मकवानपुर । नेपाल पत्रकार महासंघ, मकवानपुरले आफ्ना गतिविधिलाई नियमित बनाउन विभिन्न उपसमिति गठन गरेको छ । महासंघको शनिबार बसेको नियमित बैठकले उपसमिति गठन सम्बन्धी निर्णय गरेकाे हो ।
गत चैत्र २५ गते देशभर एकैसाथ सम्पन्न महासंघको अधिवेशन पश्चात मकवानपुरमा निर्वाचित शाखा अध्यक्ष मणिराज गौतम नेतृत्वको महासंघले आफ्ना गतिविधिलाई नियमित गर्ने भएको हो । महासंघले आफ्ना गतिविधिलाई निगरानी गर्न अध्यक्ष गौतमको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ । कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा ध्रुब अधिकारी र महिला उपसमितिको संयोजकमा सरला अधिकारी रहने निर्णय भएको छ ।
सचिव शुभलक्ष्मी विश्वकर्माको संयोजकत्वमा अभिलेखीकरण उपसमिति, सहसचिव एमपी शर्माको संयोजकत्वमा प्रशिक्षण उपसमिति र कोषाध्यक्ष केशव समर्पण सुवेदीको संयोजकत्वमा आर्थिक उपसमिति रहने निर्णय भएको छ । साथै, कार्यसमिति सदस्यहरु विजय पौडेलको संयोजकत्वमा स्वास्थ्य उपसमिति, उज्ज्वल अधिकारीको संयोजकत्वमा प्राविधिक उपसमिति र शान्ति सुनारको संयोजकत्वमा समावेशी उपसमिति गठन गर्ने निर्णय महासंघले गरेको छ ।
आगामी १५ दिनभित्र सम्बन्धित उपसमितिका संयोजकले आफ्नो उपसमितिलाई पूर्ण बनाई कार्ययोजनासहित महासंघको बैठकमा पेश गर्न पनि बैठकले निर्देशन दिएको छ । महासंघले आसन्न विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बैशाख २० गते बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ । साथै, महासंघका उपाध्यक्ष ध्रुब अधिकारीका पिता कृष्णप्रसाद अधिकारीको दुखद् निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोक प्रस्ताव पारित गरेको छ ।
मकवानपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भइ बनेकाे नेपाल कम्युनिष्ट पार्टी सर्वाेच्च अदालतको आदेशले खारेज भइ नेकपा एमाले पुनस्थापित भएसँगै पार्टी संघ संघठन पुनर्गठन कार्यले निरन्तरता पाएको छ ।
यसै सन्दर्भमा युवा संघ मकवानपुरका उपाध्यक्ष किरणमान बलको संयोजकत्वमा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटी गठन भएको छ । युवा संघ मकवानपुरको शनिबार भएको बिस्तारित बैठकले जिल्ला कमिटीको सचिवको जिम्मेवारी सगुन स्याङ्तानलाई दिएको छ ।
बिस्तारित बैठकले रिक्त रहेका पदहरुमा समेत सदस्यहरु थप गरी १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको सचिव सगुन स्याङ्तानले जानकारी दिए । बिस्तारित बैठकमा प्रमुख अतिथि समेत रहेका नेकपा एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले अनुशासनसहितका युवाहरुले बिग्रँदै गएको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सक्ने बताए । ‘युवाले सही र गलत बुझेर अघि बढ्नुपर्छ’ न्याैपाने भने– ‘विश्लेषणात्मक आलोचनात्मक भएर अघि बढ्न सक्ने युवाहरु सफलता उन्मुख हुनेछन् ।’
कार्यक्रममा पूर्वमन्त्री एबम् एमाले केन्द्रीय सदस्य तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, युवा संघ केन्द्रीय सचिव आरती पाठक, केन्द्रीय सचिवालय सदस्य प्रकाश बानियाँ, केन्द्रीय सदस्यहरु गोविन्द दुलाल, राजप्रकाश भण्डारी, समिर स्याङ्तान लगायतको सहभागिता रहेको थियो । बिस्तारित बैठकले स्थानीय तहमा कमिटीको बिस्तार लगायत राजनीतिक योजना निर्माण गरेको बताइएको छ ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले शनिबार विभिन्न विधाका १० जना साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ । सङ्गमको गत चैत ७ गतेको कार्यसमिति बैठकले सम्मान/पुरस्कारको लागि साहित्यकारको छनौट गरेको थियो । हेटौंडा–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयको प्राङ्गणमा एक कार्यक्रमकाबीच विभिन्न व्यक्ति तथा संघसंस्थाले स्थापना गरेको विधागत पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
सङ्गमले गोपालप्रसाद रिमाल स्मृति सम्मान नाटककार गोपाल पराजुलीलाई प्रदान गरेको छ । नगद २० हजार रुपैयाँसहित उनलाई सम्मान गरिएको हो । यो सम्मान नाटककार साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेकाे हाे । मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई मरणोपरान्त प्रदान गरिएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ तिम्सिनाको सम्मान उनको परिवारलाई प्रदान गरिएको थियो । उनले साहित्य संगमको उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहेर काम गरेकी थिइन् ।
