मकवानपुर/बितेको एक वर्षको अवधिमा बागमती प्रदेशका १० जिल्लामा दर्ता भएका मुद्दाहरु मध्ये ४९ प्रतिशत मात्रै फैसला भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा अनुसार उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका अन्य १० जिल्लामा दर्ता भएका कुल ४ हजार ५ सय ८६ वटा मुद्दा मध्ये ४९ दशमलब १९ प्रतिशत अर्थात २ हजार २ सय ५३ वटा मुद्दाहरु मात्रै फर्स्याैट भएका छन् ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाका अनुसार १० जिल्लाका प्रहरी कार्यालयमा परेका उजुरी मध्य २ हजार ३ सय ३३ वटा मुद्दाको फर्स्याैट हुन बाँकी रहेको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मध्ये ८ सय ६६ वटा मुद्दामा ५ सय १८ वटा मुद्दाको मात्रै किनारा लागेको छ । त्यसैगरी चितवन प्रहरीमा १ हजार २ सय ६६ वटा मुद्दामा ७ सय ४५ वटा मुद्दा फर्स्याैट भएका छन् । सिन्धुली जिल्लामा ३ सय ३४ वटा मुद्दामध्ये ५४ वटा,रामेछाप जिल्ला प्रहरीमा १ सय ९९ वटा मुद्दा दर्ता भएकोमा ५४ वटा,दोलखा जिल्लामा २ सय ४० मध्ये १ सय २ वटा, काभ्रे जिल्ला प्रहरीमा ५ सय ५७ वटा मुद्दा दर्ता भएकोमा ३ सय १ वटा फस्र्यौट भएको लामाले बताउनु भयो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लामा ३ सय ६१ मध्ये १ सय ४९ वटा,नुवाकोट जिल्लामा २ सय ५८ मध्ये १ सय १४ वटा, धादिङमा ४ सय ५७ मध्ये १ सय ९० वटा तथा रसुवा जिल्ला प्रहरी कार्यालयका ५२ मध्ये २६ वटा मुद्दा फैसला भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरको ३ सय ४८, चितवनको ५ सय १७,सिन्धुलीको २ सय ८०, रामेछापको १ सय ४५, दोलखाको १ सय ३२,काभ्रेको २ सय ५६,सिन्धुपाल्चोकको २ सय ९२, नुवाकोटको १ सय ४४ वटा, धादिङको २ सय ६७ तथा रसुवा जिल्लाको २६ वटा मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेको छ ।
प्रहरीमा परेका मुद्दाहरु दोषी फेला नपर्नु, आरोपित फरार हुनु, आत्महत्याका मुद्दामा दोषी पत्ता नलाग्नु, भवितव्य भएका मुद्दामा दोषी नदेखेका कारण मुद्दाको कम फर्स्याैट भएको डीआइजी लामाले बताउनु भयो । कोरोना संक्रमणपछि आत्महत्या र हिंसाका घटना बढेको र समग्र अपराधका घटना कम भएको उनले जानकारी दिए ।
मकवानपुर। मकवानपुर प्रहरीले १२ केजी चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । मकवानपुरका थाहा नगरपालिका ७ को खर्कबाट चन्द्रागिरी नगरपालिका जाँदै गरेको प्रदेश नम्बर ३-०३-००१ ह ०२५९ नम्बरको अटो बाट चरेश सहित ३ जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।
चरेश सहित फेला परेको अटोमा सवार थाहा नगरपालिका ७ महादेव खर्कका ३० वर्षिय शुभराज घलान, थाहानगर कै छापटोलका ३३ वर्षीय नारायण सिं मुक्तान र थाहा नगरकै फेदीगाँउ देउरालीका ४७ वर्षिय अटो चालक कृष्ण बहादुर गुरुङलाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ परेकाहरुलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म दण्ड सजाय हुनसक्ने मकवानपुर प्रहरीले जनाएको छ ।
इन्सेक बागमती प्रदेशद्वारा भीमफेदी कारागारलाई पुस्तक सहयोग
Tags: 2 Comments
