मकवानपुर । मकवानपुर प्रहरीले नाईट्रोभेटसहित १ जनालाई पक्राउ गरेको छ । ईन्द्रसरोवर गाउँपालिका–३, महादेवस्थानका ३० वर्षीय मनिष ठकुरीलाई ५ हजार ४ सय ट्याब्लेट लागूऔषध नाईट्रोभेटसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
सोमबार राती प्रहरी चौकी भुटनदेवी हेटाैडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१०, भुटनदेवी मन्दिरमोडमा सुरक्षाजाँच गर्ने क्रममा ठकुरीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०२-०२२ प ३७२९ नम्बरको मोटरसाईकलमा सवार ठकुरीको साथबाट ५ हजार ४ सय ट्याब्लेट नाईट्रोभेट बरामद गरिएकाे हाे । ठकुरीलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे बागमती गाँउपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने भएकाे छ । बागमती गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पताल बीच आँखा केन्द्र संचालनकाे लागि बुधबार सम्झाैता भएसँगै आँखा केन्द्र संचालन हुने भएकाे हाे ।
सम्झाैताअनुसार आँखा केन्द्र संचालनकाे लागि गाउँपालिकाले २ जना स्वास्थ्यकर्मीकाे पारिश्रमिक रकम अनुदान स्वरूप उपलब्ध गराउने भएकाे छ । यसैगरी केन्द्रकाे स्थान र आवश्यकीय भाैतिक पुर्वाधारकाे व्यवस्था गर्नुपर्ने समेत गाँउपालिकाले गर्ने सम्झाैतामा उल्लेख छ । केन्द्रकाे प्रचारप्रसार गर्ने, सेवा संचालनकाे लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने, पालिका भित्रका शैक्षिक संस्थामा अध्ययनरत वालवालिका, विपन्न वर्ग, अपांग, एकल महिला , अति विपन्न समुदायकाे लागि विशेष कार्यक्रम संचालन गाँउपालिकाले गर्ने गरी सम्झाैता भएकाे ।
यस्तै केन्द्रकाे लागि आवश्यक बजेट विनियाेजन र अस्पतालकाे तर्फबाट आवश्यक सामाग्री तथा उपकरण , आवश्यकता अनुसारकाे प्राविधिक जनशक्ति उपलब्ध गराउने साथै आवश्यकीय वजेट विनियाेजन गर्ने लगाएतका द्वीपक्षीय सम्झाैता भएकाे छ । सम्झाैता हस्ताक्षर गरेकाे मितिले आगामी पाँच वर्षसम्म कायम रहने सम्झाैतामा उल्लेख छ ।
अत्यन्तै सम्वेदनशील अंग आँखा भएकाेले आँखाकाे समस्याकाे कारण व्यक्ति सक्षम तथा सबल भएपनि कुनै काम गर्न नसक्ने द्वीपक्षीय सम्झाैता हस्तान्तरणमा गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । घलानले आँखा सम्बन्धी सानाे समस्याकाे उपचारकाे लागि हेटौंडा धाउनुपर्ने बाध्यता रहेकाेमा आँखा केन्द्र संचालन पछि पालिका स्तरमै सेवा सहज हुने जनाकारी दिए ।
आँखा अस्पतालले स्थानीय निकायहरूकाे सहकार्यमा गरेकाे कार्य अत्यन्तै प्रभाकारी भएकाे हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।
आँखा केन्द्रमा आँखा जाँच, चश्मा जाँच, सामन्य शल्यक्रिया, अौषधी सहितकाे सेवा आगामी तीन महिनाभित्र दैनिक रूपमा सेवा प्रदान गरिने बरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
मकवानपुर । हेटाैडा १६ मा रहेकाे शिवम् सिमेन्ट उद्योगले तिर्नु पर्ने विद्युत महशुल भुक्तानी बक्यौता रहेकाे भन्दै ध्यानाकर्षण गरिएकाे छ । विद्युत महशुल भुक्तानी बक्यौता रकम असुल गर्न सचेत नागरिक युवा समूहले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गरेकाे हाे ।
२ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी बक्यौता भुक्तानी नगरेको शिवम् सिमेन्ट उद्योगसँग बक्यौता रकम असुली गर्न माग गर्दै मंगलबार सचेत नागरिक युवा समूहले नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाका प्रमुख शशिभूषण साहलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
बक्यौता रकम भुक्तानी नगरे शिवम् सिमेन्ट उद्योगको विद्युत कटौती गर्न पनि सचेत नागरिकले माग गरेको छ । सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठ नेतृत्वको एक समूहले बक्यौता रकम भुक्तानी नगर्दा सर्वसाधारण नागरिकको विद्युत कटौती प्राधिकरणले २ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी नगर्ने शिवम्लाई भने किन विद्युत निरन्तर दिइरहेको भन्दै प्रश्न गरेका थिए ।
प्राधिकरणलाई ध्यानाकर्षण गरेको सचेत नागरिक युवा समूहले प्राधिकरणले बक्यौता असुलीमा ढिलाई गरे संघीय मन्त्रीलाई नै ध्यानाकर्षण गराउने जनाएको छ । सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले राज्यको लगानी रहेको संस्थाले राज्यकै सम्पत्तिको रुपमा बक्यौता असुलीमा ध्यान दिनुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणका डिभिजन प्रमुख शशिभूषण साहको ध्यानाकर्षण गराए ।
