेलाबेला प्रहरीले देखाउने अराजक गतिविधिमा सुधार हुनु पर्छ ।’ त्यसैगरि कार्यक्रममा युवा नेता तथा हाेटल व्ययवसायी विकेस श्रेष्ठले दश वजेपछि हाेटल व्यवसाय बन्द हुनु पर्ने जुन नीति नियम छ हाेटलकाे प्रकृति हेरेर हाेटल व्यवसाय संचालन गर्न दिनुपर्ने बताए । सुमाे व्यवस्थापनमा देखिएकाे समस्या पटकपटक अवगत गराउँदा पनि समाधान हुन नसकेकाे बताउँदै उनले सुमाे सेवा संचाालन एकद्वार प्रणालीबाट हुनुपर्ने भनाई राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले प्रहरीकाे पट्राेलिङ कम भएकाे कारण चाेरीका घटना हरेक दिन बढ्दै गएकाे गुनासाे गरेका थिए । प्रहरी कार्यालयमा सर्वसाधारणले प्रशासनिक काममा सहज रुपमा सेवा पाउन नसकेकाे, लागुओैषधकाे ट्रान्जिटकाे रुपमा रहेकाे जिल्लामा सडक छेउका ग्यारेजहरुमै लागुऔषध वेचविखन हुने गरेकाेले कलेजका विधार्थीहरु कुलतमा लागेकाे, हुप्राचौरमा रातकाे समयमा लागुऔषध सेवनकर्ताकाे अखडा हुने गरेकाे प्रति सजग गराउँदै प्रहरी नियन्त्रणमा ध्यान दिनु पर्ने सहभागी स्थानीयहरुले बताए ।
चितवन । दुई दशकअघि गैँडाकोट नगरपालिका–९, थुम्सीलाई पाते ढिँडोले चिनायो । ढिँडो खान थुम्सी जाने क्रम सुरु भयो । राजमार्गका यात्रुमात्र नभई गैँडाकोट, नारायणगढ, भरतपुर र आसपासका क्षेत्रबाट ढिँडो खान थुम्सी पुग्नेको लर्को लाग्न थाल्यो ।
पाते ढिँडो सुरु गरेका बृखलाल गुरुङ भन्छन्, ‘२०५६ सालको मंसिर १७ गते पाते ढिँडो सुरु भएको थियो । २४ वर्ष पूरा हुनै लाग्दा भरतपुर महानगरपालिका–१० मा पहिलो शाखा खोलेका छौँ । मंसिर १७ गते आइतबारदेखि भरतपुरबाट पाते ढिँडोको विशिष्ट सेवा उपलब्ध हुनेछ ।’ अढाई दशकअघि थुम्सीमा खुलेको पाते ढिँडो होटल एण्ड रेष्टुरेण्ट भरतपुर शाखासम्म आइपुग्दा पाते ढिँडो एण्ड बिच रिसोर्ट प्रा.लि. भएको छ ।
‘थुम्सीमा नारायणी किनारमा होटल रहेकोले पाते ढिँडो नामसँगै बिच रिसोर्ट थपेका हौँ’ भरतपुर शाखाबाट सेवा सुरु गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष गुरुङले भने । उनले भरतपुर शाखा पहिलो आधिकारिक शाखा भएकोसमेत प्रष्ट पारे । पाते ढिँडो भरतपुर शाखा संचालक पर्यटन व्यवसायी मीनबहादुर गुरुङले गुरुङ भाषामा पातेको अर्थ माइली छोरी हुने जानकारी गराउँदै भने, ‘हामीले रिसोर्टको लुक्सलाई फरकपन दिने कोशिस गरेका छौँ ।
रिसोर्टमा प्रवेश गर्नेबित्तिकै काउण्टर अगाडि भुइँमा घरेलु रक्सी बनाइरहेकोजस्तो सांकेतिक दृश्य देख्न पाइन्छ । घरेलु रक्सीलाई ब्रान्डिङ गरी दर्ता गरेर विदेशी रक्सीको खपत कम गराउनु पर्छ भन्ने सन्देश पनि हो ।’ बजारमा पाते ढिँडोको नाममा धेरै होटल खुल्न थालेको विषयमा पनि ध्यानाकर्षण भएको बताउँदै गुरुङले भने, ‘हाल पाते ढिंडो होटल एण्ड रेष्टुरेण्टको शाखा भन्दै हामीसँग मिल्ने गरी उस्तै नाम राखेर विभिन्न स्थानमा होटल खोली आमग्राहक महानुभावहरूमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको छ । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ। र, हामीले पहिलोपटक शाखा खोलेको जानकारी गराउँछौँ ।’
नाम अनुसार पाते ढिँडोमा मकै र फापरको ढिँडो त पाइन्छ नै, अन्य परिकार पनि पाइने बताइएको छ । कुखुरा, खसी, बंगुर, राँगाको मासुका सेकुवालगायत विविध परिकार पाइने रिसोर्टले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । करिब दुई करोड रुपैयाँ लगानीमा सुरु भएको पाते ढिँडोको भरतपुर शाखाले हाल २२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । यसले मंसिर १७ गते सफ्ट ओपनिङ र जनवरी १ अर्थात् पुस १६ गते ग्रान्ड ओपनिङ गर्दैछ ।
