मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्जको उज्वल भबिष्य मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा नवराज गौतम चयन भएका छन् । आईतबार भएको भेलाले मनहरी–४ मसिनेका गौतमलाई समितिको अध्यक्षमा चयन गरेको हो ।
समितिका उपाध्यक्ष शिबहरि उप्रेती, सचिव जयराम रिजाल, सहसचिव रोहित थिङ, कोषाध्यक्ष मञ्जु अर्याल चयन भएका छन् । त्यसैगरी सदस्यमा टीकादेबी (सरस्वती) सुबेदी, हरिकृष्ण बिष्ट, बिष्णु प्रजा, बिष्णुमाया बल, रामकुमार खड्का, बुद्धराम प्रजा, बिष्णुहरि उप्रेती चयन भएका छन् ।
भेलामा पर्सा राष्ट्रिय निकुञ्जका अधिकृत लक्ष्मीनारायण साह, मनहरी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष ध्रुब खड्का, वडा नं ३ का वडाअध्यक्ष बिष्णुबहादुर थिङ, राष्ट्रिय निकुञ्जका गेम स्काउट यादव शाहीलगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । १९ औं संस्करणको स्व. लक्ष्मीमाया बज्राचार्य स्मृती जिल्ला स्तरिय खुल्ला रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता मंसिर १६ गते विहीबारबाट हुने भएको छ ।
प्रतियाेगिताकाे आयोजक बसामाडी जेसीजले विहीबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता आगामी मंशिर १६ देखि १९ गतेसम्म हेटौंडा–१७ हटियास्थित नेपालचौरमा हुने मुल कार्यक्रम संयाेजक जेसी करण महत्राले जानकारी दिए ।
स्वर्ण भण्डार हेटौंडाका सञ्चालक ज्योतिरत्न बज्राचार्यकाे प्रायोजन रहेकाे प्रतियोगितामा १२ देखि १६ टिमले भाग अनुमान आयाेजकले दिएकाे छ । प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको बसामाडी जेसीजका अध्यक्ष गौतम केसीले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १२ देखि १६ टिमको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको १८ औं संस्करण हेटौंडा–१२ ले जितेको थियो ।
मकवानपुर । हेटौंडामा हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी गरिएको छ । सातौ उद्योग दिवसका अवसरमा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।
मन्त्रालयको प्राङ्गणमा विहीबार १ दिनका लागि हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी गरिएको हाे । प्रदर्शनीमा ढाका, हाते होजीयारी, टेष्टी अचार, हस्तकलाका सामान, मसला, डल, कुसन, फ्रेमहरु लगायतका १५ वटा स्टल राखिएको थियाे।
विशेषगरी हत्तकला तथा लघु उद्यम उपजका सामाग्रीको बजारीकरण गर्नका लागि प्रदर्शनी गरिएको मन्त्रालयले जनाएको छ । मकवानपुर महिला उद्यमी व्यावसायीसंघमा आवद्ध महिलाहरुले उत्पादन गरेका सामान स्टलहरुमा राखिएको हाे ।

मकवानपुर । स्व बुद्ध रत्न शाक्य स्मृति विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका कर्ण यादव प्रथम भएका छन् । जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन विहीबार भएकाे वक्तृत्वकला प्रतियोगितामा आधुनिक माविकै रिसि यादव द्वितिय र चन्द्रोदय माविकी आश्र्या जर्गा मगर तृतिय भएका छन् ।
परिवर्तनको लागि उठ्नुस् र मानव विकासका लागि नेतृत्वको अभ्यास भन्ने विषय रहेकाे प्रतियोगितामा ६ वटा विद्यालयका १४ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । जनसाहित्यिक मञ्च नेपालको केन्द्रीय सचिवालय सदस्य मसान उपासक र साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानले प्रतियाेगिताकाे निर्णयक रहेका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित जेसीज सप्ताह २०२१ समापन समारोह अन्तिम दिन पुरस्कृत गरिने छ ।