मकवानपुर / अनौपचारिक क्षेत्र सेवा (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसमा इन्सेक बागमती प्रदेश कार्यालयले मकवानपुरको भीमफेदी कारागारलाई मानव अधिकारसँग सम्बन्धित पुस्तकहरु सहयोग गरेको छ ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमलगायतले शुक्रबार कारागारमा पुगेर सन् २०१० देखि २०२० सम्म इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक, मानव अधिकारका ठूला नौ महासन्धि, नेपालको संविधानमा भएका मौलिक हकहरुको संगालो, महिला, दलित र अपाङ्गतासम्बन्धी विद्यमान कानुन तथा नीति र कार्यान्वयनको अवस्था, खाद्य, शिक्षा र स्वास्थ्यसम्बन्धी विद्यमान कानुन तथा नीति र कार्यान्वयनको अवस्था बाल अधिकार शिक्षा, प्राचीलगायतका पुस्तक कारागार प्रशासन प्रमुख प्रकाश खनाललाई हस्तान्तरण गर्नु भएको हो ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयरबस दुर्घटनामा मृत्यु भएको थियो । उहाँको स्मृतिमा प्रत्येक वर्ष इन्सेकले साउन १६ गते रचनात्मक कार्यक्रम गर्दै आएको छ । यसै अवसरमा इन्सेक बागमती प्रदेश संयोजक गौतमले कारागार प्रमुख खनाललाई पुस्तक हस्तान्तरण गर्दै काराकारलाई सुधार गृहका रुपमा लिनु पर्ने र कैदीबन्दीलाई मानव अधिकार मैत्री व्यवहारको आवश्यकता रहेको बताउनु भयो । ‘कारागारलाई सुधार गृहको रुपमा विकास गर्न पटक पटक विभिन्न समितिहरु बने, तर ति समितिहरुले बुझाएको प्रतिवेदन गृह मन्त्रालय पुगेर थन्किने गरेको छ’ गौतमले भन्नु भयो ‘यस कारण पनि कैदीबन्दीहरुको मानव अधिकार संरक्षणमा समस्या छ ।’
कार्यक्रममा कारगार प्रशासन प्रमुख प्रकाश खनालले कारागारको भौतिक सुधार गर्नुका साथै स्वास्थ्य उपचारको लागि दुई बेडको कक्ष कारागार भित्रै स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले कारागारका दुई ओटा ब्लकमा पुस्तकालय रहेको पुस्तकहरु प्रयाप्त मात्रमा नभएको अवस्थामा मानव अधिकारसँग सम्बन्धित पुस्तक इन्सेकले उपलब्ध गराइ दिएकोमा धन्यवाद आभार व्यक्त गनुभयो । कारागारका कैदीबन्दीलाई मानव अधिकार मैत्री शिक्षाका लागि पुस्तकले सहयोग पु-याउने उहाँले बताउनु भयो ।

नेपालको कानुनमा धेरै राम्रा व्यवस्था भएपनि व्यवहारीक कार्यान्वयन पक्ष फितलो भएको उहाँले बताउनु भयो । भौतिकलगायतको स्रोत साधनको अभावमा एक पक्षको मानव अधिकार रक्षा गर्न खोज्दा उल्लङ्घन भएको भान आफूलाइृ हुने गरेको उहाँले बताउनु भयो । कारागार ऐन, नियम तथा कार्यविधि अनुसार आफूहरुले जिम्मेवारी वहन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो ‘कारागारबाट सजायँ भुक्तानि गरेर छुटेरकाहरु केही समयमा पुनः आउने गरेका छन्, यसले नै देखाउँछ कि नेपालको कारागार सुधारगृह जस्तो छ कि छैन भनेर ।’
उहाँले अन्य जिल्लाहरुमा रहेको कारागारको तुलनामा भिमफेदी कारागारमा धेरै राम्रो तथा पारिवारीक वाताबरण भएको उल्लेख गर्नुभयो । कारागारमा कर्मचारी, सुरक्षकर्मी, बजेट लगायतको व्यवस्थापनमा हेलचक्र्याई गर्ने गरेको गुनासो उहाँले गर्नुभयो । पुस्तक हस्तान्तरण कार्यक्रममा कारागारका सुरक्षा प्रमुख असई सन्तोष कुमारले कारागारको सुरक्षा प्रबन्ध व्यवस्थित रहेको र कैदीबन्दीको आचरण र व्यवहार सुधार गर्न लागि परेको बताउनु भयो ।