यस्तै आर्दश टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको पारिजात स्मृति सम्मानबाट डा. अरुणा उप्रेती सम्मानित भएकी छन् । नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित उप्रेतीलाई सम्मानपत्र प्रदान गरिएको थियो । भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार् व्यङ्ग्यकार गणेश लाठले प्राप्त गरेका छन् । उनलाई सम्मानपत्रसहित २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा उनको परिवारले यो सम्मान स्थापना गरेका हुन् ।
श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजालले प्राप्त गरेका छन् । रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गरिएको संगमका सचिव डीबी बर्तौलाले जानकारी दिए । यो सम्मान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको हो । यस्तै यस्तै नगद १० हजार राशीको सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तोला आँशु लाई प्रदान गरिएको छ । मकवानपुरको पालुङ निवासी बर्तोलालाई सम्मान गरिएको हो । हाल अमेरिका निवास मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेका हुन् ।
त्यसैगरी मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शिक्षा तथा सािहत्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । सङ्गगमका कार्यसमिति सदस्य विशाल अधिकारी आशुतोषले पिताको स्मृतिमा स्थापना गरेको यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित प्रदान गरिएको हो । यो सम्मानको राशी अघिल्ला वर्षमा १० हजार रुपैयाँ रहेकोमा यसवर्षबाट वृद्धि गरिएकाे हाे ।
णकुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विधामा प्रतिस्प्रर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिदै आएको छ ।
यस्तै शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गरिएको छ । हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहित यो पुरस्कार प्रदान गरिएको हो । शिक्षासेवी डण्डीजंग शाहले छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । जिल्लाका माध्यमित तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
सङ्गमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको ३ सय ६ औं नियमित साहित्य सन्ध्या एवम् सम्मान समर्पण समारोहमा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबार २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४१ जनाको परीक्षणमा थप २३ जनामा संक्रमण देखिएको हाे ।
काेराेना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना र हेटौंडा बस्ने नुवाकोट घर भएका १ जना रहेका छन् । काेराेना पुष्टि हुनेमा १७ जना पुरुष र ६ जना महिला रहेका छन् । शुक्रबार थपिएका २३ जना सहित मकवानपुरमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २१ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
हालसम्म ३ हजार ९ सय ६९ जना काेराेना संक्रमण मुक्त भएका छन् । काेेराेना संक्रमण पुष्टी भएका हेटाैडा ४ का ५० बर्षिय पुरूषकाे शुक्रबार मृत्यु भएकाे छ । यो संगै काेराेनाकाे कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सह–इन्चार्जमा मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य डोरमणी पौडेल चयन भएका छन् ।
नेकपा एमालेले शुक्रबार दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गरेकोमा मुख्यमन्त्री पौडेल बागामती प्रदेशको सहइन्चार्ज तथा नगरपालिका महासंघको इन्चार्ज चयन भएका हुन् ।
एमाले मकवानपुर इन्चार्जमा रामेश्वर राना

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर इन्चार्ज रामेश्वर राना चयन भएका छन् । एमालेले दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गर्दा केन्द्रीय सदस्य राना मकवानपुर इन्चार्ज भएका हुन् ।
राना यसअघि मकवानपुरका सहइन्चार्ज थिए । यस अघि इन्चार्ज रहेका केन्द्रीय सदस्य विरोध खतिवडा भने जिम्मेवारी बिहिन भएका छन् । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।
एमालेको स्थायी कमिटी घोषणा
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् ।
माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच भएकाे महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश नगरेका हुन् । एमाले एकता अभियान चलाएका, तर ओलीले बोलाएको बैठकहरुमा अनुपस्थित रहेका वामदेव गौतमलाई भने राखिएको छ । नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ ।
एमाले स्थायी कमिटी
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ्ग,
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा