मकवानपुर । वर्षौदेखि ठप्प रहेको विकास एमालेले ५ वर्षमा गरेको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
स्थानीय चुनावपछि नेतृत्वको अवसर पाएको एमालेले विगत ५ बर्ष गरेको विकास नै एमालेको सामर्थ्यको पहिचान भएको उनले बताए । “हेटौंडा विगत ५ वर्षभित्र भएको विकास हेर्नुस् अनि मनन गर्नुस् एमालेको विकल्प छ ?” उनले प्रश्न गरे ।

अबको ५ वर्षमा फेरी पनि एमालेले नेतृत्व गर्ने अवसर पाएमा बाँकी रहेका विकासले थप फड्को मार्ने उनले बताए ।आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तरगत हेटौंडा ८ मा आयोजना गरिएको घरदैलो तथा कोण सभामा उनले यस्तो बताएका हुन् ।
मुलुक निर्माण गर्ने पार्टी एमाले मात्रै भएको उनले बताए । उनले अबको निर्वाचनपछि अरू पार्टीको अस्तित्व नै नरहने उनले बताए । नेपाली जनताको खुसी र सुखीको लागि सोच्ने पार्टी एमाले मात्रै भएको उनले बताए ।

कार्यक्रमा हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार अनन्त पौडेलले नगरमा बिगतको वडाहरू र थपिएको क्षेत्रमा भएको विकास नै एमालेको पहिचान भएको बताए । “एमालेको नुन खाएर बैरीको गुन गाउँदै हिडेका उम्मेदवारहरू छन् तपाईंले चिन्नुहुनेछ” पौडेलले भने “नेकपा एमालेले प्रतिबद्धता बोकेर तपाईको सामु आएको छ ।” पौडेलले भोली हुने आमसभामा सहभागीताको लागि आग्रह समेत गरे /
कार्यक्रममा एमालेबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले सामाजिक क्षेत्रको विकासमा धेरै कामहरु गर्न बाकी रहेकोले अबको ५ वर्ष यसतर्फ ध्यान दिने बताइन् । “शिक्षा स्वास्थलगायतको भौतिक पुर्वाधारहरू जुन अधुरा छन् ति पुर्वाधार अबको ५ बर्षभित्र पुरा हुनेछ ।”

कार्यक्रममा नेता श्रीधर पोखरेलले आफूले ४१ वर्ष पासिना खर्चेको पार्टी छोडेर गलत गरेको आभाष भएपछि एमालेमै फर्केको बताउँदै भने “मैले ८ महिनाअघि बाटो विराएको थिए, अहिले सही बाटोमा आएको छु, तपाईंहरु नझुक्किनु होस् ।” मकवानपुर जिल्ला र देशको निकासको लागि एमाले मात्रै सक्षम पार्टी भएको पोखरेलले बताए ।
यसै गरी हेटौंडा ८ को वडा सदस्यमा उम्मेदवार गोपाल श्रेष्ठले वडाको विकासमा आमूल परिवर्तन भैसकेको छ,बाकी काम गर्न अबको नेतृत्व खट्ने बताए । अबको नेतृत्वको पहिलो काम सुकुम्बासीको समस्या समाधान गर्ने रहेको उनले बताए ।
यसैगरी वडा अध्यक्षका उम्मेदवार बोल बहादुर कार्कीले नेपालको सिमा रक्षा गर्ने पार्टी नेकपा एमाले भएको बताए । “शैक्षिक संस्थाको सुदृढ विकासमा हामी उत्रीएका छौ, आर्थिक विकास, पर्यटकीय विकास, टोल टोलबाट सुरु हुनुपर्छ” उनले भने । आशाका कुरा मात्रै, गरेर देखाउने पार्टी एमाले मात्रै हो, एमालेसंग प्रतिस्पर्धा गर्ने पार्टी कुनै छैन, एमालेको माहोल देखेर जमात देखेर गठबन्धन गरेकाहरूलाई जनताको मतले ध्वस्त पार्ने छ” उनले भने ।