बक्याैता भुक्तानी असुली गर्ने काम प्राधिकरणको हेटौंडा वितरण केन्द्रकाे भएकाेले मंगलबारै शिवम् सिमेन्ट उद्योगलाई बक्यौता रकम भुक्तानीका लागि वितरण केन्द्रले पत्राचार गरिसकेको पनि डिभिजन प्रमुख साहले जानकारी दिए । शिवम् सिमेन्ट उद्योगसँगै बक्याैता भुक्तानी असुली गर्नु पर्ने १३ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता हेटौंडा वितरण केन्द्रबाट असुली गर्नु पर्ने भएकाेले उक्त विषय केन्द्रमै छलफल भइरहेकाले रकम असुलीमा ढिलाई भएको बताइएकाे छ ।
यस्तै सचेत नागरिक युवा समूहले प्राधिकरणले मिटर रिडिङ गर्ने मितिमै रिडिङको कार्य गर्न नसकेको, मिटर रिडिङ भए पनि कम्प्युटरमा समयमै अपडेट नहुँदा ग्राहकले समयमै भुक्तानी गर्दा पाउने छुट सुविधा उपयोग गर्न नपाएको विषयमा पनि प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ९२ जना एमालेमा प्रवेश गरेका छन् । मकवानपुरकाे पूर्वी क्षेत्रमा रहेकाे बकैयामा विभिन्न पार्टी परित्याग गरिआइतबार बकैयाको १ धिँयालमा भएको कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमालेमा प्रवेश गर्नेहरुलाई प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल सहितका एमाले नेताहरुले टिका, खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अर्थ समितिका सभापति दाहालले एमाले सरकारले सुरु गरेको भूमिहिनलाई भूमि सहितको लालपुर्जाको कार्यलाई कांग्रेस–माओवादीको संयुक्त सरकारले रोकेको बताए ।
नेकपा माओवादी केन्द्र परित्याग गरि अक्कलबहादुर गोले, हिराबहादुर बल, सुकबहादुर वाईवा, सुकमान घिसिङ लगाएत, नेपाली कांग्रेसका सानुमान वाईवा, मनोज डिमडुङ, कान्छामान वाईवा, चन्द्रध्वज वाईवा, दिल बहादुर घिसिङ, पदमबहादुर मोक्तान सहित तथा राप्रपाबाट गणेश मोक्तान, खड्गबहादुर वाईवा, नेत्रबहादुर वाईवा,इन्द्रलाल मोक्तान, आईतसिंह मोक्ता सहित ९२ जना एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सदस्यहरु बेलप्रसाद दाहाल, कृष्ण चौँलागाई, भूमि सम्वन्धि समस्या समाधान आयोग बाराका अध्यक्ष अम्बिका चौँलागाई, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, एमाले बकैयाका अध्यक्ष गोपाल दाहाल, सचिव फुलमान लामाल लगाएतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मानव बेचविखन तथा ओसारपसार विरुद्धको कानुनमा हुनुपर्ने सुधार बारे मिडिया अन्तरक्रिया हेटौंडा गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा महिला कानुन र विकास मंचको आयोजनामा अन्तरक्रिया गरिएको हो ।
हेटौंडामा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा वर्तमान समयमा मानव बेचविखन तथा ओसारपसार सम्बन्धि उपयुक्त ऐन, घरेलु हिंसा र पुनस्थापना विषयमा अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र पस्तुत गरेका थिए । यस्तै कार्यक्रममा संघीय ऐनमा रही प्रदेश सरकारले निर्माण गर्ने कानुनमा आवश्यक कानुनी सुधार बारे जानकारी गराईएको थियो । यद्यपि बागमती प्रदेशमा भने यसबारे हालसम्म कानुन बनाईएको छैन ।
महिला कानुन र विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठले संघीय सरकारको मानव बेचविखन तथा ओसारप्रसार नियन्त्रण ऐन २०६४ को दफा १३ मा रहेको पुनस्थापना केन्द्र र दफा १४ मा रहेको पुनस्थापना कोषमा रहेको परिभाषालाई प्रदेश ऐनमा केहि कानुनी सुधार गरिनुपर्ने बताए । त्यस्तै दफा २३ मा रहेको समिति गठन गर्न सक्ने बुदाँ पनि सुधार गरि समितिलाई अब प्रादेशिक र स्थानीय तहमा गठन गर्ने नीति बनाइनुपर्ने बताए ।
त्यस्तै, घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६६ को पनि दफा ९ को उपचारको रकम पीडकले व्यहोर्ने, दफा ११ मा सेवा केन्द्र, दफा १२ मा सेवा कोष र १२ को क मा संरक्षण अधिकृतको विषयमा पनि केहि कानुनी सुधार गरिनुपर्ने अधिवक्ता श्रेष्ठले बताए । उनले लैंगिक हिंसा निवारण कोष ऐन २०६७ को दफा ३ को क मा उल्लेख प्रदेश लैंगिक हिंसा निवारण कोष र ३ को ख मा रहेको स्थानीय लैंगिक निवारण कोषलाई पनि केहि कानुनी सुधारहरु गरिनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सरकारले यस विषयमा सेवा तथा पुनस्थापना कोष ऐन २०७६ पास गरि प्रदेश प्रमुखले प्रमाणीकरण गरी कार्यान्वयनमा आइसकेको बताउदैं अधिवक्ता श्रेष्ठले अब बागमती प्रदेश सरकारले पनि सोही अनुरुप ऐन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताए । मञ्चको संस्थापक अध्यक्ष अधिवक्ता मिरा ढुङ्गाना, अधिवक्ता विनोदचन्द्र देवकोटालगायतले मानव बेचविखन तथा ओसारप्रसारका विषयमा बनेका ऐन र बेचविखन सम्बन्धित अन्य जानकारी प्रस्तुत गरेका अधिवक्ता ललिता श्रेष्ठले बताइन्।