यसैगरी विहीबार नै महिला उद्योमशीलता सम्बन्धि तालिम भएको छ । तालिममा १५ जना सहभागी रहेको थियो । दोस्रो दिनमै हेटौंडा १ स्थित चौकीटोलमा स्वागत बोर्ड समेत स्थापना गरिएको छ । जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा जेसीआई हेटौंडा लेडी २०२१ का बोर्ड सल्लाहकार शुक्रराज जोशीको प्रमुख अतिथ्यता रहेको थियो । प्रतियोगिता स्वास्तिका बानियाँको संयोजकत्वमा भएको थियो । मूल कार्यक्रम संयोजक कविता पौडेल, सह मूल कार्यक्रम संयोजक डिलमाया घर्ती र लेडीकै पूर्व अध्यक्ष रश्मि बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
नगरस्तरिय अन्तर विद्यालय (आधारभूत) तहको वक्तृत्वकला प्रतियाेगिता

यसै गरी बालअधिकारको सुनिश्चितताको लागि विद्यालयको भूमिका विषयमा नगरस्तरिय अन्तर विद्यालय (आधारभूत) तहको वक्तृत्वकला प्रतियोगिता छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको आयोजनना तथा महिला तथा बालबालिका महाशाखाको समन्वयमा कार्यक्रम भएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा नवोदय शिसु सदनकी दर्शना सापकोटा प्रथम भएकी छिन् । द्वितिय जीएस निकेतन माविकी पूर्वजा न्यौपाने र तृतिय फेमकोल एकेडेमीकी एन्जिला मोक्तान भएका छन् । यसैगरी सान्त्वना बालजागृति बोर्डिङकी रेनिशा सापकोटा र प्रोत्साहनमा बालबोध माविकी आदित्या ढकाल भएका छन् । क्रमशः प्रथम, द्वितिय, तृतिय, सान्त्वनालाई स्टेशनरी सामाग्री र ब्याक सहित पुरस्कृत भएको छ । प्रोत्साहन पुरस्कारबाट छनौट भएकी ढकाललाई स्टेशनरी सामाग्री सहित पुरस्कृत गरको छ ।
प्रतियोगीहरुले बालअधिकार भनेको के हो ? बालबालिकाको स्थिति र यसमा विद्यालयको भूमिकाबारे आ–आफ्न धारणा राखेका थिए । १० वटा सामुदायिक र ८ वटा संस्थागत गरी १८ वटा विद्यालयका ३५ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियाेगिताकाे निर्णयकमा ज्योति न्यौपाने, सिएम रिमाल, निर्जन अर्याल र माधव प्रसाद गौतमको भूमिका रहेको थियो ।
प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको सभाध्यक्षता तथा महिला तथा बालबालिका महाशाखाका अधिकृत जगन्नाथ सापकोटाको प्रमूख अतिथ्यता थियो ।
वायु मण्डलमा प्रदुषण ह्वात्तै बढेको कारण मकवानपुरलगायत बागमती प्रदेशको सबैजसो जिल्ला र आसपासमा पनि मौसम प्रतिकुल भएको छ । वायुमण्डलमा बढेको यो प्रदुषण वर्षा नभई तथा तिव्र बेगको हावा नचलि निको नहुने मौसमविद्हरुले बताएका छन् । मौसममा आएको बदलापको कारण २ दिन यता चिसो पनि बढेको छ ।
चिसोसँगै बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ । प्रतिकुल मौसमको कारण रुघा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्निहरुको दुखाई तथा करकर खाने समस्याहरु सुरु भएका छन् । यो संगै पछिल्लो साता देशभर कोरोना संक्रमणको दर पनि बढ्न थालेको छ । चिसोकै कारण कोरोना संक्रमितहरुको दर बढ्न थालेको आशंका स्वास्थ्यकर्मीहरुले गरेका छन् । चिसोमा कोरोना भाइरस बढी सक्रिय हुने भएकोले पनि चिसो मौसममा संक्रमणको दर बढ्ने गरेको विगतको अनुभवले नै देखाएको छ ।
दुई चरणको कोरोना महामारीको कारण थिलोथिलो भएको स्वास्थ्य,अर्थ,शिक्षालगायत क्षेत्र विस्तारै सामान्य हुँदै गर्दा पुनः संक्रमणको दर बढ्न थालेकोले फेरी पनि समस्या देखिने प्रायः निश्चित भएको छ । चिसो मौसममा कोरोना संक्रमणसँगै हुनसक्ने अन्यअन्य संक्रमणबाट बच्नको लागि विशेष ध्यान पु-याउने गरौं । शरिर ढाक्ने कपडा लगाउने, सन्तुलित भोजन सेवन गर्ने, तातो र रसिलो कुराहरु पर्याप्ता खाने, मनतातो पानी प्रसस्त पिउने जस्ता स्वास्थ्य सतर्कता अपनाउनाले पनि संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । सचेत बनौं, स्वास्थ जटिलता हुनबाट बचौं । स्वास्थ्यमा कुनै खराबी देखिएमा स्वास्थ्य जाँच गराऔं ।