कारागार सुधार गृहको रुपमा व्यवस्था गर्ने भन्ने सरकारी नीति व्यवहारमा लागु नभएको कारागारका चौकिदार सुरेश मोक्तानको गुनासो छ । ‘कसैले पोल गरेको आधारमा सजाय तोकिनु दुखद् हो, सजायँ भुक्तानि गरेर घर फर्केकाहरुलाई समाजका रुपान्तरण गर्नै पनि समस्या भएको गुनासो चौकिदार मोक्तानको छ ।
महङ्गी बढेपछि कैदीबन्दीहरुलाई खर्चको अभाव हुने गरेको, राज्यले छुटको व्यवस्था गरेको भएपनि त्यो समान नभएको मोक्तानको भनाई छ । राज्यले कारागारमा २५ जना कैदीबन्दीलाई रेखदेख गर्न १ जना नाइके र १० जना कैदीबन्दीलाई रेखदेख गर्न १ जना सहनाइके तोकिएको कारण नाइके सहनाइकेलाई पनि रेखदेखमा समस्या भएको मोक्तानको भनाई छ । ‘अपराधिक गतिविधिमा संलग्न भएर आएका २५ जनालाई १ नाइकले कसरी कन्ट्रोल गर्न सक्छ ?’ चौकिदार मोक्तानको प्रश्न छ । कम्तिमा १० कैदीबन्दी बराबर १ नाइन र ५ कैदीबन्दी बराबर १ सहनाइके हुनु पर्ने आवश्यकता औल्याइएको छ ।
मकवानपुर जिल्लाको भिमफेदी कारागारमा हाल ६६ वर्ष नाघेका १ सय जना सहित ९ सय ३१ जना कैदीबन्दी रहेका छन् । कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम अधिकृत गणेश भण्डारी, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने १५ जना सवारी चालकहरू नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । पछिल्लो समय थप ४ जना सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिप्रका मकवानपुरका अनुसार नियन्त्रणमा लिइएको सवारी साधनका चालकहरूलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान जारी राखिएको हो । प्रहरीका अनुसार साउन १४ गते राति हेटौंडा उपमहानगरपालिका–१९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी चेक पोष्ट तथा हेटौंडा उपमहानगरपालिका–८ स्थित ईलाका प्रहरी कार्यालय पशुपतीनगरको प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पारेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
सुरक्षा मापदण्ड विपरीत राँगा, भैसी लोड गरी ल्याउदै गरेकोले आवश्यक कागजात पु-याएर मात्र लैजान सम्झाई बुझाई गर्दा सवारी चालकले आफ्नो कमजोरी ढाकछोप गर्न अनुरोध गर्दै ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभन देखाइएको प्रहरीको दावि छ ।
प्रहरीका अनुसार ना. ७ ख ६२२४ नं. को आईचर ट्रकको चालक पर्सा जिल्ला विरगंज महानगरपालिका–३२ बस्ने ३३ वर्षिय नसुरदिन अन्सारी, ना ४ च ८३९४ नं. को पिकअप गाडीको चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–४ भेलही बस्ने २१ वर्षिय गुलाम अन्सारी, ना ६ ख ५६३६ नं. को ट्रकको चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३२ बस्ने ३४ वर्षिय लाल अन्सारी र ना ६ ख ९४७ नं. को ट्रकको चालक सर्लाही जिल्ला बरहथवा नगरपालिका–९ मुर्तिया बस्ने २३ वर्षिय अरूण महतोलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनु भयो ।
पाँच वर्षमा ५७ प्रतिशत काम
Tags: No Comments
सम्झना घिमिरे
मकवानपुर /भूकम्पपछिको पुनर्निर्माण कार्य साह्रै सुस्त गतिमा रहेको पाइएको छ । मकवानपुरमा निजी आवास तर्फ करिब ५७ प्रतिशत प्रगति भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरको तथ्याङक अनुसार पाँच वर्षको अवधिमा ५७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको हो ।
