मकवानपुर/भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले पीपीआर खोप सन्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अभिमुखिकरण गरेको हो ।
आगामी २५ माघबाट सञ्चालन हुने सप्ताह व्यापि पीपीआर खोप अभियानलाई लक्ष्यित गरी जिल्लाको १० वटै स्थानीय तहका भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले आइतबार र सोमबार गरी सबै स्थानीय तहका भ्याक्सिनेटरहरुलाई पीपीआर खोपमा हुनुपर्ने आदर्श गुणहरु, खोप लगाउनु पूर्व सचेत हुनु पर्ने र खोप लगाए पश्चात आइपर्न सक्ने खतराजन्य अवस्था र त्यसको पूर्वतयारी बारे अभिमुखिकरण गरेको हो । कार्यालयले आगामी २५ माघ देखि २ फागुनसम्म भेडा बाख्रामा लाग्ने पीपीआर रोग विरुद्ध सप्ताह व्यापि खोप अभियान सञ्चालन गर्न लागेको छ ।

खोप लगाउने तरिका नमिल्दा पशुलाई एण्टिबडी निर्माणका लागि काम नगर्ने भएकोले अभियानको प्रभावकारीता बढाउन यस्तो अभिमुखिकरण गरिएको केन्द्र प्रमुख सुशिल केसीले बताए ।
कार्यक्रममा स्रोत व्यक्ति डाक्टर ब्रजकिशोर ठाकुरले सहजिकरण गरेका थिए । सहभागी भ्याक्सिनेटरहरुलाई खोपको प्रभावकारीता बढाउनको लागि निर्देशनको पालना गर्न उनले आग्रह गरे । पीपीआर खोपले भेडा बाख्राहरुमा रोगसँग लड्ने क्षमता वृद्धि गर्ने भएकोले आदर्श तरिका अपनाउन ठाकुरले आग्रह गरे । प्रयोग अगाडि भ्याक्सिन जांच गर्ने, चराएर ल्याएका भेडा बाख्रामा भ्याक्सिन लगाउन पुर्व केही बेर आराम गर्न दिने, खोप दिन साथै देखापर्न सक्ने नकारात्मक वा अन्य लक्ष्यणबाट पशु धनीलाई खोप लगाउनुभन्दा पहिले नै जानकारी दिनुपर्ने, खोपलाई मापदण्ड अनुसारको तापक्रममा राख्नुपर्ने ठाकुरले बताए ।