देशका प्रमुख शहरहरुमा थप शाखा खोल्ने लक्ष्य लिइएको अध्यक्ष बृखलाल गुरुङले बताए । उपभोक्ताहरूको माग र चाहनाअनुसार अन्य स्थानमा पनि क्रमशः शाखा खोल्दै लैजाने योजनासहित काम गरिरहेको उनको भनाइ छ । ढिँडोसँगै धराने बङ्गुरको सेकुवा, चिकेन सेकुवा, मटन सेकुवा, बफ सेकुवा र स्वादिष्ट फास्टफुड पस्कने उनले बताए ।
साथै विभिन्न संघसंस्था, व्यावसायिक प्रतिष्ठानका लागि आवश्यक सभा, सेमिनार, गोष्ठी गर्न, बर्थ–डे, एनिभर्सरीको उत्सव मनाउनका लागि १ सयजना सम्मको क्षमता भएको सुविधा सम्पन्न वातानुकुलीत (एसी) सेमिनार हल र १५ जनासम्मका लागि ६ वटा प्राइभेट वातानुकुलीत (एसी) डाइनिङ हलकोसमेत सुविधा थप गरिएको उनको भनाइ छ ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलन पुस ७ गते हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको विहीबार काठमाडौँमा बसेको बैठकले पुस ७ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।
प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक बागमती प्रदेशको सम्मेलन गर्ने भएको हो । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा विहिबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय गरेकाे कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरेकाे छ । प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजक उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजक महामन्त्री कन्चनचन्द्र वादे तथा सहसंयोजक सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रम (क्यालेण्डर) तयारी उपसमिति संयोजक महामन्त्री राजु श्रेष्ठ तथा सहमहामन्त्री जीवन डंगोललाई तोकिएको छ ।
त्यसैगरी कार्यसम्पादन बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना ब्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डंगोल, प्रचारप्रसार उपसमिति प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिष्ट्रेशन उपसमिति निमा लामा, निमन्त्रणा उपसमिति दीपेन्द्र आचार्य, कार्यपछिको प्रतिवेदन तयारी उपसमितिमा उज्जवलराम घिमिरे, हल, मञ्च, स्वागत गेट र व्यवस्थापन उपसमितिमा कोकी अस्तानी मगर, स्वास्थ्य शिविर डा. अमित सिं कार्की, सांस्कृतिक कार्यक्रम धनकुमारी थापा सरु, स्वयमसेवक परिचालन प्रज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाललाई तोकेको छ ।
संयोजकहरुले आवश्यक्ता अनुसार प्रदेश कार्यालयमा जानकारी दिई सदस्यहरु थप्न सक्ने प्रवक्ता रुवालीले जानकारी दिए । उनका अनुसार काठमाडौंमा हुने पहिलो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रदेश सभापतिहरुको उपस्थिति रहेन छ ।
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका २ मा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरगढी गाउंपालिका धवाडीपुल स्थित भित्रिसडक खण्डमा सुकौराबाट कान्तिलोकपथ तर्फ आउदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट १२ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटना आमा छोरीको घटना स्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक मकवानपुरगढी २ कुर्ले पाखा बस्ने आन्दाजी ३५ बर्षिय भिम बहादुर स्याङतान गम्भीर घाइते भएका छन् । मोटरसाइकल पछाडी सवार निजकै श्रीमती अन्दाजी ३४ की रुपा स्याङतान र छोरी अन्दाजी ५ महिनाको बालिकाको घटनास्थलमा मृत्यु भएको छ ।
मोटरसाइकल चालक घाइते भएको र उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि भरतपुर रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।