जिल्लामा पहिचान भएका ३४ हजार ६ सय ८५ परिवारमा १९ हजार ९ सय ३५ घरहरु निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख विमल किशोर केपीले जानकारी दिनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार (कार्यालयका अनुसार प्रथम किस्ता प्राप्त गर्ने भूकम्प पीडित ३० हजार ९ सय ३२ परिवार रहेका छन् ।
त्यस्तै दोस्रो किस्ता प्राप्त गर्ने भूकम्प पीडित २६ हजार ४ सय ९६ परिवार रहेका छन् । यसैगरी तेस्रो किस्ता प्राप्त गर्ने भूकम्प पीडित २१ हजार ६ सय ३९ परिवार रहेको उनले जानकारी दिनुभयो ।
प्रवलिकरणको गति झन् सुस्त
जिल्लामा भुकम्पपछि क्षति भएका निजि घरहरु प्रवलिकरण गर्नुपर्ने भनि पहिचान भएकाहरुको प्रगति विरण झनै टिठ लाग्दो छ । हालसम्म १ प्रतिशत पिडितले मात्र प्रवलिकरणको लागि दोश्रो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (आवास) मकवानपुरका सुचना अधिकारी सन्तोस लम्सालले बताउनु भयो ।
मकवानपुरमा १३ हजार २ सय ४९ वटा प्रवलिकरणको लाभग्राही रहेको तथ्याङ्क छ । जसमा १० हजार ७४ अर्थात् ७६ प्रतिशत लाभग्राहीले सम्झौता गरेको आयोजनाले जनाएको छ । ३ हजार १ सय ७५ अर्थात २४ प्रतिशत पिडितले अझै सम्झौता गरेका छैनन् । प्रवलिकरणको सूचिमा परेका १० हजार २४ परिवारले पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिनेहरु जम्मा १ सय १३ जना मात्र छन । यसैगरी १८ जना लाभग्राहीले सम्झौतापछि लगेको रकम फिर्ता गरेका छन् । गुम्बाको मर्मत तथा प्रवलिकरणमा पनि आधाजसो काम मात्रै भएको देखिएको छ ।
आव ०७४/ ७५ मा जिल्लाका ४४ वटा गुम्वा प्रवलिकरणमा गर्नुपर्ने सूचिमा परेका मध्ये २५ वटा गुम्वाको निर्माण कारय सम्पन्न भईसकेको छ ।
भूमिहिन लाभग्राहीसँग सम्झौता अन्तिम चरण
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरले जिल्लाका भूमिहिन लाभग्राहीहरुसँग निजि आवास निर्माण सम्झौता भने अन्तिम चरणमा पुगेको जनाएको छ ।
जिल्लामा पहिचान भएका ५ हजार १ सय भूमिहिन मध्ये ४ हजार ८ सय करिव ९४ प्रतिशत भूमिहिन लाभग्राहीहरुसँग निजी आवासका लागि सम्झौता भईसकेको इकाई प्रमुख केपीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ६ प्रतिशत भूमिहिनहरुको समस्याका माथि छलफल भईरहेको छ । विगत लामो समयदेखिको समस्याको रुपमा रहेको भूमिहिनको विषय अहिले समाधान भएको उहाँले बताउनु भयो । आफ्नो भूमी नभएको तर ऐलानी जग्गामा लामो समय बसोबास गरेको आधारमा उनीहरुसँग स्थानिय तहले जिम्मेवारी प्राप्त गरेपछि सम्झौता प्रक्रिया अघि बढाईएको उहाँले बताउनुभयो ।
पुलको काम अघि बढ्न सकेको छैन जिल्लामा भिमफेदि–कोगटे–ईपा–देउरालि सडक खण्डमा पर्ने धर्मेलि खोला सडक पुल र सोहि सडकखण्डमा पर्ने कोगटे खोला सडक पुलको काम सम्झौता भएको करिव ६ महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन ।