तरल खोपहरू घाममा नराख्न, एउटै खोप एकभन्दा बढी पशुमा प्रयोग नगर्न वा गर्नै परेमा उमालेर निर्मुलिकरण गरेर मात्रै प्रयोग गर्न, खोपको प्रयोग गर्नु पुर्व निर्देशनको अध्ययन र पालना गर्न निर्देशन ।
यस्तै खोप स्थानान्तरण गर्दा ध्यान दिनुपर्ने कुराहरूमा चनाखो बन्न, तरल खोपहरू घाममा नराख्न, एउटै खोप एकभन्दा बढी पशुमा प्रयोग नगर्न वा गर्नै परेमा उमालेर निर्मुलिकरण गरेर मात्रै प्रयोग गर्न, खोपको प्रयोग गर्नु पुर्व निर्देशनको अध्ययन र पालना गर्नुपर्न उनले भ्याक्सिनेटरहरुलाई आग्रह गरे ।
खोप लगाएपछि एलर्जी, खोपको कारण मस्तिष्क सुन्निने जस्ता खराबी हुन सक्ने भएकोले यसको निवारणको लागि पनि सचेत बन्न ठाकुरले आग्रह गरे ।
कार्यक्रममा केन्द्रका पशु विकास अधिकृत डाक्टर ध्रब डिसी, लेखा शाखा प्रमुख बिनिता सिंह, सहायत स्तर पाँचौ प्रदीप सापकोटालगायतको पनि उपस्थिती रहेको थियो ।
मकवानपुर / बागमती प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिब त्रीपुरारी बख्रेलले बिपत्तिमा परेका नागरिकको पीडालाई सम्बोधन गर्न सरकारले आवश्यक तयारी गरेको बताएका छन् ।
बिपद भएपछि मात्रै उद्वारमा लाग्ने परिपाटी राम्रो नभएको स्वीकार गर्दै प्रदेश सरकारले गत असारमा विपद पूर्वतयारीको लागि ४ वटा समिति बनाएको बताए । प्रकोप पुर्व तयारी बारे बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उक्त समितिले उप समिति मार्फत विपतपूर्व नै गर्नुपर्ने तयारी बारे मस्यौदा बनाई समितिमा बुझाइसकेको बख्रेलले बताए । “अब उक्त मस्यौदा समितिले सरकारलाई हस्तान्तरण गर्ने चरणमा छ” सचिब बख्रेलले भने । विपत पूर्व तयारीमा बागमती प्रदेशको प्रदेश सभा सांसदहरूको भूमिका बढाउन पहल गरिएको तर, काम प्रक्रियामा सुरू हुन बाँकी रहेको उनले बताए ।
विपदको पूर्वतयारी गर्न नीति निर्माण तहमा कागजि रूपमा धेरै राम्रो काम भएको भए पनि ती कामहरू व्यवहारमा नभएको सहभागीले बताएका छन् । युएसएआडीको आर्थिक सहयोगमा प्रकोप पुर्व तयारी सन्जालले आयोजना गरेको कार्यशालामा सहभागीले प्रकोपको बारेमा सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका थिए ।
हाल जिल्ला स्तरमा बिषगत समूहसँग सम्बन्धित कार्यालयले सम्बन्धित क्षेत्रमा काम गर्ने भनिएको भएपनि कार्यान्वयनमा छैन । विपत्ति आईपरेपछी मात्रै उद्वार तथा राहतमा लागिपर्दा क्षती बढी हुने, उचित सम्बोधन नहुने जस्ता समस्या हुने गरेको सहभागीले बताए ।
कार्यक्रममा प्रकोप पुर्व तयारी सन्जालका अध्यक्ष सुर्यबहादुर थापाले जोखिम न्यूनीकरण ऐन २०७४ कार्यान्वयन नभएको कारण पीडितलाई सही समयमा सही रुपमा सम्बोधन गर्न नसकिएको बताए । लामो संघर्षपछि ऐन बनेको भएपनि त्यो ऐन कार्यान्वयनमा ल्याउने पहल नै नभएको अध्यक्ष थापाले बताए । बनेको ऐन कार्यान्वयनमा ल्याउन स्थानीय स्तरको संघ संस्था, सरोकारवाला निकायहरूको खबरदारी आवश्यक भएको अध्यक्ष थापाले बताए । स्थानीय तहको सरकारले प्रकोप पूर्वतयारीको लागि स्रोत व्यक्ति तोकेको भए पनि चासो कम दिने गरेको उनले बताए ।
प्रकोप तथा विपत्ति कुनैपनि बेला कुनै पनि स्थान हुनसक्ने भएपनि यो बिषयलाई कम चासोमा राख्ने गरेको सहभागीले बताएका थिए ।
कार्यक्रममा स्रोत व्यक्ति राम गुरुङले सहजिकरण गरेका थिए । प्रदेश, जिल्ला र स्थानीय तहमा विपद व्यवस्थापन समिति बनेको भए पनि दीगो र सही समाधान नभएको गुरूङले बताए । विपदसंग लड्ने क्षेमता बढाउने, जोखिम बिरुद्ध पुर्वतयारी सधै हुनुपर्ने गुरुङले बताए । संघ, प्रदेश, जिल्ला, स्थानीय स्तरमा हुने समितिको संरचनागत व्यवस्था बारे उनले जानकारी गराएका थिए । तथ्यांक व्यवस्थापन नहुनाले विपद व्यवस्थापनको क्रममा अफ्ठ्याराहरू भोग्न परेको उनले बताए ।
कार्यक्रममा मकवानपुर, चितवन जिल्लाका गैरसरकारी संस्थाका प्रतिनिधिहरू सन्चारकर्मीहरू, उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधिहरूलगायत सरोकारवालाहरूको सहभागीता रहेको सन्जालको कार्यक्रम संयोजक सन्वना देवकोटा केसीले बताइन् ।
मकवानपुर / संघीय सरकारले खरकाे छाना मुक्त अभियान थाले पनि याे अभियानले नछाेएकाे मकवानपुर जिल्ला हेटाैंडा उपमहानगरपालिका – १५ बंगेरीका विपन्न नागरिकलकाे समस्या सम्बाेधन गर्न नगर प्रमुख नै गाउँमा पुगेपछी स्थानीय खुसी भएका छन् ।
कुहिएकाे खरले छाएकाे घरमा समस्या झेल्दै आएकाहरुलाई उपमहानगरपालिकाले जस्तापाता वितरण गरेपछी उनीहरु खुसी भएका हुन् । यस अघि खानेपानीकाे व्यवस्थापन, विद्यालय निर्माणमा सहयाेग गरेकाे स्थानीय सरकारले घरकाे छाना छाउन सहयाेग गरेकाे हाे ।
उपमहानगरपालिले बंगेरीका ११ परिवार चेपाङ र तामाङलाई घर छाउनका लागि जस्तापाता वितरण गरेको हाे । उपमहानगरपालिकाकाे विकट स्थानमा बसाेबास गर्दै आएका उनीहरुलाई जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणमा सहयाेग प्रप्त भएकाे थियाे । तर छाना छाउने जस्ता अपुग भएपछी उपमहानगरपालिका नगर प्रमुख हरिबहादुर महतले बुधबार जस्तापाता वितरण गरेका हुन् ।

‘कुहीएकाे खरको छाना पानी परेपछी सबै घरभित्र पस्थ्याे, अब घर पनि पक्कि छाना पनि जस्ताकाे भयाे’ विष्णु प्रजाले भने । बंगेरीका पन्च भोम्जन, कुमार बल, सृजना प्रजा, राजकुमार थिङ, प्रितिमान प्रजा, बसन्ती पाख्रिन, सूर्यबहादुर प्रजा, निर्मल प्रजा, तिर्थराज प्रजा, विष्णु प्रजा र दोर्जे बललाई घरको छाना छाउनका लागि जस्तापाता सहयोग गरिएको हो ।
नगरपालिकाले यहाँ यस अघि खानेपानी, बालबालिका पढ्नका लागि बिद्यालय खोल्नमा सहयाेग गरिसकेकाे थियाे । पानी स्कुल र घरकाे छाना समेत भएपछी स्थानीय सरकारले आफूहरुलाई माया गरेकाे आभाष भएकाे निर्मल प्रजाले बताए । सबै क्षेत्र सुविधाले पछाडी परेकाे याे बस्तिमा स्वास्थ्य जानकारीहरु सचेतनाका सवालहरु ध्यान पुर्याउनु पर्ने महतले बताए ।

यस क्षेत्रमा पहिलो प्राथमकितामा पर्ने खानेपानी, सडक, बिद्यालयसंगै अहिले भने जस्तापाता सहयोग गरिएको उनले बताए । सामान्य पूर्वाधारका समस्या देखिबाट खहरे खोलाको पानी पिउनुपर्ने बषौ देखिको बाध्यता यस क्षेत्रका नागरिकले वषौदेखि भोग्दै आएका थिए ।

याे बस्तिमा रहेका ४० जना बालबालिकाहरु पढ्नका लागि बिद्यालय खेलीएपछी अहिले बिद्यालय जान थालेको विष्णु प्रजाले बताए ।
अब यस क्षेत्रमा स्वास्थ्याेपचारकाे समस्या भएकाेले शिविर राखेर स्वास्थ्य जाँचकाे प्रवन्ध मिलाउने नगरप्रमुख महतले बताए । जस्ता वितरण कार्यक्रममा उपमहानगरपालिका स्टाेर शाखा प्रमुख बसन्त सिटाैला, सञ्चारकर्मीहरुलगायतकाे समेत उपस्थिति थियाे ।
मकवानपुर /भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले मकवानपुरका ३ जना कृषकलाई जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको छ ।
केन्द्रले कृषि क्षेत्रमा अनरवत योगदान गरेकोमा जिल्लाको थाहा नगरपालिका –४ थाहा पाैरखी कृषी प्रालीकी बरी बल, मनहरी गाउँपालिका–४ खड्का बहुउद्देशीय कृषी फार्म कम्पनी प्रालीका पवन खड्का र हेटौंडा उपमहानरपालिका–३ का सिमलथली उन्नत बाख्रा उत्पादन फार्मका गोबिन्द प्रसाद सुवेदीलाई नगद सहित सम्मान गरेको हो ।

