मकवानपुर । स्वतन्त्र जनदवाव अभियानले शनिबार नेकपा माओवादी केन्द्र मकवापुरलाई ज्ञापन पत्र बुझाएकाे छ । पूर्वाधार बिकास कम्पनी लिमिटेडले जनताबाट उठाएको रकम फिर्ता गर्ने अभियान अन्तर्गत अभियानले केन्द्र मकवापुरलाई ज्ञापन पत्र बुझाएकाे हाे ।
स्वतन्त्र जनदवाव अभियानका संयोजक अनिलकुमार खातीले जनताले खसीबोका, कुखुरा बेचेर लगाएको लगानी काम नहुने भएपछि फिर्ता गर्नुपर्ने बताए । माओवादी केन्द्र मकवापुर अध्यक्ष प्रेम बहादुर पुलामीलाई ज्ञापन पत्र बुझाउदै खातीले भने ‘नेपाल पूर्वाधार कम्पनीले जनताकाे रकम फिर्ता नगरेकाे र प्रदेश सरकारले त्यसमा ध्यान नदिई आफैले हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङमार्गको निर्माण गर्ने भनेर उद्घोष गर्नु लाजमर्दो कुरा हाे ।’
ज्ञापन पत्र बुझ्दै अध्यक्ष पुलामीले सुरुङ मार्ग पनि नबन्ने वातावरण भएकाेले जनताको जनतालाइ नै फिर्ता हुनुपर्ने बताए । उनले फास्ट ट्रयाक तथा अन्य सडकको कारण पनि अब सुरुङ मार्गको सान्दर्भिकता समाप्त भएको बताए ।
भौतिक पूर्वाधार मन्त्रालयमा ज्ञापन पत्र पेश
यस्तै स्वतन्त्र जनदवाव अभियानले पूर्वाधार बिकास कम्पनी लि. ले जनताबाट उठाएको रकम फिर्ता गर्ने चलाएकाे अभियान अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशमा चैत २० गते शुक्रबार ज्ञापन पत्र पेश गरेको छ ।
मन्त्री रामेश्वर फुयाँललाई ज्ञापन पत्र बुझाउदै स्वतन्त्र जनदवाव अभियानले जनताको रकम दुरुपयोग हुन नहुने र त्यसको सुरक्षाको प्रत्याभुत सरकारले गराउनुपर्ने माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री फुयाँलले सडकको स्तरोन्नती गरेर जम्मा ३.२१७ किमि मात्रै सुरुङ बनाउन थालेको बताए । उनले नेपाल पूर्वाधार कम्पनीले उठाएको रकमको सम्बन्धमा नेपाल सरकारले अध्ययन समिति गठन गरेको बताए । समितिले प्रतिबेदन बुझाएपछि सुरूङ मार्गका सम्बन्धमा थप निर्णय लिनु पर्ने बताए ।

स्वतन्त्र जनदवाव अभियानले जसपा मकवानपुर र उद्याेग बाणिज्य संघलाइ यस अघी नै ज्ञापन पत्र बुझाएकाे छ । २०७० कात्तिक २५ गते नेपाल पूर्वाधार कम्पनीले काम सम्पन्न गर्ने गरी हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङ मार्गको शिलान्यास भएकाे थियाे । शिल्यान्यास भएकाे ९ बर्षमा समेत निर्माणका काम शुरु भएकाे छैन । सरकार समेत मुकदर्शक बनेकोले जनताको २३ करोडभन्दा धेरै रकम फसेको छ ।
साथै नेपाल पूर्वाधार बिकास कम्पनीले सुरुङमार्ग निर्माण गर्न मकवानपुरका तत्कालिन जिबिस, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग बाणिज्य संघलगायत बिभिन्न संघ–संस्था र धेरै जनताको सेयर लगानी लगानी परेको छ ।
मकवानपुर । मकवानपुरे साहित्यकार आरसी रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह सार्वजनिक गरिएको छ । प्रमुख अतिथि साहित्यकार विवश पोखरेल, विशिष्ट अतिथि उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश शेषराज शिवकोटी, साहित्यकार धनराज गिरीलगायतले रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह ‘को वरिष्ठ’को सार्वजनिकीकरण गरेका हुन् ।
कार्यक्रममा व्यङ्ग्यकार राजकुमार लामिछानेले सार्वजनिक गरिएको रिजालको कृति सामाजिक सन्देशमूल रहेको बताउनुभयो । समाजको बेथिति र विसङ्गतिमाथि ‘को वरिष्ठ’ले बेजोडरुपमा प्रहार गर्ने र पाठकले सजिलै बुझ्न सकिने भाषाको प्रयोग गरिएको लामिछानेको भनाई थियो ।
साहित्यकार निरा शर्माले कथात्मक शैलीकाे निबन्ध हास्यव्यङ्ग्यमार्फत कृति लेखिएको बताइन्। राजनितिको घटना, सामाजिक घटना र व्यक्तिहरुको प्रत्यक्षरुपमा आलोचना गर्न नसकिने स्थितिमा व्यङ्ग्य लेखनले साहित्यको माध्यमबाट उजगार गर्न सहयोग पुर्याएको शर्माले बताइन् ।
११० पृष्ठ रहेको कृतिमा कथात्मक सामूहिक चेत, लघुकथाजस्ता विषयवस्तुले व्यक्तिको धारणमा परिवर्तन ल्याउने बताइएको छ । नेपाल परनिर्भर बनेको अवस्थामा नेपालमै युवाले परिश्रम गरी जीविकोपार्जन साथै सरकारले युवाको संरक्षण गर्न सक्छ भन्ने विषय सार्वजनिक कृतिमा समावेश गरिएको छ । कृतिमा आमाको बिलौना, राजनीतिक विसङ्गति, मानवीय समवेदना हराएको र धर्मशास्त्रलगायत विषयलाई कथात्मक शैलीमा निबन्धको माध्यममार्फत् उखान–टुक्का प्रयोग गरिएको छ ।
सार्वजनिक कृतिमाथि साहित्यकार सुवास खनालले समीक्षा गरेका थिए। ‘पाठकीय टिप्पणीका रुपमा मात्र आफ्नो टिप्पणी रहेको छ’ उनले भने– ‘हास्यव्यङ्ग्यकार रिजाल आफ्नै शैली र गतिमा हिँड्ने व्यक्ति हुनुहुन्छ ।
आँचल साहित्य कला पुञ्चका अध्यक्ष अनिता न्योपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा साहित्यकार पोखरेल प्रमुख आतिथ्यता, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेश निखिलको अध्यक्षतामा भएको थियाे ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत २४ गते बस्ने भएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत्को बैठक बस्ने मिति तोकिएको हो । प्रदेशसभा सचिवालयका अनुसार चैत २४ दिनको १ बजेकाे लागि सभा बस्ने गरी सूचना जारी गरिएकाे हाे ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पटक पटक सूचना टाँस गरी स्थगित हुँदै आएको बैठक २४ गते मंगलबारका लागि आह्वान भएको हो । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो ।
गत माघ ७ गतेदेखि सुरु भएको सातौं अधिवेशनमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो । तत्कालिन नेकपाका ४५ जना सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पुस १० गते दर्ता गराएका थिए ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार चैत २४ गतेकाे बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्ताव सम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिइने छ । त्यसै गरी सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक, २०७७ र प्रदेश पर्यटन विधेयक, २०७७ माथि छलफल प्रारम्भ हुने उनले बताए ।
मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक भएका सदस्यले चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएअनुसार प्रदेशसभा सचिवालयमा १८ गते प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो । प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाको ८० सदस्य रहेका थिए । सर्वोच्च अदालतको फैसला अनुरुप सत्तारुढ नेकपा एकिकरण पूर्वकाे अवस्थाका नेकपा एमाले र माअाेवादी केन्द् रहने गरी विभाजित भएपछि प्रदेशसभाको समिकरणमा परिवर्तन भएको छ ।