कार्यान्वयन इकाइले दुईवटा पुलको निर्माणका लागि डाइनामिक भद्रकालि जेभि चितवनसँग गत वर्ष पुसमा सम्झौता गरेपनि लगत्तै देशमा कोरोना भाईरसको महामारिका कारण काम अघि बढ्न नसकेको बताइएको छ । धर्मेलि खोला सडक पुलको कुल लागत रकम ४ करोड ५७ लाख १० हजार भएपनि जेभिसँग ३ करोड ५१ लाख ६६ हजार रुपियाँमा सम्झौता भएको र सुरुको कामको प्रक्रिया अघि बढाउन ३० लाख रकम लगानि गरिसकेको इकाइले जनाएको छ ।
त्यस्तै ४ करोड ४० लाख ६३ हजारको कुल लागत रहेको कोगटे खोला सडक पुलको ३ करोड २९ लाखमा सम्झौला भएको छ । उक्त दुबै पुल २०७८ असार मसान्त सम्ममा सम्पन्न हुनुपर्ने योजनाहरु हुन् ।
निजी आवासमा डेढ अर्ब खर्च
जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले अघिल्लो आर्थिक वर्षमा निजि आवासका लागि ६१ प्रतिशत खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा निजी आवास निर्माणका लागि विनियोजित २ अर्ब ४९ करोड ५३ लाख मध्ये १ अर्ब ५३ करोड १६ लाख खर्च भएको इकाइ प्रमुख केपीले जानकारी दिनुभयो । निजि आवासका लागि बैदेशिक श्रोतबाट १ अर्ब ९५ करोड रुपियाँ प्राप्त भएकोमा १ अर्ब ४ करोड ६३ लाख खर्च भएको छ भने नेपाल सरकारबाट ५४ करोड २९ लाख प्राप्त भएकोमा ४८ करोड ५३ लाख रुपियाँ खर्च भएको छ ।
इकाईले अघिल्लो आर्थिक वर्षमा आफ्नो चालू तथा पुजिगत गरि कुल खर्चको कुल ५८ दशमलब २६ प्रतिशत खर्च गर्न सफल भएको छ । इकाइका लागि विनियोजित २ अर्ब ८९ करोड २० लाख ४९ हजार रुपियाँ मध्ये १ अर्ब ६८ करोड ५० लाख ४० हजार रुपियाँ खर्च गर्न सफल भएको छ ।
अघिल्लो आर्थिक वर्षमा गुम्बाको प्रवलीकरणका लागि २ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ । २५ वटा गुम्बाको प्रवलीकरणका उक्त रकम खर्च भएको उहाँले बताउनु भयो । ४४ वटा गुम्बा प्रवलीकरणका लागि सिफारिस भए पनि २५ वटा मात्रै प्रवलीकरण भएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि ४ करोड ८० लाख विनियोजन भएकोमा ५१ प्रतिशत खर्च भएको इकाइले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छनौट गरेर पठाएको आधारमा गुम्बाको पुनर्निमाणका लागि रकम विनियोजन गरिएको छ ।
चालु आवका लागि ५३ करोड विनियोजन
जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका लागि चालु आर्थिक वर्षमा ५३ करोड २० लाख ७६ हजार रुपियाँ बजेट विनियोजन भएको छ । यस मध्ये १३ वटा गुम्बा पुनर्निर्माणका लागि ४ करोड १ लाख ५८ हजार रुपियाँ विनियोजन गरिएको छ ।
सडक निर्माण तथा भने केही काम भएको आयोजनाले जनाएको छ । कुल २३ दशमलब ६४ किलोमिटर सडक खण्डको समेत ७३ प्रतिशत काम सम्पन्न भईसकेको छ ।
यस्तै, निजी आवासका लागि ३२ करोड ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । इकाईले निर्माण गरिरहेको सडकका लागि चालु आर्थिक वर्षमा ८ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । भिमफेदी–कोगटे–इपा–देउराली–सिस्नेरी सडक खण्डका लागि २५ करोड रुपियाँमा सम्झौता भएको छ । जेठ मसान्तमा ठेक्का सम्झौता सकिए पनि ६ महिनाका लागि समय थप भएको उहाँले बताउनु भयो ।
यस्तै, कोगटे खोला सडक पुलका लागि २ करोड २५ लाख रुपियाँ र धर्मेली खोला सडक पुलका लागि २ करोड ७० लाख रुपियाँ विनियोजन भएको छ । यो दुबै पुल क्रमागत आयोजना हो । कोरोना महामारीका कारण सबै प्रकारको पुनर्निर्माणमा अवरोध आएकोले पर्याप्त खर्च हुन नसकेको उहाँले बताउनु भयो ।