केन्द्रले सोमबार आयोजना गरेको स्थानीय तहमा पशु सेवा शाखा प्रमुख एवम् प्रतिनिधिहरूसँग चौमासिक प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । सुवेदी बाख्रा पालक किसान हुन् भने खड्का माछा पालक किसान हुन् । यसैगरी बल किबी खेती गर्दै आएकी छन् ।
किबि खेती गर्दै आएकी थाहा नगरपालिका – ४ कि बलले ६ प्रजातीका ४ हजार बोट किबि लगाउंदै आएको र पर्याप्त बजारीकरणको अभावमा थप परिकार बनाउने तयारीमा लागेको बलले बताइन् । असिनाको कारण किबिमा क्षति बढी भएको र बाली बीमा गर्न नसकेको कारण समस्या भएको उनले बताइन् । यसैगरी माछा पालक किसानले आफ्नो व्यवसायलाई पर्यटनसँग जोडेर अगाडी बढाउने गरी लगानी बढाउँदै लागेको बताए ।

यसैगरी बाख्रा पालक किसान सुवेदीले आफूहरुले बाख्रा पालन थालेपछि आफ्नो वरपर समुदायमा रहेका निम्न आयस्तरको किसानहरुलाई समेत व्यवसायिक बन्नको लागि सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख सुशिल केसीले केन्द्रको चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए । गाेष्ठीका केन्द्रका पशु विकास अधिकृत ध्रब डिसी, लेखा शाखा प्रमुख बिनिता सिंह, सहायत स्तर पाँचाै प्रदीप सापकाेटा, विभिन्न स्थानीय तहहरुकाे पशु शाखा प्रमुखहरुकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी सोही कार्यक्रममा जिल्लाको विभिन्न स्थानीयमा पशु सेवा शाखाको जिम्मेवारीमा रहेका प्रमुखहरुलाई पशुसेवा बारे समसामयिक जानकारी प्रदान गरिएको थियो । पशुलाई लगाइने आदर्श खोपमा हुनुपर्ने गुणलगायतको बारेमा केन्द्रका पशु डाक्टर ब्रज किशोर ठाकुरले जानकारी गराएका थिए ।

छोटो समयमै प्रतिरोध गर्ने शक्ति उत्पन्न गर्ने गुण हुनुपर्ने, उचित तापक्रम व्यवस्थापन गर्ने, तरल खोप लगाउने तरिका, खोप स्थानान्तरण गर्दा वातावरण सन्तुलन गर्ने बारे पशु चिकित्सक डा ठाकुरले जानकारी गराएका थिए ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका आमभञ्याङमा भएको पहिलो जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उपाधि सहिद सुनिता स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले जितेको छ ।
शनिबार भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधि विजेता प्रतिष्ठानले नगद ६६ हजार ६ सय ६६ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ ।
यसैगरी उपविजेता आमभञ्याङले ३३ हजार ३ सय ३३ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ । तेश्रो स्थान प्राप्त गर्न सफल आग्रा खेलकुद विकास समितिले नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको छाहारी क्लबले ५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा आग्राका सविन कार्की वेष्ट ब्लकर हुँदा प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर तथा प्रतिष्ठानकै राजाराम घलान वेष्ट प्लेयर भए । उनिहरुले नगद पाँच हजार सहित ट्रफी हाल पारेका छन् । प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाई सहितको अतिथिहरुको टोलीले पुरस्कृत गरेको थियो ।
कार्यक्रममा प्रतियोगिताका संयोजक इन्द्र प्रसाद सञ्जेललाई आयोजक क्लबले विषेश सम्मान गरेको थियो । समापन कार्यक्रममा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख खुसराज दाहाल लगायतको उपस्थिती रहेको थियो ।