मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा आर्थिक वर्ष २०७९/ ०८० मा ६६ वटा उजूरीहरु दर्ता भएका छन् । गत आर्थिक वर्षमा बक्यौता रहेका समेत ५९६ वटा उजूरी हाल कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ ।
कार्यालयको निमित्त प्रमुख रेवा रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा आयोगमा ६७ वटा उजूरीहरुमा अनुसन्धान कार्य सम्पन्न भई अन्तिम निर्णयको लागि आयोगको केन्द्रीय कार्यालयमा पठाइएको छ ।
प्राप्त उजूरीहरुको प्रकृति हेर्दा जीवनको अधिकार, न्याय प्रशासन, शान्तिपूर्ण रुपमा भेला हुन पाउने तथा सभा सम्मेलन गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, रोजगारी, महिला अधिकार, घरेलु हिंसा, बाल अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा जेष्ठ नागरिकको अधिकारलगायतका विषयसंग सम्बन्धित उजूरीहरु रहेका छन् ।
विगतमा यस कार्यालयमा सबैभन्दा बढी उजूरी बेपत्ता पार्ने व्यक्ति विरुद्धको अधिकार सम्बन्धी उजूरीहरु २१६ वटा, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी उजूरीहरु १२० वटा, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी ४४ वटा, यातना विरुद्धको अधिकार सम्बन्धमा ३३ वटा उजूरी परेका थिए ।
जीवन, समानता, स्वतन्त्रता र मर्यादालाई मानव अधिकारको परिभाषामा समेटेर कार्य गर्दै आएको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चितता प्रदान गर्दै आएको छ ।
यस बाहेक स्वतन्त्रता र सभा सम्मेलनको अधिकार, विभेद विरुद्धको अधिकार, कैदीबन्दीको अधिकार र स्वच्छ वातावरणको अधिकार हननलगायतका विषयहरु रहेका थिए । यस बाहेक आयोगले मानव अधिकार हनन् भएका विभिन्न घटनाहरुमा परामर्श सेवा पनि प्रदान गर्दै आएको रेग्मीले बताइन् ।
आयोगले आफ्नो क्षेत्राअधिकारभित्र नपर्ने उजूरीहरु उपर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाउने गरेको छ । यस आवमा यस कार्यालयले ११० वटा परामर्श सेवा उपलब्ध गराएको छ । यस आवमा यस कार्यालयबाट ३१ पटक मानव अधिकार अवस्था सम्बन्धमा अनुगमन गरिएको उनले बताइन् ।
आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आयोगले आफ्नो प्रगती प्रतिवेद बुझाएको छ । नेपालको संविधान,२०७२ को धारा २९४ (३) बमोजिम राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको वार्षिक प्रतिवेदन पेश गरेको हो ।
मकवानपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ का रामबहादुर रुम्बाले आमाबुबा र दाइको स्मृतिमा प्रतीक्षालय निर्माण गरेका छन् ।
उनले आमा केशरी, बुबा सुनलाल र दाई जितबहादुर रुम्बाको स्मृतिमा हेटौंडा–१४ स्थित कालोपानी चोकमा प्रतीक्षालय निर्माण गरेका हुन् । करिब १ लाख ५० हजार लागतमा निर्माण गरिएको प्रतीक्षालयको शनिबार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् ।
प्रतीक्षालय उद्घाटन गर्दै नगर प्रमुख लामाले सामाजिक कार्यले हेटौंडा उपमहानगरको विकासमा सहयोग पुग्ने बताइन् । लामाले आफ्नो परिवारको सम्झनामा प्रतीक्षालय निर्माण गरेकोमा रुम्बा परिवालाई धन्यबाद दिदै सामाजिक कार्यमा जोडिन आग्रह गरिन् ।
१४ नम्बर वडालाई हेटौंडा बजारसँग जोडेर बजारको अनुभूति हुने गरी काम गर्ने तयारी उपमहानगरपालिकाको रहेको उनले बताइन् । आफ्नो कार्यकालमा सबै पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य रहेको लामाले बताइन् । निर्मित प्रतीक्षालय सक्रिय टोल कालोपानी, कालोपानी हुँदै उत्तरपानी र कालोपानी हुँदै बाँडाचौर जाने बाटोको मध्यभागमा पर्दछ । तीनतिरबाट आएका यात्रुहरुलाई थकान मार्न प्रतीक्षालयमा प्रयाेगमा आउन सक्छ ।
चितवन । सारस्वत रत्न पुरस्कारबाट प्राडा कृष्णप्रसाद पौडेल सम्मानित भएका छन् । चितवनकाे रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने ‘सारस्वत रत्न पुरस्कार-२०८०’ डाक्टर पौडेलद्वारा लिखित `लय छुटेको समय´लाई प्रदान गरिएको हो ।
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार डाक्टर पौडेललाई नगर ३० हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् । प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार उक्त पुरस्कार प्रदान गर्ने योजना अनुसार आह्वान गरेको थियो । प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो ।
