चितवन । चितवनको टिकौली जंगलमा ट्रकमा बस ठोकिएर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा शुक्रबार बिहान इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जादै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको बस ठोक्किएर थियो । उक्त बसमा जनकपुरबाट काठमाडौंतर्फ जादै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको बससमेत ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
बस दुर्घटनापछि सडकमा पल्टिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनको सुरक्षा टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवनका विभिन्न अस्पताल पुर्याएको थियो । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।
क्रेनको सहायताले दुर्घटना भएको सवारी साधन हटाएर सडक एकतर्फी सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।
चितवन । चितवनको अग्रणी साहित्य सस्था कविडाँडा साहित्य समाजले कविडाँडा आख्यान पुरस्कार २०८१, तीर्थ गुरुङको ‘हिउँको गीत’ नामक कृतिलाई प्रदान गरेकाे छ । गुरुङद्वारा लिखित यो उपन्यासले सात सय वर्षअघिदेखि गुरुङ समाजको सामाजिक यथार्थलाई चित्रण गरेको छ ।
यसले राजनीतिक विषयलाई मात्र नभई सांस्कृतिक पक्षलाई समेत सशक्त रुपमा समेटेको छ। उक्त कृतिलाई पद्मश्री पुरस्कारको सूचिमा समेत सूचीबद्ध गरिएको थियो । जसले यसको साहित्यिक मर्मलाई थप पुष्टि गरेको छ । शनिबार एक कार्यक्रमका विच उक्त पुरस्कार प्रदान गरिएकाे हाे ।
यसैगरी आगामी वर्षदेखि प्रदान गर्ने गरि “कविडाँडा प्रतिभा पुरस्कार” समेत घोषणा गरिएकाे छ । लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको सस्थाले नेपाली साहित्यको प्रवर्द्धन र प्रोत्साहनका लागि उक्त पुरस्कारको घोषणा गरेको हो । कविडाँडा आख्यान पुरस्कार अर्पण समारोहमा समाजका अध्यक्ष एलबी क्षेत्रीले आगामी वर्षदेखि कविडाँडा प्रतिभा पुरस्कार वितरण गरिने घोषणा गरेका हुन् ।
उनका अनुसार उक्त पुरस्कारको राशी १ लाख ५० हजार रुपैयाँ रहने छ । यसअघि समाजले एक लाख २५ हजार रुपैयाँको कविडाँडा आख्यान पुरस्कार प्रदान गर्दै आएको थियो । यस वर्षैदेखि अझ वृद्धि गरी एक लाख पचास हजार रुपैयाँ पुर्याइएको छ। आगामी वर्षदेखि दुबै पुरस्कार एकसाथ घोषणा हुने र अर्पण गरिने संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिए।
२०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले २०७५ सालदेखिदेखि निरन्तर रुपमा वर्षभरि प्रकाशित उत्कृष्ट आख्यानलाई सम्मान गर्दै आएको छ। पुरस्कारको राशी मीना लामिछाने ट्रस्टले उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिए । सामाजिक, सांस्कृतिक र साहित्यिक उत्तरदायित्वहरुमा सक्रिय यो संस्था समय-समयमा विभिन्न साहित्यिक कार्यक्रम र पुरस्कारमार्फत नेपाली साहित्य समाजमा आफ्नो विशेष पहिचान बनाउँदै आएकाे छ।
आगामी वर्षदेखि अर्पण गरिने कविडाँडा प्रतिभा पुरस्कारले साहित्यिक प्रतिभालाई प्रोत्साहन दिने मात्र नभई नेपाली साहित्यको समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष क्षेत्री बताउँछन् । राष्ट्रियस्तरमा स्थापित यो पुरस्कारले आगामी पुस्ताको सृजनात्मक प्रवृत्ति बढाउन योगदान पुर्याउने छ । यसले नेपाली साहित्य क्षेत्रमा नयाँ ऊर्जा थप्दै साहित्यको विकास र संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने अनुमान छ ।
साहित्य जगतमा आफ्नो विशिष्ट योगदानका दिदै आएको कविडाँडा साहित्य समाजले यस अघि पनि नेपाली आख्यान र कविता लेखनलाई प्रोत्साहन गर्दै आइरहेको छ । आगामी दिनमा यस पुरस्कारले पनि साहित्यमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त अध्यक्ष क्षेत्री गर्छन् । कविडाँडा प्रतिभा पुरस्कार नेपाली साहित्य प्रेमीहरुका लागि उत्साहजनक, प्रेरणादायी र समग्र साहित्यिक परिदृश्यलाई अझ उज्जवल बनाउने आशा गरिएको छ ।
चितवन । चितवनका कवि मेनका चापागाईंको कवितासङ्ग्रह ‘मनको अदालत’ सार्वजनिक गरिएको छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आइतबार ११७ औँ लक्ष्मी जयन्ती विषेश कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, नगर प्रमुख मदनभक्त अधिकारी र कवि चापागाईंका मातापिताले कृति लोकार्पण गरेका हुन् । कृतिमा समसामयिक विषयवमा लेखिएका ६९ वटा कविता सङ्ग्रहित छन् । स्कुले जीवनदेखि नै साहित्य सिर्जना गरेको चापागाईंले कोरोनाकालमा कविता लेखनमा सक्रिय भएको बताउँछिन ।
