मकवानपुर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले फेरी पनि चुनाव भाँड्ने षड्यन्त्रण गरिसकेको बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनको लागि पार्टीले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“गठबन्धनले चुनाव हुन नदिएर २ महिना पछाडी धकेलिएको हो, फागुनमा सकिन्थ्यो चुनाव, अब फेरी हार्ने डरले षड्यन्त्र सुरु भएको छ” उनले भने ।
गठबन्धनको सरकारले भोटको लागि चुनावि आचारसंहिता लागेपछि अरबौको स्वास्थ्य सामग्री किनेको उनको आरोप छ । उनले व्यङ्ग्य गर्दै भने “गठबन्धनको सरकारले पनि काम गरेको छ नि जता हेरेनी मन्त्री, झण्डा, र मन्त्रालय छन् कत्ति विकासै विकास छ” हेर्नुस् त । हेटौंडाको आमसभामा पार्टी प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै उनले भने “मन्त्रीको सिक्रीले बाँधेकोले धेरै कार्यकर्ताहरु अहिले एमालेमा आउन चाहेर पनि बाँधिएका छन्, ति केही दिनमा आउने छन्, हामी स्वागत गर्नेछौ । ”
काँग्रेसले आफ्नो घोषणा पत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम ८ ठाँउमा प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको छ भन्दै उनले भन “काँग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ ।” उनले नेपाली काँग्रेसको देश बनाउने नीति नै नभएको बताउँदै भने “एमालेलाई गालि गर्ने र धारेहात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गालि गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौं ।”
उनले आसन्न स्थानीय तहको चुनाव सामान्य नभएको उद्घोष गर्दै भने “यो चुनाव भनेको नेपाल जोगिने र नजोगिने भन्ने लडांइ हो, सामान्य चुनाव हैन, अहिले नेपालमा २ मात्रै पार्टी भएको त्यो एमाले र गठबन्धनमात्रै हो, देश जोगाउन एमालेभन्दा बाहेक अर्को पार्टी छैन ।”
नेकपा एमालेको शक्ति देखेर सात्तो गएपछि ५ दलले स्थानीय तहको चुनावमा समेत गठबन्धन गरेको उनले बताए । “एमालेसँग लड्नको लागि अरु पार्टी पनि भए गठबन्धनमा जान मैले गृह जिल्लामै भन्दिएको छु” उनले भने “हामी जनताको विश्वासमा बोकेर हिडेका छौ, दलीय गठबन्धन बाँधेर हैन ।”
“आज हु इज केपी ओली भन्नेहरुलाई बैशाख ३० पछिको जनमतले भन्ने छ, हु इज केपी ओली ?” उनले भने “हामी माथिको प्रश्नको उत्तर जनताले दिने विश्वास हामीले गरेका छौ, हामी पार्टी र नेतालाई प्रश्न गर्दै हिड्दैनौ ।”
उनले मेडीकल क्षेत्रमा धेरै काम गर्ने बाँकी रहेको र एमालेले योजना बनाएको समेत बताए । आमसभामा उनले हेटौंडाको राजमार्ग विस्तारको सवालमा पनि प्रसङ्ग उठाउन भ्याए । हेटौंडामा ४ दशक देखि विवादमा रहेको राजमार्ग विस्तारको बारेमा एमालेसँग स्पष्ट धारण भएको र हेटौंडाबासीलाई एमालेले न्याय गर्ने उनले बताए । विकास र सुशासनको लागि एमाले सँधै जनताको पक्षमा रहेको उनको दाबि थियो ।
हेटौंडाको समुचित विकासमा आफू सचेत रहेको उनले बताए । हेटौंडाको सुकुम्बासीको लागि गठबन्धनको सरकारले घात गरेको उनले बताए । “एमाले सरकारले घरबासको व्यवस्था गर्न ठिक्क परेको बेला जनताको बलमा हैन, अदालतको बलमा स्थापित भएको परमादेशको सरकारले जनतालाई धात गरेको हो” उनले भने । “अब परमादेशको जवाफ जनादेशले दिनेछ” उनले भने ।
मकवानपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको स्थापना र व्यवस्थापन गर्दै आर्थिक समृद्धिको पहल गर्ने बताएका छन् ।
औद्योगिक क्षेत्रको विकास र विस्तार कसरी गर्ने, कहाँ कहाँ संभावना छ एमालेले खोजी रहेको उनले बताएका हुन् । एमालेमकवानपुरले हेटौंडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले सरकार देशको आर्थिक समृद्धिको खोजीमा रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

गठबन्धनको सरकारले आर्थिक अवस्था नाजुक भएको भन्दै सातामा २ दिने बिदा दिन सुरु गरेको सन्दर्भमा ओलीले एमाले सरकार नेतृत्वमा आएपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनपछि एमाले सरकार नेतृत्वमा आउँदा गठबन्धनको सरकार हुँदा जस्तो आर्थिक समस्या नहुने उनले बताए । हेटौंडामा एमालेले आयोजना गरेको चुनावी सभामा ओलीले अहिले सम्बोधन गर्ने क्रम जारी छ ।
मकवानपुर । बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान निर्वाचन आचारसंहिता विरुद्ध चुनावी प्रचारप्रसारमा सहभागी हुदै आएकी छन् ।
निर्वाचन आचारसंहिता विपरीत सांसद मोक्तान स्थानीय तहको गठबन्धनमा चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेकी छन् ।
निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी हुन् ।
निर्वाचन आचारसंहिता अनुसार सांसदले कुनै पनि उम्मेदवारको चुनावी प्रचार गर्न, प्रचारप्रसार कार्यालयको उद्घाटन गर्न मिल्दैन, तर मोक्तान भने आचारसंहिताको वेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरीका विभिन्न वडामा उम्मेदवारहरुसँगै प्रचारमा हिँडेकी हुन् ।
मनहरी गाउँपालिका वडा नं ३ मा पुगी उम्मेदवारहरुको प्रचार कार्यक्रममा सहभागी मात्र भइनन् । खुलेआम त्यहाँका जनता सामु उम्मेदवारलाई मत माग्न थालिन् ।
मोक्तान माओवादी केन्द्र र गठबन्धन निकट उम्मेदवारहरुको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटनमा व्यस्त छिन् । मोक्तानले खुलेआम आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोग, निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छैन ।
हेटौंडा/ आसन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ ।
पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएरका पार्टीकाे सुझाव अनुसार उम्मेदवारी फिर्ता पनि नलिएकाहरुलाई कारवाही गरिएको हो । पार्टी निर्णय उलङ्घन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज महत, वडा नं. ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा १९ का रत्नबहादुर व्लोन र रमेश पौडेललाई पार्टीले कारवाही गरेकाे हाे ।
उनीहरुसँगै उनीहरुकाे उम्मेदवारीमा प्रस्तावक तथा समर्थकबन्नेलाई समेत पार्टीको विधानको धारा ८० (६) अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको आधिकारीक उम्मेदवार खडा गरेको अवस्थामा पार्टीको निर्णय नमान्दै बागी उम्मेदवारी दिएको र आवश्यक समन्वय गर्दासमेत उम्मेदवारी फिर्ता नलिएकाले कारवाही गर्नुपरेको श्रेष्ठले बताए ।
नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एकठाउँमा उभिएको सन्दर्भमा बताउँदै श्रेष्ठले भने ‘नेकपा एमालेको संस्थागत निर्णय अनुसार नै पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ एमालेलाई विजयी गराउनका निम्ती सिङ्गाे पार्टी चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको छ ।’ अध्यक्ष श्रेष्ठले पार्टी निर्णयलाई उलङघन गर्दै केही पदमा पार्टी सदस्यहरुले उमेदवारी दिएको जानकारी प्राप्त भए लगत्तै पार्टीको आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन पार्टीले गरेको निर्देशनलाई अवज्ञा तथा उल्लङ्घन गर्ने काम भएको अध्यक्ष श्रेठले बताए ।
मकवानपुर । वर्षौदेखि ठप्प रहेको विकास एमालेले ५ वर्षमा गरेको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
स्थानीय चुनावपछि नेतृत्वको अवसर पाएको एमालेले विगत ५ बर्ष गरेको विकास नै एमालेको सामर्थ्यको पहिचान भएको उनले बताए । “हेटौंडा विगत ५ वर्षभित्र भएको विकास हेर्नुस् अनि मनन गर्नुस् एमालेको विकल्प छ ?” उनले प्रश्न गरे ।

अबको ५ वर्षमा फेरी पनि एमालेले नेतृत्व गर्ने अवसर पाएमा बाँकी रहेका विकासले थप फड्को मार्ने उनले बताए ।आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तरगत हेटौंडा ८ मा आयोजना गरिएको घरदैलो तथा कोण सभामा उनले यस्तो बताएका हुन् ।
मुलुक निर्माण गर्ने पार्टी एमाले मात्रै भएको उनले बताए । उनले अबको निर्वाचनपछि अरू पार्टीको अस्तित्व नै नरहने उनले बताए । नेपाली जनताको खुसी र सुखीको लागि सोच्ने पार्टी एमाले मात्रै भएको उनले बताए ।

कार्यक्रमा हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार अनन्त पौडेलले नगरमा बिगतको वडाहरू र थपिएको क्षेत्रमा भएको विकास नै एमालेको पहिचान भएको बताए । “एमालेको नुन खाएर बैरीको गुन गाउँदै हिडेका उम्मेदवारहरू छन् तपाईंले चिन्नुहुनेछ” पौडेलले भने “नेकपा एमालेले प्रतिबद्धता बोकेर तपाईको सामु आएको छ ।” पौडेलले भोली हुने आमसभामा सहभागीताको लागि आग्रह समेत गरे /
कार्यक्रममा एमालेबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले सामाजिक क्षेत्रको विकासमा धेरै कामहरु गर्न बाकी रहेकोले अबको ५ वर्ष यसतर्फ ध्यान दिने बताइन् । “शिक्षा स्वास्थलगायतको भौतिक पुर्वाधारहरू जुन अधुरा छन् ति पुर्वाधार अबको ५ बर्षभित्र पुरा हुनेछ ।”

कार्यक्रममा नेता श्रीधर पोखरेलले आफूले ४१ वर्ष पासिना खर्चेको पार्टी छोडेर गलत गरेको आभाष भएपछि एमालेमै फर्केको बताउँदै भने “मैले ८ महिनाअघि बाटो विराएको थिए, अहिले सही बाटोमा आएको छु, तपाईंहरु नझुक्किनु होस् ।” मकवानपुर जिल्ला र देशको निकासको लागि एमाले मात्रै सक्षम पार्टी भएको पोखरेलले बताए ।
यसै गरी हेटौंडा ८ को वडा सदस्यमा उम्मेदवार गोपाल श्रेष्ठले वडाको विकासमा आमूल परिवर्तन भैसकेको छ,बाकी काम गर्न अबको नेतृत्व खट्ने बताए । अबको नेतृत्वको पहिलो काम सुकुम्बासीको समस्या समाधान गर्ने रहेको उनले बताए ।
यसैगरी वडा अध्यक्षका उम्मेदवार बोल बहादुर कार्कीले नेपालको सिमा रक्षा गर्ने पार्टी नेकपा एमाले भएको बताए । “शैक्षिक संस्थाको सुदृढ विकासमा हामी उत्रीएका छौ, आर्थिक विकास, पर्यटकीय विकास, टोल टोलबाट सुरु हुनुपर्छ” उनले भने । आशाका कुरा मात्रै, गरेर देखाउने पार्टी एमाले मात्रै हो, एमालेसंग प्रतिस्पर्धा गर्ने पार्टी कुनै छैन, एमालेको माहोल देखेर जमात देखेर गठबन्धन गरेकाहरूलाई जनताको मतले ध्वस्त पार्ने छ” उनले भने ।