मकवानपुर । संविधान दिवस २०७८ को अवसरमा खुल्ला दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ । असाेज २ गते शनिवार विहान भएकाे ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा महेश मोक्तान प्रथम भएका छन् ।
संविधान दिवस, मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ, मकवानपुरको संयोजनमा भएको प्रतियोगितामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह र श्यामकुमार राई क्रमश द्वितीय र तृतीय भएका छन् ।

प्रथम भएका मोक्तानले निर्धारित ५ किमीको दुरी १६ मिनेट २१.८८ सेकेण्डमा पुरा गरेका थिए । यस्तै द्वितीय भएका साहले उक्त दुरी १७ मिनेट ४२ मिलिसेकेण्ड र तृतीय भएका राईले १७ मिनेट १६.५३ सेकेण्डमा उक्त दुरी पुरा गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमैसंग १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्ने जिल्ला एथलेटिक्स संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिए । पुरस्कार भाेली असोज ३ गते संविधान दिवसको दिन हुने विशेष कार्यक्रममा प्रदान गरिने पनि पोखरेलले बताए ।
मकवानपुर । बागमती प्रदेशमा मन्त्री तथा पदाधिकारीहरुलाई आचार संहिता लागु गरिएकाे छ । प्रदेश मन्त्रिपरिषद्ले मन्त्री तथा पदाधिकारीहरुकाे आचार संहिता पास गरे सँगै लागु भएकाे हाे । प्रदेशका मन्त्री तथा पदाधिकारीले कुनैपनि नियुक्तीमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने आचार संहिता बनाइ लागु गरिएकाे हाे ।
प्रदेश सरकारका प्रवक्ता केसबराज पाण्डेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भई सहभागिता हुने, देश र जनताको हित र सेवामा निरन्तर सकृय रहन, सुशासन व्यवस्थापन तथा सञ्चालन राम्राे बनाउन आचार संहिता पास गरेको जानकारी दिए ।
मन्त्री तथा पदाधिकारीहरुका सबै कृयाकलापहरु कानूनमैत्री, सदाचारयुक्त तथा जनमैत्री हुनुपर्ने, मन्त्री तथा पदाधिकारीहरु भ्रष्टाचारजन्य कुनै पनि गतिविधिमा संलग्न देखिए तत्काल पदमुक्त हुने, मन्त्री तथा पदाधिकारीहरुले कार्यस्थलमा हुने महिला हिंसा, समाजिक विभेद तथा अन्य अनैतिक आचारण प्रति शुन्यसहनशीलता अपनाउने आचारसंहिता बनाइएको पाण्डेले बताए ।
यसैगरी मन्त्री तथा पदाधिकारीहरुले नियुक्तीका लागि सिफारिश गर्दा सबै प्रकृया पुर्याई आवश्यक कागजातहरुराखी सम्वन्धित विषय विज्ञहरु मध्येवाट नै प्रस्ताव गर्नुपर्ने, नियुक्त गर्नु पर्दा नातावादलाई प्रश्रय दिन नहुने र समावेशी रुपमा नियुक्त गर्नुपर्ने, मन्त्री तथा पदाधिकारीहरुले प्रचलित कानूनले तोकेभन्दा वढी वा कुनै पनि किसिमको अनुचित खालका सुविधा लिन नहुने, मितव्ययी भएर चल्नुपर्ने, मन्त्री तथा पदाधिकारीहरुहरुले सादा जीवन कडा परिश्रमको नीति अबलम्बन गर्नुपर्ने आचार संहितामा उल्लेख छ ।
स्थलगत भ्रमण वा कुनै कार्यक्रममा सहभागी हुँदा सम्भव भए सम्म मुख्यमन्त्रीलाई जानकारी गराएर मात्र सहभागी हुने, कार्यक्रमको वैधानिकता स्वीकार्यता विचार गरेरमात्र विवाद नआउने गरी सहभागी हुने र विचार व्यक्त गर्ने, मन्त्री तथा पदाधिकारीहरुले पदको दुरुपयोग गरी नाता गोता र आफन्तहरुलाई ग्राह्यता दिन नपाईने, मन्त्री तथा पदाधिकारीहरुले आफू आफन्त वा आफ्नो निकटका व्यक्तिहरुसँग सम्बन्धित कुनै काम गराउन वा नगराउन अन्य निकायका पदाधिकारीलाई दवाव दिन वा अनुचित प्रभाव पार्न वा नहुने गैर सरकारी संघ र संस्थाको पदाधिकारी हुन वा त्यस्तोसंस्थाको अनुचित वा गैरकानूनी कृयाकलापमा संलग्न नहुने लगायतका आचार संहिता जारी गरिएको पाण्डेले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यन्यायधिवक्ताद्वारा प्रदेश प्रमुख समक्ष बार्षिक प्रतिवेदन पेश गरेका छन् । मुख्यन्यायधिवक्ता ओम प्रकास थपलीयाले प्रदेश प्रमुख यादव शर्मा समक्ष आर्थिक वर्ष २०७७/७८ काे बार्षिक प्रतिवेदन शुक्रबार पेस गरेका हुन् ।
प्रदेश प्रमुख समक्ष पेस गरिएकाे प्रतिवेदनमा गत आर्थिक वर्षमा मुख्यन्यायधिवक्ता कार्यालयले गरेका कार्यहरुकाे विवरण समेटिएको छ। प्रत्यक वर्ष मुख्यन्यायधिवक्ता कार्यालयले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने सवैधानिक व्यवस्था रहेकाे छ ।
प्रस्तुत प्रतिवेदनमा मुख्यन्यायाधिवक्ताकाे कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिबादी भई दायर भएका मुद्दा मामीलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण मुद्दा मामीलामा गरिनुपर्ने सुधारको विवरण उल्लेख गरिएको छ ।
मुख्यन्याधिवक्ताबाट प्राप्त प्रतिवेदन प्रदेश प्रमुख शर्माले शुक्रबार नै मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्य लाई प्रदेश सभा समक्ष पेश गर्ने गरी हस्तान्त्रारण गरेका छन् ।