कृतिमाथि प्राध्यापक रञ्जना लामिछाने र उदय अधिकारीले परिचर्चा समेत गरेका थिए । डाक्टर भूमिराज चापागाईंले कविको परिचय गराउँदै चापागाईं कविता पारखी भएको बताए । वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रमेश प्रभातले कवि चापागाईंको कविता लेखनको धार बलियो देखिएको बताए । कार्यक्रममा उदितप्रकाश सिग्देल, एकदेव रिमाल र विष्णु पन्थीले मनको अदालत कवितासङ्ग्रहबाट एकएकवटा कविता वाचन गरेका थिए । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित चापागाईंको पहिलो पुस्तकको मूल्य ३५१ रुपैयाँ रहेको छ ।
सोही कार्यक्रमको पहिलो खण्डमा कवि मनोज भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दै देवकोटाका केही श्लोकहरु वाचन गरेका थिए । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत गरेको कार्यक्रमलाई साहित्यकार लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
चितवन । द्वारिका नेपाल स्मृति गजल पुरस्कार- २०८२ द्वारा युवा गजलकार राजु आचार्य दीप सम्मानित भएका छन् ।
गजल मञ्च चितवनले शनिबार भरतपुरमा मोती जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई २५ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ साहित्यका केशबराज आमोदी लगायतले आचार्यलाई पुरस्कार प्रदान गरेका थिए ।
गजल मञ्च चितवनका पूर्व अध्यक्ष स्व. द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो । विशेषगरी गजल विधामा निरन्तर साधनारत चितवन तथा आसपासका युवा स्रष्टालाई यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आइरहेको मञ्च अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए ।
२०७९ सालबाट प्रदान गर्न थालिएको उक्त पुरस्कार पहिलोपटक गजलकार मुक्त उदासलाई प्रदान गरिएको थियो । यसैगरी २०८० सालमा गजलकार कमल अर्याल र २०८१ सालमा गजलकार विनोद अनुजलाई प्रदान गरिएको थियो । पुरस्कारका संरक्षक भरतपुरकी डिला खरेल हुन् । हाल उनी अस्ट्रेलियामा रहदै आएका छन् ।
गजल साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आएका साहित्यकार आचार्य ‘दीप’ हाल माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्यापन गर्छन् । प्रलेस, माडी साहित्य परिवार लगायतका संस्थाहरूमा सम्लग्न उनले रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन समेत गर्ने गरेका थिए ।
मकवानपुर । शिक्षा केवल परीक्षा पास गर्नु मात्र नभई, जीवन बुझ्ने कला भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । नीजि तथा आवाशीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन नेपाल) मकवानपुरले २०८१ सालको एसइई – २०८१ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीको सम्मानमा आयोजित कार्यक्रमका उहाँले यस्तो बताउनु भएको हो ।
शिक्षा सुखद् गन्तव्य तिरको यात्रा भएको बताउनु हुँदै उहाँले एसइईमा सफलता हासिल गरेकालाई बधाई ज्ञापन गर्नुभयो । “बिद्यार्थीहरू असिमित क्षमताले भरिपूर्ण हुनुहुन्छ, तपाईं भित्रका क्षमताको तस्बीर खिच्ने कुनै क्यामेराको आबिष्कार भएको भए तपाई विद्यार्थीहरू आफ्नो क्षमता थाहा पाएर दङ्ग पर्नुहुन्थ्यो र तपाईका अभिभाबक कुर्सीमा बसेर मुसुमुसु हाँस्नुहुन्थ्यो होला” उहाँले भन्नुभयो । “नतिजा उत्कृष्ट ल्याउन योगदान गर्ने गुरुजन, अभिभावक, विद्यालय प्रशासन र विद्यार्थीले झेलेका कठिनाइहरू पनि सहयात्री हुन् उहाँले भन्नुभयो “विद्यार्थी आजको विद्यार्थी मात्र होइन, भोलिको नीति निर्माता, वैज्ञानिक, समाज सुधारक बन्न सक्ने सम्भावना बोकेका नागरिकहरू हुन् ।”
विद्यार्थीबाट परिवार, समाज र राष्ट्रले तपाईंहरूबाट धेरै अपेक्षा राखेको उहाँले स्मरण गराउनुभयो । मेहनतकर्मी सन्ततिको उज्ज्वल भबिष्यको दियो बालेर बस्ने आमाबुवाको सपना तुहाउने छुट तपाईंहरूलाई नभएको उहाँले बताउनुभयो। विद्यार्थीमा मेहनत, अनुशासन र संस्कारको जग बसिसकेकोले अध्ययनलगायत जीवनका बाँकी परीक्षाहरूमा खरो उत्रिने आशा आफूले लिएको देवकोटाले बताउनुभयो ।
कार्यक्रममा प्याब्सन मकवानपुर प्रमुख सल्लाहकार मदन दाहालले शिक्षा विकासको लागि निजि स्कुलको योगदान अद्वितीय रहेको बताउनुभयो । प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुबेदीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मकवानपुरबाट ३.६ देखि ४ जीपीए प्राप्त गरी एसइई- २०८१ पास गर्ने बिद्यालय र विद्यार्थीलाई सम्मान गरिएको थियो ।