मकवानपुर । बागमती प्रदेशमा मन्त्री तथा पदाधिकारीहरुलाई आचार संहिता लागु गरिएकाे छ । प्रदेश मन्त्रिपरिषद्ले मन्त्री तथा पदाधिकारीहरुकाे आचार संहिता पास गरे सँगै लागु भएकाे हाे । प्रदेशका मन्त्री तथा पदाधिकारीले कुनैपनि नियुक्तीमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने आचार संहिता बनाइ लागु गरिएकाे हाे ।
प्रदेश सरकारका प्रवक्ता केसबराज पाण्डेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भई सहभागिता हुने, देश र जनताको हित र सेवामा निरन्तर सकृय रहन, सुशासन व्यवस्थापन तथा सञ्चालन राम्राे बनाउन आचार संहिता पास गरेको जानकारी दिए ।
मन्त्री तथा पदाधिकारीहरुका सबै कृयाकलापहरु कानूनमैत्री, सदाचारयुक्त तथा जनमैत्री हुनुपर्ने, मन्त्री तथा पदाधिकारीहरु भ्रष्टाचारजन्य कुनै पनि गतिविधिमा संलग्न देखिए तत्काल पदमुक्त हुने, मन्त्री तथा पदाधिकारीहरुले कार्यस्थलमा हुने महिला हिंसा, समाजिक विभेद तथा अन्य अनैतिक आचारण प्रति शुन्यसहनशीलता अपनाउने आचारसंहिता बनाइएको पाण्डेले बताए ।
यसैगरी मन्त्री तथा पदाधिकारीहरुले नियुक्तीका लागि सिफारिश गर्दा सबै प्रकृया पुर्याई आवश्यक कागजातहरुराखी सम्वन्धित विषय विज्ञहरु मध्येवाट नै प्रस्ताव गर्नुपर्ने, नियुक्त गर्नु पर्दा नातावादलाई प्रश्रय दिन नहुने र समावेशी रुपमा नियुक्त गर्नुपर्ने, मन्त्री तथा पदाधिकारीहरुले प्रचलित कानूनले तोकेभन्दा वढी वा कुनै पनि किसिमको अनुचित खालका सुविधा लिन नहुने, मितव्ययी भएर चल्नुपर्ने, मन्त्री तथा पदाधिकारीहरुहरुले सादा जीवन कडा परिश्रमको नीति अबलम्बन गर्नुपर्ने आचार संहितामा उल्लेख छ ।
स्थलगत भ्रमण वा कुनै कार्यक्रममा सहभागी हुँदा सम्भव भए सम्म मुख्यमन्त्रीलाई जानकारी गराएर मात्र सहभागी हुने, कार्यक्रमको वैधानिकता स्वीकार्यता विचार गरेरमात्र विवाद नआउने गरी सहभागी हुने र विचार व्यक्त गर्ने, मन्त्री तथा पदाधिकारीहरुले पदको दुरुपयोग गरी नाता गोता र आफन्तहरुलाई ग्राह्यता दिन नपाईने, मन्त्री तथा पदाधिकारीहरुले आफू आफन्त वा आफ्नो निकटका व्यक्तिहरुसँग सम्बन्धित कुनै काम गराउन वा नगराउन अन्य निकायका पदाधिकारीलाई दवाव दिन वा अनुचित प्रभाव पार्न वा नहुने गैर सरकारी संघ र संस्थाको पदाधिकारी हुन वा त्यस्तोसंस्थाको अनुचित वा गैरकानूनी कृयाकलापमा संलग्न नहुने लगायतका आचार संहिता जारी गरिएको पाण्डेले जानकारी दिए ।

