मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) केन्द्रीय अध्यक्ष थापाले राप्रपा फुट्नको लागि नभएको दाबी गरेका छन् । गृह जिल्ला मकवानपुरमा शनिबार हेटौंडा उपमहानगरपालिका राप्रपा नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष थापाले आउँदो दिनमा राप्रपा नफुट्ने बताएका हुन् । मेरो ४ वर्षे कार्यकाल नसकिदै फेरी पार्टीलाई एक गराउने काम भएको छ उनले भने अब फेरी पार्टी फुटाउने छैनौ भनेर दुई अध्यक्षलाई गिता छुन लगाएर कसम खुवाएको छु । त्यसकारणले गर्दा पार्टी फुट्दैन् ।’
अध्यक्ष थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताए छन् । उनले मुलुकमा अहिले नयाँ सोच र चिन्तनका साथ राजनीतिक स्थायित्वका लागि सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष थापाले मुलुकमा सुशासन स्थापना र आर्थिक समृद्धि ल्याउनका लागि नेपाली जनताले नेकपालाई दुई तिहाइको बहुमत दिएको उल्लेख गर्दै उक्त पार्टीका आन्तरिक झगडाले उग्र रुप लिँदा अहिले संसदीय प्रजातन्त्रमाथि नै सङ्कट आइपरेको आरोप लगाए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि मुलुकमा आर्थिक समृद्धि ल्याउनेतर्फ केन्द्रित हुनुका सट्टा सरकार परिवर्तन गर्ने भूमिकामा तल्लिन हुँदा देशमा अराजकता र हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सनातन हिन्दूधर्मको संरक्षणका लागि राप्रपा अग्रसर रहेको बताए।
राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारीले प्रजातन्त्रको मूल्य–मान्यतालाई राजनीतिक दलले आत्मसात गर्न नसक्दा अहिले मुलुक सङ्कटको धरापमा फसेको बताए।
पार्टीका जिल्ला अध्यक्ष रामहरि न्यौपाने, जिल्ला महिला प्रजातान्त्रिक सङ्गठनका अध्यक्ष इन्दिरा न्यौपाने र राप्रपा हेटौँडा उपमहानगरपालिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपाले देशमा प्रजातान्त्रिक संस्कार र आर्दशलाई अवलम्बन गरेर पार्टीको सङ्गठनलाई दरिलो बनाउन जनताको घरदैलोमा पुग्नुपर्ने बताए ।
मकवानपुर । मकवानपुरको मनहरीमा ट्रक एक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा बस र ट्रक दुुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शनिबार बिहान करिब ३ बजे तिर हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ । ठक्कर खाई दुर्घटना हुदाँ बसका चालक सहित ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बस चालक वीरगन्ज–१५ का ३५ बर्षीय मदन कुमार थापा क्षेत्री, बसका यात्री भारतीय नागरिकद्धय अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र ४० बर्षीय सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक जयश्वर रिमालले बताए ।
उनका अनुसार बस चालक र सुनिल कुमारको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको रिमालले बताए । उक्त दुर्घटनामा बसका ७ जना र ट्रकका चालक, सहचालक र एक जना यात्रु सहित १० जना घाइते रहेको उनीहरुको हेटौंडा र भरतपुरस्थित पुरानो मेडिकल कजेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको चैत अन्तिम साता हुने ५४ औं साधारण सभा सुरु भएको छ । निर्वाचनको लागि उम्मेदवारी घाेषणा गर्ने क्रम चलिरहेकाे छ । यसैक्रममा उद्योग वाण्ज्यि संघको अध्यक्षमा राजकुमार न्याैपाने सहित ४ उपाध्यक्षको शुक्रबार उम्मेदवारी घोषणा भएको छ । संघको निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने अध्यक्ष रहने गरी प्यानल घोषणा भएको हो ।
न्यौपानेको अध्यक्षतामा उपाध्यक्ष बस्तुगत तर्फ राजु अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । अधिकारीले मकवानपुर कुखुरा व्यवसायी संघ लगायत व्यवसायी संघ संस्थाको नेतृत्व गरेका छन् । यस्तै हेटौंडा लेडी जेसिजकी अध्यक्ष समेत रहेकी प्रतिमा श्रेष्ठले उधोग तर्फबाट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेकी हुन् । उनी उद्योग वाण्ज्यि संघको वर्तमान कार्यसमिति सदस्य समेत हुन् । यस्तै हाल मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रहेका रामप्रसाद न्यौपानेले वाणिज्य तर्फबाट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । न्यौपानेको नेतृत्वमा ब्रोडकास्टिङ एशोसिएसन(बान)का केन्द्रीय उपाध्यक्ष रहेको उज्जवल चौलागाइँले एशोसिएट तर्फबाट उपाध्यक्षको उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी घोषणामा बोल्दै अध्यक्षका उम्मेद्वार न्यौपानेले आफ्नो अघिल्लो कार्यकलामा काम गर्न ठुलो चुनौती भोग्नुपरेको बताए। आफ्नै कार्यसमितिबाट असहयोगको बाबजुद पनि धेरै काम गरेको भन्दै उनले अहिलेको कार्यसमितिले केन्द्रीय सदस्यको उम्मेदवारी दिन सिफारिस समेत रोकेको बताए । उनले शुक्रबार उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले पत्रकारलाई गरेको व्यवहार प्रति लज्जित भएको भन्दै आफैंले पत्रकारहरु सँग माफी मागेका थिए ।