पौडेलका यसअघि ‘खुसीहरूको वनवास’ कवितासङ्ग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ (हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी) पुस्तक प्रकाशित छन् । लय छुटेको समय डाक्टर पौडेलको संस्मरण हो । यसमा बिरामी र डाक्टरका भोगाइहरू समेटिएका छन् । डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन् । अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन् । उनी उक्त अस्पतालमा २ पटक मेडिकल सुपरिटेन्डेन्ट पदमा रहेर काम गरिसकेका छन् ।
कार्यक्रममा सम्मानित स्रस्टाको व्यक्तित्व र कृतित्वका बारेमा प्राध्यापक लक्ष्मण अर्यालले बोलेका थिए । कार्यक्रमको दोस्रो चरणमा विभिन्न स्रस्टाले रचनावाचन गरेका थिए । कार्यक्रमलाई राजेन्द्र हमाल र कमल अर्यालले सहजीकरण गरेका थिए । कार्यक्रममा पौडेलका मातापिता कपिलामणि र तुलसी पौडेल पनि सहभागी थिए ।
भरतपुर । चितवनमा चियासँग कविताको ५० औँ शृङ्खलामा हेटौंडेली कवि शान्ति प्रियवन्दनाले कविता सुनाएकी छन् । शनिबार भरतपुरमा कवि शान्तिले समय शीर्षकको कविता सुनाएर कार्यक्रमको शुरुआत गरिन् ।
समयले आफूलाई धेरै कुरा सिकाएको र समय अनुसार आफू चल्न कोसिस गरेको भाव उनले कवितामा उतारेकी थिइन् । कार्यक्रममा शान्तिले १२ वटा कविता सुनाइन् । वोनस कविताको रूपमा उनले आफ्नो कवितासङ्ग्रह जिल खाइरहेको एक्काइसौं शताब्दीबाट एउटा कविता थप सुनाइन् । शान्तिका कवितामाथि ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल र नमूना शर्माले टिप्पणी गरेका थिए ।
चियासँग कविताको शृङ्खला २०७३ साल साउन १५ गते सुरुवात भएको हो। शनिबार स्वर्ण शृङ्खला आयोजना भएको छ । पहिलो शृङ्खलामा कवि गोविन्दराज विनोदीले कविता सुनाएका थिए । त्यसपछि नियमितरूपमा भइरहेको कार्यक्रम कोरोनाकालमा रोकिएको थियो । ‘अहिले अवस्था सहज भएकोले यो शृङ्खलालाई नियमित लैजाने भएका छौँ´, शृङ्खलाका सदस्य भूपिनले भने ।
चियासँग कविताको स्वर्ण शृङ्खलामा चितवनका स्रष्टा तथा साहित्यानुरागी र कवि शान्तिका पारिवारिक सदस्यलगायतको उपस्थिति थियो ।

मकवानपुर । शिक्षाकाे गुणस्तर सुधारकाे लागि हेटाैंडा उपमहानगरपालिका वडा नं. १५ ले वडा स्तरीय शैक्षिक महाेत्सव २०८० गर्ने भएकाे छ ।
वडामा रहेका ८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयकाे प्रत्यक्ष सहभागितामा शैक्षिक महाेत्सव गर्न लागिएकाे हाे । वडा कार्यालयले शिक्षाकाे गुणस्तर सुधार र सिकाइ सिप आदनप्रदानकाे लागि याे शैक्षिक महाेत्सव महत्वपूर्ण थलाे भन्ने वडा अध्यक्ष सुनिल माेक्तानले बताए ।
वडा अध्यक्ष माेक्तानकाे अध्यक्षतामा वडा शिक्षा समिति गठन गरिएकाे छ । वडा कार्यालयकाे आयाेजना तथा उत्त समितीकाे समन्वयमा महाेत्सव गर्न लागिएकाे हाे । महाेत्सवमा १९ प्रकारका खेल तथा रचनात्मक प्रतियाेगीताहरु हुने जनजागृती माविका प्रध्यानाध्यापक केशव सञ्जेल जानकारी दिए । उक्त महाेत्सव ३ दिनसम्म चल्ने छ ।
वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्ताे जानकारी गराएकाे हाे । आगामी फागुन ७,८ र ९ गते विहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म वनदेवी आधारभूत माविमा महाेत्सव हुने प्रअ सञ्जेलले बताए । महाेत्सवमा मार्चपास, खेल प्रतियोगिता रिले रेस, बेलुन फुटाउने र बचाउने, म्युजिकल चियर, चित्रकला, हाईजम्प, लङजम्प, साहित्यिक कार्यक्रम , बतृत्वकला, नृत्य, हिसाब दौड प्रतियोगिता, हस्तकला शैक्षिक सामग्रीकाे प्रदर्शनीलगायत रहने छन् ।
खेल तथा प्रतियाेगितात्मक कार्यक्रममा विद्यार्थीहरुकाे तहगत प्रतिष्पर्धा हुने छ । यसैगरी विद्यालय व्यवस्थापक समिति, शिक्षक अभिभानक समिति, शिक्षकहरुबीचमा समेत प्रतियाेगिता रहने छ ।
यसैगरी वडा भित्रको शैक्षिक व्यक्तिलाई सम्मान समेत रहने छ । यसैगरी हरेक विद्यालयबाट उत्कृष्ट शिक्षक विद्यार्थी र अभिभावकलाई पनि सम्मान गरिने छ ।
कार्यक्रमकाे लागि ४ लाख बजेट छुट्याइएकाे छ । महाेत्स्कुसवबाट प्रत्यक्ष रुपमा २ हजार जनाले हरेक दिन लाभ लिन सक्ने वडा अध्यक्ष माेत्तानले बताए । यस वडामा १ हजार ७ सय विद्यार्थी रहेका छन् । कार्यक्रममा सहभागी हुने टाढाबाट आउनेलाई विद्यार्थीहरुलाई आवासको समेत व्यवस्था छ ।
महाेत्सवकाे बारेमा जानकारी दिन आयाेजना गरिएकाे कार्यक्रममा वडा अध्यक्ष मोक्तानले विद्यार्थीहरुकाे ड्रप आउटको कारण पत्ता लगाउनेको लागि पनि महोत्सव प्रभावकारी हुने बताए । ‘याे महाेत्सव स्कुल पिच्छे सिकाइको तरिका शेयर गर्ने थलो बन्नेछ’ उनले भने ।