हाल प्रदेशसभामा नेकपा एमालेका ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रका २३ जना र नेपाली कांग्रेसका २२ जना सदस्य रहेका छन् । विगतमा प्रमुख प्रतिपक्षी रहेको कांग्रेस अहिले तेस्रो ठूलो दलका रुपमा देखिएको छ । यसैगरी विवेकशील साझा दलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपाको २ र एक स्वतन्त्र सांसद गरी कूल ११० जना प्रदेशसभा सदस्य छन् ।
मकवानपुर । बागमती गाँउपालिका खेलकुद विकास समितिकाे आयाेजनामा मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप अन्तरगत शुक्रबार भएको पहिलाे सेमिफाइनल खेलमा अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन फाइनल प्रवेश गरेको छ ।
जावलाखेल युथ क्लबलाइ टाइवेकरमा ५–३ गाेल अन्तरले हराउँदै अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुनले फाइनल यात्रा तय गरेका हाे । जाबलाखेल र क्याम्रुन बीच भएकाे पहिलाे सेमिफाइनल खेलमा निर्धारित समयमा दुबै टेलीबाट कुनै गाेल हुन नसके पछी खेल टाइबेकरमा धकेलिएकाे थियाे । उपाधिका लागि भाेली हुने बागमती यूथ क्लव सर्लाही र थ्रीस्टार क्लव ललितपुरकाे विजेतासँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।
दाेस्राे हाफकाे ३६ औं मिनेटमा अफ्रिकन रुट्का खेलाडी जर्सी नं. १७ का यानिकले जावलाखेलका सन्त गुरूङ फल गरे पछी राताे कार्ड पाएर १० खेलाडीमा सिमित भएकाे थियाे । जावलाखेलले उक्त अवसरकाे सदुपयाेग भने गर्न सकेन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेल युथ क्लबका जर्सी नं. ४ का रक्षक सिमान्त थापा म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तरगत चैत २१ गते शनिबार दाेस्राे सेमिफाइनल खेल थ्रीस्टार क्लब र बागमती युवा क्लब सर्लाही बीच हुने आयाेजकले जनाएकाे छ ।
खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।

प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा नगर कमिटीले आफ्नाे सगठनमा आवध्द ३ जनालाई स्पष्टीकरण सोध्ने भएको छ । उनीहरुलाई प्रतिगमनमा लागेको भन्दै लिखित स्पष्टीकरण सोध्ने लागिएकाे हाे ।
माओवादी केन्द्र हेटौंडा नगर कमिटीको बिहीबार बसेको बिस्तारित बैठकले तत्कालिन नेकपाको नगर कमिटी सचिवालय सदस्य दिपक खड्का, नगर सदस्यद्वय शालिकराम ढकाल र उत्सव चौलागाईसँग लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।
बैठकले हेटौंडाको १९ वडाको पार्टी इन्चार्ज र अध्यक्ष तोकेको माओवादी केन्द्रका नगर अध्यक्ष तीर्थबहादुर थापा मगरले बताए । उनका अनुसार हेटौंडा उपमहानगरपालिकाको वडा कमिटीहरुको बैठक चैत्र २३ देखि ३१ गतेसम्म गर्ने र पार्टीको मोर्चा तथा जनवर्गीय संगठनहरुको कमिटीलाई पूर्णता दिँदै नगरस्तरीय भेला बैशाख पहिलो हप्तामा गर्ने निर्णय गरिएको छ ।
बैठकले माओवादीको जनवर्गीय संगठन अन्तर्गतको महिला संगठनको नगर फ्राक्सन इन्चार्जमा चमेली सिञ्जाली र योङ कम्यूनिस्ट लिग (वाइसीएल) नगर संयोजकमा वीरबहादुर गोलेलाई तोकेको छ । कार्यक्रममा माओवादीका हेटौंडा नगर कमिटीका सदस्य तथा वडा कमिटीका अध्यक्षहरूले राजनैतिक, बैचारिक र संगठनात्मक प्रतिवेदन पेश गरेका थिए ।
माओवादी केन्द्रका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा हेटौंडा नगर अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा बैठक भएको थियो ।