मकवानपुर । आउँदाे चैत्र अन्तिम साता हुने मकवानपुर उधोग बाणिज्य संघको ५४ औ वार्षिक साधारण सभामा कृष्ण कुमार गुप्ताले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन । गुप्ताले आफ्नो उम्मेदवारी सँगै प्रतिवद्धता पनि सार्वजनिक गरेका छन ।
उनको प्रतिवद्धतामा वन्द रहेका उद्योगहरु सन्चालन गर्ने वातावरण तयार गर्ने , महिला उद्यमी लाई आवस्यक तालिम प्रदान गरी उद्यमी बनाएर स्वारोजगार बनाउने , कर सम्वन्धि सचेतना गराउने ,घरवहाल कर सम्वन्धि आउने समस्याहरु सम्वन्धित निकाय बाट छलफल गरी समाधान गर्ने, वजार क्षेत्रमा पार्किङ व्यवस्थित गर्न स्थानीय सरकारसँग सहकार्य गर्ने , कृषि सामग्री लाई जोड दिँदै उत्पादन सँग सँगै बजारको सुनिश्चितता गर्ने, लगायतका रहेका छन् ।
अध्यक्षमा उममेदवारी घाेषणा गरेका गुप्ताले समृद्धि र व्यवसायीक परिचालन हाम्रो अभियानको लागी आत्मसाथ गर्दै सफल नेतृत्वको लागी आफुलाई विजयी गराउन व्यवसायीहरु माझ अनुरोध गरेका समेत छन् ।
गुप्ताको अध्यक्षमा उम्मेदवारी सँगै उनकाे प्यानलमा काब्यमणी अधिकारी, दिपक खत्री, राजेश लामिछाने, धर्मराज बाँनिया, रुपकराज दाहाल, सन्तोस अर्याल, भुपेन्द्र अधिकारी, श्री कृष्ण कर्माचार्य, दिपक उप्रेती, राजाराम कार्की, बिष्णु खनाल , दामोदर पाठक, रबि कँडेल शर्मा, निलम वैद्य, निलम पाण्डे, सुनिल अधिकारी, प्रमोद सिंह रानाभाट, कुल प्रसाद चौलागाइ, राधिका सामारी, कृष्णहरी बर्तौला, पुष्प पुडासैनी, राजेश लामिछाने, गणेश भेटवाल,र अङ्किता सुमार्गी रहेका छन् ।
मकवानपुर । मातृभुमी साहित्य समाज मकवानपुरले शुक्रबार विभिन्न विधामा १५ साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रत्येक वर्ष प्रदान गरिदै आएको सम्मान र पुरस्कार कोरोना र अन्य विभिन्न कारणले प्रदान गर्न बाकीँ रहेका गत वर्षहरूका केहि सम्मान र पुरस्कार समेत शुक्रबार एक कार्यक्रमका बिच प्रदान गरिएको हो ।
शनिबार कवि तथा सञ्चारकर्मी प्रा.डा. नवराज लम्साललाई ५१ हजार राशि सहित महालक्ष्मी साहित्य पुरस्कार २०७७ प्रदान गरिने कार्यक्रम रहेकाे छ भने मकवानपुरका दुई स्रष्टालाई सम्मान गरिने बताइएकाे छ । महालक्ष्मी विकास बैंकले स्थापना गरेको उक्त पुरस्कार मातृभूमि साहित्य समाजको सहकार्यमा प्रदान गर्दै आइरहेको छ ।
यस वर्ष मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ संयुक्त रुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई प्रदान गरिएको छ । होमनाथ वलदेवी–मातृभूमि छन्द साहित्य सम्मान २०७७ बाट चितवनका साहित्यकार केशवराज आमोदी, मायादेवि– मातृभूमि पुरस्कार २०७७ बाट काठमाडौंकी कवि अनुराधा शर्मा र मातृभूमि शैक्षिक पुरस्कार २०७७ बाट सुनसरीका सुवर्ण बहादुर थापा सम्मानीत भएका छन् ।
यस्तै हातेमालो–मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७ बाट मकवानपुरका कवि सुवास खनाल, क्षेत्र बहादुर स्मृति–मातृभूमि सम्मान २०७७ बाट मकवानपुरका कवि डा. गणेश कुमार पौडेल, राजकुमार स्मृति–मातृभूमि सम्मान २०७७ बाट आसाम निवासी कृष्ण विक्रम राणा, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरका पत्रकार सुवर्णलाल श्रेष्ठ, झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष मातृभूमि सम्मान २०७७ बाट मकवानपुरका बिसु लामा र मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ बाट मकवानपुरकी दिव्या चौलागाई सम्मानित भएका छन ।
यसैगरी इश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५ बाट चितवनका गजलकार पुष्प अधिकारी, इश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६ बाट जनकपुरको मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार २०७६ बाट मकवानपुरका बाबु क्षेत्री सम्मानीत भएका छन् । यस्तै श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार २०७६ बाट वीरगञ्जका समाजसेवी राजकुमार सिंधी, शेखर शर्मा रिजाल– मातृभूमि शैक्षिक पुरस्कार २०७६ बाट चितवनका प्रा.डा. नारायण प्रसाद खनाल सम्मानीत भएका छन् । सम्पूर्ण सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्नो रचना वाचन गरी कार्यक्रमको शोभा बढाएका थिए । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, निशा शर्मा पोखरेल, मातृभूमि साहित्य समाजका संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयाग्रीव आचार्य, पूर्व अध्यक्ष देवराज खरेल, राजबाबु पहाडी, उपाध्यक्ष कृष्णप्रसाद दाहाल, सदस्य राजन ढकाल लगायतको अतिथ्यता रहेको थियो ।