मकवानपुर । मकवानपुरका स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधी २५ जना नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । नेकपा एमालेबाट गत स्थानीय तहमा निर्वाचित भएका उनीहरु शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडा माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् ।
नेकपा (एस) पार्टीमा सनाखत गर्नेमा हेटौंडा उपमहानगरपालिकाका उप मेयर मीना कुमारी लामा, हेटौंडा १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सीता अधिकारी, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौंडा १ का वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ का सदस्य कुमारसिं लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का सदस्य सन्तुमाया पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का सदस्य शुकराम केशी रहेका छन् ।
यस्तै, थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किरणमान बल, थाहा ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ,थाहा नगरपालिका वडा नम्बर ५ का सदस्य उर्मिला सुनुवार, थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य मैया विश्वकर्माले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ, कैलाश गाउँपालिका वडा नम्बर ८ का सदस्य अनिता बलले एकीकृत समाजवादी रोजेका छन् ।
यस्तै, मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँ पालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ, मनहरी ३ का वडा सदस्य उमा कुमारी नेपाली, मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साधुराम अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर ५ का इन्द्रकुमार सार्की, मनहरी गाउँपालिका वडा नम्बर ८ का सदस्य अम्बिका दमाईले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
यसै गरी एकीकृत समाजवादीमा सनाखत गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ९ का सदस्य कर्णबहादुर पाख्रीन र बकैया गाउँपालिकाका ४ जना सदस्य रहेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । अध्यक्ष पाख्रेल आजमात्रै एमालेबाट रुपान्तरित एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष चयन भएका हुन् ।
मकवानपुरका अन्य स्थानीय तहका एकीकृत समाजवादीमा आबद्द हुन चाहाने जनप्रतिनिधीले शनिबार पनि निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने पार्टीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सांसद मुनु सिग्देलले जानकारी दिइन् । निर्वाचन अायाेगले भदाै २२ गतेसम्म नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीलाइ नयाँ पार्टी नेकपा (एस) राेज्न समय सिमा ताेकेकाे छ ।
मकवानपुर /माइती नेपाल मकवानपुरमा सिलाई सीप सिकेका किशोरीहरूले आफूहरूलाई व्यवसायिक तथा आत्मनिर्भर हुनको लागि सहारा हुने अपेक्षा राखेका छन् ।
सिलाई प्रशिक्षणपछि जीवनपयोगी सीप समेत सिकेर फर्केका किशोरीहरूले यस्तो बताएका हुन् । प्रशिक्षणपछि फिल्ड अनुगमनमा गएका किशोरीहरूले अग्रजको व्यवसायिकता देखेर आफूहरूले पनि त्यसैगरी व्यवसाय सन्चालन गर्ने हिम्मत जागेको फिल्ड अनुगमनमा सहभागी कैलाश गाउँपालिका-५ कि नेहा थिङले बताइन् । माइती नेपालबाट सीप सिकेर व्यवसायिक जीवन बिताईरहेकी मकवानपुर बकैया गाउँपालिका – ७ खटखटाई निवासी प्रतिमा राईलाई भेटेपछि आफूले पनि यस्तै भबिष्यको कल्पना गरेको उनले बताइन् ।
बकैयाकी राई अहिले गाउँपालिका स्तरमा व्यवसायिक प्रशिक्षकको रूपमा व्यस्त छिन् । सिलाई व्यवसायबाटै २ सन्तानलाई पढाएर, घर खर्च पुर्याएर मासिक २५ हजार बचत गर्ने गरेको राईले बताइन् । “उहाँको लगाब र मेहनतबाट प्रेरित छु, अब म पनि सिकेको सिपलाई व्यवसायीक बनाउछु” फिल्ड भिजिटपछि बकैया गाउँपालिका-६ कि ललिता भुलुनले भनिन् ।

फिल्ड भिजिटमा जांदा आफूहरूलाई काम गरेर आत्मनिर्भर बन्ने हौसला मिलेको उनले बताइन् । पढाइ छुटे पनि सिपलाई व्यवहारमा ल्याउन सकेमा जीवनमा परनिर्भर रहन नपर्ने उनले बताइन् । फिल्ड भिजिटमा माइती नेपाल मकवानपुर प्रमुख माया लामा, फिल्ड सुपरभाईजर मन लामालगायत २० जना किशोरीहरू सहभागी थिए । तालिममा सिकेको सिपलाई व्यवहारमा उतारेर किशोरीहरू आत्म निर्भर हुंदा बैदेशिक रोजगारको चाह कम हुने र बेचबिखनमा पर्ने जोखिम पनि घट्ने प्रमुख लामाले बताइन् ।

फिल्ड भिजिट टोलीले ग्रामीण क्षेत्रका १ सय ५० घरमा घरभेट कार्यक्रम गरि सचेतना पर्चा पब्लेट पनि वितरण गरेका थिए । टोलीले माइती नेपालले प्रदान गर्दै आएको सेवाहरू बारे सचेतना पम्लेट वितरण गरेको फिल्ड सुपरभाइजर मन लामाले बताइन् ।
